आत्महत्या नियोजित हुँदैन, तत्कालिन अवस्थाले उसको मन-मस्तिष्कलाई पारेको नकारात्मक भावको कारण लिने निर्णयले निर्धारण गर्ने गर्छ, तर पनि व्यक्ति, परिवार र समाजको अवस्था हेरेर आत्महत्यालाई न्यूनीकरण गर्न सकिन्छ ।
✍ शेखर ढुंगेल
आत्महत्यालाई विश्वका अधिकांश देशको कानुनले निषेधित गरेको छ, तर विश्वमा प्रत्येक वर्ष करिव १० लाख मानिसले आत्महत्या गर्छन् । मानव-मृत्युको पहिलो कारण हृदयघात पर्छ भने पन्ध्रौँ नम्बरमा आत्महत्या गरेर मर्नेहरूको संख्या पर्छ, अर्थात् दैनिक सरदर २८०० प्रति ४० सेकेन्डमा एक जना । विश्व स्वास्थ्य सँगठनको तथ्यांकले भन्छ- आत्महत्या गर्नेमा ज्यादा १५ देखि ४४ वर्षसम्मका पर्छन् भने पुरुषको संख्या महिलाभन्दा बढी छ, जुन संख्या बढ्दो छ ।
एउटा मानिसको जीवनमा सरदर २० पटकसम्म आत्महत्याको सोच निर्माण हुनसक्छ र एकपटक गर्छ । यो तत्कालिन विक्षिप्त अवस्थाको नतिजा हो । मनोविदहरूका अनुसार प्रत्येक २४ घन्टामा ७४ हजार सोच निर्माण हुन्छन् र त्योमध्य विकसित मुलुकका नागरिकमा बढीमा १५ प्रतिशत र अविकसित समाजमा ३ देखि ५ प्रतिशत मात्र सकारात्मक सोच निर्माण हुन्छ । व्यक्तिको जन्म, घर (आर्थिक शैक्षिक अवस्था), स्कूल-कलेज, संगति र समाजको वातावरणअनुसार सोच निर्माण भएको हुन्छ र त्यही सकारात्मक सोचले बाँकी नकारात्मक सोचलाई परास्त गर्न सकुन्जेल व्यक्ति सही बाटोमा हुन्छ, अन्यथा विवेकहीनताले पश्रय पाउँछ र जे-जस्तो पनि व्यक्तिगत वा पारिवारिक वा सामाजिक प्रभाव पार्ने हुन्छ ।
व्यक्तिमा जब एकपछि अर्को कारण नकारात्मक सोचले मस्तिष्कलाई प्रभावित पार्न थाल्छ तब उ विषयगत प्रतिकारमा लाग्छ र हत्या वा आत्महत्या जे पनि गर्न सक्छ । तत्कालिन वातावरण, लागुऔषध, मादक पदार्थ सेवन वा एक्लोपन (एकान्त)ले तत्काल नकारात्मक कर्मको नतिजा दिन प्रेरित गर्छ ।
देश र व्यक्तिको मानसिकताअनुसार नै सामाजिक प्रतिष्ठा, पारिवारिक, आर्थिक असफलता र त्यसको कारकतत्वसँग लड्न हत्या र आत्महत्या दुवै नकारात्मक भावमा प्रेरित गर्छ । तत्काल सृजित हुने नकारात्मक आवेगले दिने नतिजा हत्या वा आत्महत्या हो । हत्यापछि तत्काल आत्महत्याका घटना उग्र आवेगसँगै पश्चाताप पनि हो । धेरै घरेलु झगडामा एकले अर्कोलाई हत्या गरेपछि आत्महत्या गरेको देखिन्छ । त्यो के भने, मार्ने (हत्या गर्ने) नियत थिएन/होइन तर तत्कालको नकारात्मक भावले उत्पन्न गरेको आवेग वा विक्षिप्तताले दिएको नतिजा हो । अनि कानुनी सजाय र सामाजिक जवाफको सामना गर्नुभन्दा जीवनकै उन्मुक्तिलाई सही ठान्ने नकारात्मक आवेगको परिणाम हो ।
एक दशकअगाडि पूर्वी अमेरिकाको एउटा नेपाली परिवारमा साथी/छिमेकीहरूको भेटघाट (साँझको खाना) कार्यक्रम थियो । एउटा सामान्य कुरामा श्रीमतीले अरुको अगाडि दुर्वाच्य प्रयोग गरिन् । श्रीमान् कुनै प्रतिवाद नगरी कोठाभित्र छिरे र झुण्डिएर आत्महत्या गरे । इगो अर्थात् नकारात्मक भावले तत्काल उत्पन्न गरेको आवेग थियो त्यो । कुनै नियत वा लामो समयको मानसिक तनाव पनि थिएन तर तत्काल उत्पन भएको नकारात्मक सोचको प्रतिफलस्वरुप उक्त अप्रिय घटना निम्तियो । केही पलमात्र धैर्य धारण गरेको वा बेवास्ता गरेको भए अर्को पक्षले माफी माग्ने अवसर हुन्थ्यो र दुर्घटना हुने थिएन ।
