वाग्मती नदीको कटानले टौदहका बस्ती जोखिममा

वाग्मती नदीको कटानले टौदहका बस्ती जोखिममा


काठमाडौंको कीर्तिपुरस्थित टौदहपूर्वका केही घर वाग्मती नदीको कटानमा परेका छन् । कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन् ।

टौदहका स्थानीयवासी मिलन खड्काले भनेका छन्, ‘वाग्मती नदीको कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन् । अहिले नै पूर्वतर्फका कान्लाहरूबाट टौदहको पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्छ ।’

वाग्मतीको पारिपट्टि ललितपुर महानगरपालिकाले पर्खाल लगाएपछि वाग्मतीले पश्चिम किनारमा मात्र एकोहोरो कटान गरिरहेको उनले बताए । यसका साथै पश्चिमतर्फ पनि कीर्तिपुर नगरपालिका–४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले कटान गर्दै लगेको छ । खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाउने तर कीर्तिपुर नगरपालिकाका तर्फबाट त्यसको पहल नगर्ने प्रवृत्तिले गर्दा कटान रोकथामको काम नभएको अर्का स्थानीय अन्जिल खड्का बताउँछन् ।

रेखाङ्कन र सीमाङ्कनको समस्या

विभिन्न निकायहरूले वाग्मती नदीको कटानबाट टौदह र बस्तीलाई जोगाउन टतबन्ध, टेवा पर्खाल आदिका लागि बजेट छुट्याउने गरेका छन् । तर सीमा कहाँसम्म हो भन्ने एकिन नहुँदा त्यस्ता बजेट त्यसै फिर्ता जाने गरेको पनि स्थानीयवासी खड्का बताउँछन् । ‘पटकपटक वाग्मती सभ्यतासँग गएर सीमाङ्कन गरिदिन भनेका छौँ तर आजसम्म भएन ।’ सीमाङ्कन नभएका कारण निर्माण व्यवससायीले काम सुरु गर्न नमानेको उनले बताए ।