माथि उल्लेख भए झैँ आत्महत्या नकारात्मक सोचको कारण मात्र भने होइन । उच्च विवेक र आर्थिक रुपमा सम्पन्न जापानमा प्रतिदिन सरदर १०३ जना, दक्षिण कोरियामा १४३ जना र अमेरिकामा १३५ जनाले आत्महत्या गर्छन् । नेपालमा पछिल्लो तथ्यांकअनुसार प्रतिदिन २० जनाले आत्महत्या गर्छन् । लालचरुपी अवगुण या स्वभाव विश्वका सबै प्राणीमा हुन्छ । पद, प्रतिष्ठा, सम्पति, विलासिताको चाहना सबैमा हुन्छ । तर, जापान कोरिया जस्ता देशमा भने निजी स्वार्थ सपना पारिवारिक सामाजिक कारण भन्दा बढी लामो समय विविध रसायनयुक्त प्रकृतिको (कार, स्टिल, प्लास्टिक, पेन्ट आदि) काममा लाग्दा, लामो समयसम्म एक्लो जीवन बिताउने कारण विक्षिप्त हुने, कमजोर हुने कारणले अन्य देशमा भन्दा बढी आत्महत्या हुने वैज्ञानिकहरूको अध्ययनले देखाएको छ । तर हाम्रो नेपाली समाजमा भने धेरैजसो आर्थिक बेरोजगारी, सामाजिक प्रतिष्ठामा धक्का, वियोग, असफलता, पारिवारिक समस्यालाई समाजले के भन्छ भन्ने कारणबाट उत्पन्न नकारात्मक मानसिकताले गर्दा दैनिक हत्या र आत्महत्या वृद्धि भैराखेको छ ।
अभावजन्य निरासाले पनि नकारात्मक भाव उत्पन्न भइ आत्महत्यालाई प्रेरित गरेको देखिन्छ । त्यसका बाबजुद हाम्रो समाजको BULLYING (धम्की, अचाक्ली गाली, डर देखाउने, हप्काउने, बैंकको धम्की, प्रहरीको डर), ABUSE (दुरुपयोग, बच्चा, महिला, पुरुष, घरेलु कामदारमाथि दमन, मानसिक तथा शारीरिक यातना आदि), DEPRESSION (अति मानसिक चिन्ता) लगायत एक्लोपन वा समाजले एक्ल्याउने प्रवृत्तिले पनि आत्महत्यालाई दुरुत्साहित गरेको छ । हाम्रो समाजको BULLYING प्रवृत्ति ज्यादै गैरजिम्मेवार रहेको छ जसको कारण अति चिन्ता र डरको कारण मानिसलाई चितामा पुऱ्याउने गरेको छ । भनिन्छ नि ‘चिन्ताले चित्तामा पुऱ्याउँछ’, त्यसैगरी BULLYING ALSO DRIVE PEOPLE TO SUICIDE भनिन्छ, समाज सचेत हुनुपर्छ ।
कतिपय आत्महत्या खासगरी हाम्रोजस्तो ‘ऋण काढेर घिउ खाने’ मानसिकता अर्थात् अर्कोले घर बनायो, गाडी किन्यो, आर्थिक प्रगति गऱ्यो, चर्चा कमायो – त्यो देखेर उसलाई पछ्याउँदै उसँग दाँजिएर नकारात्मक कर्म वा सम्झौता गरी अर्थात् आफ्नो हैसियत नभएपनि प्रतिष्पर्धा गर्न समाजमा झुठ, आडम्बर, धुर्त्याइँपूर्वक आफूलाई प्रस्तुत गर्ने मानसिकता छ, जब कुनैदिन झुठ र आडम्बरको पर्दा खस्छ तब समाजलाई जवाद दिनुपर्ने त्रासले, आफ्नो बदनाम/अपमान हुने डरले आत्महत्या गर्नेहरूको कमी छैन ।
आत्महत्याको पछाडि सामाजिक परिवेशको ठुलो भूमिका देख्न सकिन्छ । हाम्रो जस्तो नकारात्मक र परपीडक मानसिकताले ग्रस्त समाजमा कसले के भन्ला ? के जवाफ दिने ? भन्ने मनोविज्ञानले आत्महत्यालाई हौस्याएको देखिन्छ । अति महत्वाकांक्षा, आशक्ति, आडम्बरलाई पश्रय दिइरहँदा अचानक आइपर्ने असफलताको पीडालाई तमासा बनाइदिने अविवेकी सामाजिक प्रवृत्ति आत्महत्या दुरुत्साहनको मूल कारक बनेको हुन्छ ।
हाम्रो समाज अरुको ब्यक्तिगत मामलालाई सार्वजनिक तमासा बनाइदिने असहिष्णु, गैरजिम्मेवार र आवेगी (विषयको धरातलमा पुग्ने कोशिस नै नगरी तत्काल देखिएको कुनै कुराको वा एक पक्षलाई मात्र हेरेर आफ्नो धारणा बनाइहाल्छ र प्रतिक्रियामा उत्रिन्छ । यो एउटा खतरनाक सामाजिक प्रवृत्ति (ATTITUDE) हो जसले व्यक्तिलाई आत्महत्या गर्न दुरुत्साहित गर्छ र पीडक अनि पीडित दुवैप्रति असहिष्णु बन्छ । व्यक्तिगत वा घरायसी (श्रीमान/श्रीमतीको) विवाद चुल्हो र बिस्ताराबाट सुरु भएको हुन्छ जहाँ तेस्रो पक्षको पहुँच हुँदैन भने त्यहाँ हस्तक्षेप गर्ने वा अनुमानको भरमा धारणा बनाउने अनुसन्धानकर्तादेखि मठाधीश बन्ने सोच कति मुर्खतापूर्ण होला !
हाम्रो समाजले अझै आफ्नो चेतनाको स्तरमा वृद्धि गर्न सकेको छैन । आपद-विपत आइपर्छन् – आत्तिनु हुन्न, बरु भित्तोमा टाउको ठोक, कमण्डलु बोक्न मन्जुर होउ, नाङ्गो खुट्टा हिँड्न तत्पर होउ, बुझ- जिन्दगी आखिर के पो छ र ? खोजी खाने र रोजी खाने वर्गबीचको सङ्घर्ष नै त हो ! दुई किनारमध्ये एक किनार रोज, गौतम बुद्धको देशका नागरिक पो हौ तिमी, घर छोड, परिवार छोड, सत्कर्म रोज, वनवास जाउ तर हत्या र आत्महत्या नगर – विकल्प अनेक छन् ।
चिकित्सकहरूले आत्महत्यालाई मानसिक स्वास्थ्य समस्याकै रूपमा लिन्छन् । कानुनन त दण्डनीय छ प्रयास गर्दागर्दै बच्यो भने तापनि आत्महत्या गर्छ । हुन त आत्महत्या नियोजित हुँदैन, तत्कालिन अवस्थाले उसको मन-मस्तिष्कलाई पारेको नकारात्मक भावको कारण लिने निर्णयले निर्धारण गर्ने गर्छ, तर पनि व्यक्ति, परिवार र समाजको अवस्था हेरेर आत्महत्यालाई न्यूनीकरण गर्न सकिन्छ । सर्वप्रथम त सामाजिक वातावरण अर्को सदस्यको लागि हमेसा सकारात्मक र प्रेरणादायी हुनु अनिवार्य हुन्छ । अर्कोको व्यक्तिगत विषयमा चासो राख्नु र धारणा राख्नु मुर्खता हो भन्ने विश्वास बोकेको समाज निर्माण हुनुपर्छ । कानुनी भन्दापनि सामाजिक सन्त्रासका कारण धेरैले आत्महत्या गरेका छन् । अर्कोको निजी मामलामा कानुनसम्मत अनुरोधबाहेक हस्तक्षेप गर्ने, साक्षी बन्ने, वकालत गर्ने हाम्रो सामाजिक प्रवृत्ति घातक छ – परिवर्तित हुनुपर्छ ।
पुरुषमा मानसिक तनाव वा यातनाको समस्या धेरै हुने कारणले नै आत्महत्या गर्नेको संख्यामा पुरुष बढी भएको तथ्यांक छ । प्राकृतिक वा विश्वकै समाजको मानसिकताले आजसम्म पुरुषलाई महिलामा आश्रित हुने छुट वा सहजता दिएको छैन, त्यसैले पनि विविध बोझ झेल्न पुरुष बाध्य छ ।
कुनै कालखण्ड थियो – जहाँ चौतारीमा मुखिया/चौतारिया बस्थे र जता ठुलो आवाज र धेरै संख्या हुन्थ्यो त्यसकै पक्षमा निर्णय गर्थे । जसलाई एक प्रकारको अविवेकी जंगली कानुन भनिन थालियो र अनुसन्धान अधिकारी, कानुन, प्रहरी, अदालत, न्यायाधीश, जेलको विकास भयो ताकि निष्पक्षरूपमा न्याय सम्पादन होस् । तर, हाम्रो समाजको मानसिकता अझै उस्तै छ । सुनेको या आफ्नो अनुमानको भरमा धारणा बनाउँछ र त्यसैलाई सही हो भन्दै कुतर्क गरेर समाजलाई प्रदुषित गरिरहेछ । कहिले हट्ने होला हाम्रो नकारात्मक र परपीडक सोच ?
अर्कोको पीडालाई गैरजिम्मेवारीपूर्वक तमासा बनाउने असहिष्णु मानसिकता हाम्रो समाजले त्यागेको दिन हत्या÷आत्महत्यालाई रोक्न वा न्यूनीकरण गर्न सकिन्छ । आफ्नो योग्यता दक्षता क्षमताअनुसारको आर्थिक सामाजिक पारिवारिक वा व्यक्तिगत ब्यवहारमा प्रस्तुत हुनुपर्छ भन्ने मान्यताको सामाजिक वातावरण बन्नुपर्छ । झुठो आडम्बरी र धुर्त्याइँपूर्ण हाम्रो सामाजिक प्रवृत्तिलाई त्याग्नुपर्छ । पङ्क्तिकार आफ्नै सामाजिक परिवेश लक्षित गरेर यस्तो धारणा प्रकट गरिरहेछ, किनभने समाजअनुसार आत्महत्याको कारणहरू फरक देखिन्छन् । माथि भनेजस्तै जापान, अमेरिका, कोरियाका मानिसले आत्महत्या गर्ने कारण हाम्रोभन्दा फरक छन् ।
हाम्रो समाजको आत्महत्याका घटनाहरू प्रायः भिडले धकेलेर (BULLYING) हुने गरेको देखिन्छ । आफूलाई भन्दा सामाजिक प्रवृत्तिलाई हेरेर आफैलाई दण्डित गरेको स्पष्ट देख्न सकिन्छ । समाजमा उपस्थित हुनुभन्दा पहिले आफ्नो वास्तविक धरातल के हो ? म आफ्नै क्षमताले यो बाटोमा कहाँसम्म पुग्न सक्छु ? म को हुँ र यो किन गरिरहेको छु ? भन्नेजस्ता प्रश्नमा आधारित आत्ममूल्यांकन गर्ने/गराउने अवस्था समाजमा हुनुपर्छ । स्वदेश या विदेश – हामी जहाँ छौँ प्रत्येकले विवेकपूर्ण र जिम्मेवार भएर सामाजिक दायित्व निर्वाह गर्ने/गराउने हो भने हत्या-आत्महत्या जस्ता क्रुर मानसिकतालाई न्यूनीकरण गर्न सकिन्छ ।
गहन कुरो के भने प्रत्येक समस्या समाधानको विकल्प हुन्छ, आत्महत्या समस्याको समाधान होइन । लामो समयसम्मको शारीरिक अस्वस्थता एकै विषयको अति आशक्तिको कारण तनाव, सहयोगको अपेक्षा र निराशा आदिले मानिसलाई कमजोर बनाएको हुन्छ । कसैमा लामो समयसम्म पारिवारिक बिछोड वा वियोग, नोक्सानी, एकपछि अर्को बिरामी, पीडा, असफलता आइलाग्ने हुन्छ । यो सबै र केही विषय र सबैलाई केही न केही कारणमा जीवनको परीक्षामा अल्झाइराखेको हुन्छ, यस्तो अवस्थामा धैर्य, साहस वा उच्च आत्मबल राखेमात्र सफल हुन सकिन्छ । आज दिन खराब थियो, तपाईं खराब देखिनु थियो, भोलि राम्रो समय आउने छ, हिजोलाई सबैले भुल्नेछन्, टाढिएकाहरू पनि नजिक हुन्छन्, हिजो खराब भन्नेहरू माफ माग्ने हुन्छन् । हमेसा मनमनै सोचिराख्नुस् कि यो दुनियाँमा दुःख, पीडा, धोखा, अपमान, नोक्सान, वियोग, अभाव भोग्ने/ब्यहोर्ने तपाईं एक्लो र पहिलो ब्यक्ति होइन – लाखौँ करोडौँ छन् । हिजो थिए, भोलि पनि हुनेछन् । यो सबै जीवनको एउटा अर्को पाटो हो र यो क्षणिक हुन्छ । हज्जारौँ लाखौँ कैदी बिसौँ-तिसौँ वर्षपछि निर्दोष सावित भएका छन् । डाक्टरले माया मारेको रोग निको भएको छ । महलबाट सडक र सडकबाट महल हुने कथा दैनिक करोडौँले भोगिरहेका छन् । कोही जेल बसेर महान् साहित्यकार, दार्शनिक, गीतकार, साहित्यकार, लेखक बनेका छन्, कोही नेता बनेका छन् ।
तसर्थ, हरेस खानु हुँदैन । सृष्टिकर्ताले कुनै एकलाई पनि पूर्णता दिएर पठाएका छैनन्, कमी-कमजोरी या पीडा नभोग्ने कोही हुँदैन । सबैसँग विश्वास उठ्यो ? यो जिन्दगी कसैको अधीनको कुरा होइन, तपाईंको आफ्नो हो, एक्लै जन्मनुभयो र मर्नु एक्लै छ, कुनै मोडमा कतै सहयात्री साथी सम्बन्ध सम्झौता भयो तर प्रतिकुल भयो त के भयो ? एक्लो हिँड्नुस्, रमाउनुस् ।
दोष/आरोप लगाउने, सल्लाह-सुझाव दिने अनेकौँ हुन्छन् तर आफ्नो अन्तरात्मालाई साक्षी राख्नुस्, मनलाई सुन्नुस् । आफ्नो लागि आफै चिकित्सक आफै सल्लाहकार र प्रेरक बन्नको लागि जुनसुकै कारणबाट उत्पन्न मानसिक पीडा, अपमान, अपहेलना, आरोप र तनावलाई परास्त गर्न सकिन्छ । पहिले एकान्तमा अविरल आँशु झार्नुस्, मिले चिच्याएर रुनुस् आँशु रित्याउनुस् अनि नुहाएर मुस्कुराउँदै बाहिर आउनुस्, यसरी कि देख्नेहरूले दया होइन इर्ष्या गरुन् । आँशुको भेल बगेपछि मन शान्त हुन्छ, आवेग मर्छ, त्यसपछि सकारात्मक सोच उत्पन्न हुन्छ । उपयुक्त समयमा योग ध्यान प्रवचन अध्यात्मिक प्रेरक पुस्तक खोजेर अध्ययन गर्नुस्, मनोरञ्जन (गीत सुन्ने फिल्म हेर्ने) र भ्रमण (स्थान परिवर्तन) गर्नुस्, तत्काल तनावमुक्त हुन सकिन्छ ।
प्राकृतिक चिकित्सा र स्वास्थ्यवर्द्धक खानेकुराले सकारात्मक भाव उत्पन्न गर्छ, त्यसैले तनावको समयमा कुनै पनि लागुऔषध, मध्यपान, धुम्रपान नगर्नु उत्तम हुनेछ । हाम्रा पुर्खाले भन्ने गर्थे- मर्नुभन्दा बहुलाउनु जाति ! जिन्दगीको अर्को नाम संघर्ष हो । जसले संघर्ष गऱ्यो उसले जीवन बाँच्यो, उसले जीवन जित्यो ! उकाली-ओरालीको अनुभूति त गर्नैपर्छ । हमेसा मनन-चिन्तन गर्नुपर्ने कुरो के भने प्रत्येक मानिस अलग कर्म, भाग्य र भूमिकाको लागि हौँ । प्रत्येकको अलग सोच छ, एकै अभिभावकले हुर्काएको सन्तान एकै शिक्षकले पढाएको एकै पुस्तक पढेका विद्यार्थी सबै एकनास हुँदैनन् । तसर्थ जे-जस्तो उपलब्ध छ, जे-जस्तो अवस्था छ त्यसलाई धर्यतापूर्वक सहजताले लिनुपर्छ ।
सृष्टिकर्ताले कसैलाई पनि पूर्ण हुने सुविधा दिएको छैन । राजा-महाराजा, धनाढ्य वा साधारण सबैको आफ्नै दुःख र पीडा अभाव हुन्छ । आँशुविहीन को छ र ? आँशुको महत्व बुझौँ, आँशु मनको महिलो मस्तिष्कको आगो निभाउनका लागि हो, यसको प्रयोग गरौँ र आवेगलाई शान्त पारौँ । साथै, आउने असल दिनको प्रतीक्षा गरौँ, आत्महत्या नगरौँ, किनकि विकल्प छ । LIFE IS A BEAUTIFUL JOURNEY OF STRUGGLE ENJOY YOUR LIFE WITH SMILE WHATEVER BAD SITUATION NO SUICIDE PLEASE .
अर्को मननयोग्य सोच के हुनुपर्छ भने जीवनको मुल्य सामाजिक प्रतिष्ठा, पद, सम्पति र आडम्बरभन्दा धेरै, अतुलनीय वा मुल्यवान हुन्छ । यी विषय भनेको समाजमा समयसाक्षेप अनुकुलताले उपलब्ध क्षणिक हुन् । जो आज छ भोलि नहुन सक्छ, त्यस्तो आशक्तिभन्दा टाढा रहनुपर्छ, सहज र स्वाभाविक उपलब्धिलाई प्राथमिकतामा राख्न सक्यौँ भने नहुँदा पनि पीडा हुँदैन । अभाव, पीडा, दोषमुक्त मानिस को पो छ र ? तपाईंलाई पीडा, अभाव हुँदा या दोष लाग्दा आत्महत्या रोज्नुपर्ने ? जीवनलाई देखासिखी र क्षमताबाहिरको आडम्बरबाट भने मुक्त गर्नु नै पर्छ । यी ४ शब्द र अर्थलाई दैनिक मन्त्रको रुपमा मनन र अनुशरण गर्न सक्यौँ भने अनावश्यक मानसिक तनावदेखि हत्या र आत्महत्या जस्तो असहिष्णु र अमानविय, आफैलाई अनाहकमा दण्डित गराउने नियति वा अवस्थाबाट टाढा रहन सकिन्छ – १. आफ्नो स्वार्थको प्रतिकुल भयो भनेर अर्कोलाई दोष दिन बन्द गर्नुस्, २. अर्को अनुकुल भएन यसले उसले गर्दा भनेर अर्कोप्रति गुनासो गर्न छोड्नुस्, ३. आफूलाई कहिले पनि अर्कोसँग दाँज्ने काम/सोच नगर्नुस्, ४. कसले के भन्छ वा कसले के भन्यो भनेर अर्कोको लागि आफैलाई प्रताडित नगर्नुस्, अर्कोको प्रदुषित सोचलाई आफ्नो मस्तिष्कमा निषेधित गर्नुस् ।
महत्वाकांक्षा, पद-प्रतिष्ठा, सम्पति, यौन, गोपनियताको खुलासा, अपराधको सार्वजनिकरण, आडम्बरको अतिसयोक्ति मानसिकताले उपलब्धि नहुँदा असतुष्टि बढ्छ । मृगतृष्णा हो जीवन, लालचको घडा कसको भरिएको छ ? तर हामी दौडिरहन्छौँ अति आशक्ति राखेर अनि कुनैदिन सामान्य धरातलमा ओर्लिनुपर्दा आफूलाई धेरै पछाडि परेको, असफल भएको भन्ने भावको पीडाले थिच्न थाल्छ । त्यो पीडालाई सहजीकरण गर्न नयाँ बाटो, नयाँ उत्साह जोड्नुपर्छ । सकारात्मक सोचमा परिवर्तित हुन जरुरी हुन्छ । असफल भएपछि विक्षिप्त हुन्छ र आत्महत्या जस्तो आफैंविरुद्धको अपराध गर्न प्रेरित भएको हुन्छ । आत्महत्या रोक्न वा न्यूनीकरण गर्न व्यक्ति र समाजको सोच सकारात्मक हुनु अनिवार्य छ, यसले जस्तो प्रतिकुल अवस्थामा पनि आफूलाई उच्च आत्मबलको उर्जा दिन्छ र अवस्थालाई सहजीकरण गर्न सकिन्छ । तत्काल अप्रत्यासित आइपरेको असहज अवस्था वा लामो समयदेखि झेलिरहेको समस्याको विकल्प सोच्नुपर्छ । केही व्यक्तिगत निर्णय क्षमताका हुन्छन् भने केही सामाजिक वा कानुनी सहायता लिनुपर्ने हुन्छ । विषय र परिणामको अन्तिम बिन्दुसम्म गहनतापूर्वक सोचेर निकास खोज्नुपर्छ न कि विश्राम (आत्महत्या/हत्या) । प्राकृतिक मृत्युबाहेक सबै विषयको विकल्प छन् वा खोज्नुपर्छ । जसको लागि धैर्यतापूर्वक राम्रो र अनुकुल अवस्थाको प्रतीक्षा गर्नुपर्छ ।
हो, हाम्रो समाजको नकारात्मक र परपीडक मानसिकताको ज्वारभाटा कहिले धर्मेन्द्रले के भने रे, कहिले नन्दाले के भनिन् रे, कहिले ऋतिकले के भने रे, कहिले कान्तिपुरले के लेख्यो रे, कहिले नानीमैयाले यसो भनिन् रे जस्ता लहैलहैका श्रङ्खला कति हो कति ! हाम्रो अपरिपक्व मानसिकता (न्यूनस्तरको विवेक)को व्यक्तिवाद राष्ट्रवाद यसरी नै उठ्छ र परिवार एवम् गाउँघर प्रदुषित गर्छ अनि एकाएक त्यो त मैले सोचेकै थिएनँ त भन्दै बिलाउने गर्छ । ITS OUR LACK OF NORMS OF STRONG CIVIC SENSE.
अर्कोको पीडालाई गैरजिम्मेवारीपूर्वक तमासा बनाउने असहिष्णु मानसिकता हाम्रो समाजले त्यागेको दिन हत्या÷आत्महत्यालाई रोक्न वा न्यूनीकरण गर्न सकिन्छ ।
महामानव गौतम बुद्धको शन्देस अनुशरण गर्नुपर्छ । वहाँले भन्नुभएको छ- अरुले व्यक्त गर्ने वा गर्न सक्ने नकारात्मक भावलाई बेवास्ता गर्नुपर्छ । समाज त तिम्रो राम्रो कामलाई होइन कहिले तिमी गल्ती गर्छौं र खेदो खनौँ तमासा बनाउँ भनेर कुरेर बसेको हुन्छ । तिम्रो दिन खराब चलेको अवस्थामा यो समाज थप क्रुर भएर तिमीमाथि खनिने गर्छ । त्यसैले समाजले के भन्छ भनेर होइन अन्तरआत्माको आदेशलाई शिरोपर गरि अगाडि बढ्नुपर्छ । सम्पति पद प्रतिष्ठा आर्जन, भोक यौन सामान्य प्राकृतिक विषय हुन्, यसलाई आशक्ति वा आडम्बरको स्थानमा पुऱ्याउनु हुँदैन ।
कुनैपनि अपेक्षाको ‘NO’ जवाफ पाउँदा त्यसलाई निरासा निराशा होइन NEXT OPTION को रुपमा, सकारात्मक रूपमा लिनुपर्छ । यो समाज र प्रत्येकले गम्भीर भएर मनमा राख्नुपर्छ के भने, समय बलवानमात्र होइन निर्मम पनि हुन्छ, थाहा हुँदैन कहिले कुन बेला कसको लागि भुकम्प आँधिबेरी पहिरो वा कुनै प्रकोप बोकेर आउँछ । तसर्थ, त्यो अवस्थाको लागि हमेसा तयार हुनुपर्छ । अर्को शब्दमा भन्नुपर्दा प्रत्येक दिन मृत्युसँग सम्वाद गर्नुपर्छ, त्यसो भएमा हाम्रो पद प्रतिष्ठा सम्पतिको अहंकार आडम्बरलाई न्यूनीकरण गर्न सकिन्छ । जीवनलाई सहजीकरण गर्न सकिन्छ । यही नै हत्या-आत्महत्याको विकल्प रोज्ने–खोज्ने प्रेरणाका सहायक हुन् सक्छ ।
घरेलु हिंसाको कुरो गर्नुपर्दा विश्वमै शारीरिकरूपमा महिला बढी र मानसिकरूपमा पुरुष बढी छन् । पारिवारिक सामाजिक जिम्मेवारी पुरुषको टाउकोमा हुन्छ, थप महिला अधिकारको नाममा कानुन प्रहरी र सामाजिक दबाब र प्रभावको साथै सम्बन्धबिच्छेद हुँदा आफूले कमाएको मात्र होइन पुर्ख्यौली सम्पतिसमेत टुक्रिने हुँदा पुरुषमा मानसिक तनाव वा यातनाको समस्या धेरै हुने कारणले नै आत्महत्या गर्नेको संख्यामा पुरुष बढी भएको तथ्यांक छ । प्राकृतिक वा विश्वकै समाजको मानसिकताले आजसम्म पुरुषलाई महिलामा आश्रित हुने छुट वा सहजता दिएको छैन, त्यसैले पनि विविध बोझ झेल्न पुरुष बाध्य छ ।
हो, कहिलेकाहीँ सम्पति परिवार प्रतिष्ठा सबै गुमाउनुपर्ने अवस्था आउन सक्छ जुन कहिले मानवसृजित त कहिले प्राकृतिक प्रकोप हुन सक्छ । तर, यस्तो पीडा अपमान वा नोक्सानी ब्यहोर्ने म पहिलो र एक्लो ब्यक्ति त होइन, सडकमा पुगौँला के भयो त ? करोडौँ सडकमा छन् त साथी ! एकदिन राम्रो समय आउने छ । सबैको सधैं एकै अवस्था रहँदैन, सृष्टिकर्ता त्यति क्रुर छैनन्, कहिलेकाहीँ मेरो सृजना कति बलियो छ भनेर कठोर परीक्षा अवश्य लिन्छन् ।
जीवनको तितो सत्य के पनि हो भने यो दुनियाँमा कोही कसैको लागि हुँदैन, सबैको आ-आफ्नै स्वार्थमा जोडिएको नाता सम्बन्ध वा सम्झौता हुन । जुन प्रकृतिले, समाजले अनिबार्य गराइदिएको हुन्छ । त्यसैले यो विषयलाई पनि आशक्तिपूर्ण बनाउनु बुद्धिमानी हुँदैन, कारण – यस्ता सम्बन्ध या सम्झौताहरू प्राकृतिक प्रकोप, मृत्यु वा विविध कारणले कुनैपनि बेला छुट्न सक्छन् । चाहे त्यो विजयपत सिंघानिया हुन् चाहे लियो टाल्सटाय वा लैला मजनु वा मुनामदन । यो सांसारिक चर्चा भोग पद प्रतिष्ठा सम्पति शक्ति नाता जन्मेपछि जोडिन आएका हुन् र जाँदा छोडेर नै जाने हो । तपाईंलाई जिउँदै जलाउने पनि एकदिन पक्कै जलेरै मर्ने हुन् । तसर्थ, वियोग बिछोड नोक्सानी वा पद प्रतिष्ठा सम्पति गुम्यो भनेर चिनित हुनु मुर्खता हो, यस्ता क्षणिक विषयका आशक्ति त्याग गर्न सक्नुपर्छ ।
मननीय कुरो के भने, मानिसले कहिल्यैपनि आफूलाई पूर्णता दिन्छु भनेर सोच्नु हुँदैन, यो जीवन केवल एउटा चलचित्र निर्देशकले फरक भूमिकामा फरक अनुहार छानेजस्तै सृष्टिकर्ताले पनि सृष्टिको निरन्तरताको लागि एउटा अर्को भूमिकामा पठाएका हुन्, सहजतापूर्वक जे उपलब्ध छ त्यसैलाई महान् र ठुलो ठानी सन्तोष लिन सक्ने मानसिकता विकास गर्नुपर्छ । दुःख पीडा अभाव आरोप नाम/बदनाम सबै मेरो भूमिकाको पाटो हो भन्ने सोचेर सहजतापूर्वक लिनुपर्छ । पारिवारिक कुरो गर्नुपर्दा पनि को कहाँ जन्म्यो, कस्तो शिक्षा, कस्तो संगतमा हुर्क्यो, कस्तो समाजको मानसिकताको प्रभावमा छ, सामाजिक/प्राकृतिक नियमको वा नियतिको निरन्तरताको लागि बनेको सम्बन्ध एउटा गहन र अति संवेदनशील सम्झौता हो तर समयसँगै एकअर्काको प्राथमिकता सोच र अपेक्षाहरू परिवर्तित हुन थाल्छन् । तत्कालिन अवस्थामा गरेको सामाजिक प्राकृतिक सम्झौता कालान्तरमा प्रतिकुल बन्न सक्छन्, खासगरी शारीरिक र मानसिक अनमेल हुन पुग्छन् । त्यस्तो अवस्थामा अगाडि सँगै वा एकै छतभित्र निरन्तरताको लागि थप नयाँ सम्झौतामा एकमध्ये कोही असमर्थ वा मन्जुर नभएमा आफ्नो कमजोरी स्वीकार गर्दै एक्लै अर्कोलाई स्वतन्त्र हुने अधिकार दिनु बुद्धिमानी हुन्छ । जे-जस्तो कारणको पीडा आवेग भएपनि हाम्रो पुर्खाले भनेजस्तो ‘मर्नु भन्दा बहुलाउनु जाति’ अर्थात् जीवनलाई धैर्यवान बनाउँ, समय बित्दै जान्छ र सकारात्मक दिन आउँछ ।
हुन त माथि उल्लेख गरेझैँ हत्या/आत्महत्याको कारण पनि समाज र देशअनुसार केही फरक हुन्छन् नै । हाम्रो समाजको सन्दर्भमा भने राज्यले धार्मिक अध्यात्मिक र नैतिक शिक्षा अनिवार्य गर्नुपर्छ । समाजलाई पाखण्डी आडम्बरी भ्रष्टाचारी होइन सदाचारी विवेकशील र जिम्मेवार बनाउने प्रेरणा दिने शिक्षालाई अनिवार्य गर्नुपर्छ । हाम्रो सामाजिक प्रवृत्ति नै आत्महत्याको दुरुत्साहन मूल कारण भएको हुँदा समाज विवेकशील र जिम्मेवार हुनुपर्छ । आत्महत्याको विकल्प छ, न्यूनीकरण गर्न सकिन्छ । आत्महत्या के हो, यसबाट बच्ने कसरी, अर्थात विकल्प के हुन् ? आत्महत्यालाई दुरुत्साहित गर्ने सामाजिक मनोविज्ञान (BULLYING) र त्यसबाट बच्ने उपायको बारेमा हामीले कम्तिमा माध्यमिक स्तरको शिक्षाको पाठ्य पुस्तकमा यो विषयको शिक्षा (ज्ञान) दिनुपर्ने हुन्छ, अनिमात्र हाम्रो समाजको नकारात्मकभाव र परपीडक मनोवृत्तिलाई न्यूनीकरण गर्न र हत्या/आत्महत्या वा आत्मदाहलाई रोक्न सक्छौँ ।
प्रतिक्रिया