- राजन घिमिरे
… गरिबको चमेली बोल्दिने कोही छैन…
अन्ततः यही गीतको भाव, मर्म वा रोदनलाई चरितार्थ गरि छाडे बालेन साहले । यही गीत गाएर सबैको माया, सदभाव, साथ र समर्थन जुटाएका बालेन पनि गरिबको पक्षमा बोल्न सकेनन् र, आज यो कालजयी गीत फेरि सडकपेटीमा ब्यापार ब्यवसाय गर्नेहरूले गाउँदै बालेन साहलाई प्रश्न गर्न थालेका छन्– ‘गरिबको चमेली बोल्दिने कोही छैन… !’
भुइँमान्छेहरूको भावना बोल्ने यो गीतले भनेजस्तो ‘…गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै गरिबको लागि बालेन शाहले यही गीतमा ¥याप थपरे गाएका थिए । उनले त्यति बेला यो गाउँदा र यही अवस्थामा गुज्रिरहेको जनताको जमातलाई राहत देलान् भन्ने ठुलो भरोसा थियो । तर, चलचित्र शोलेमा गब्बर सिंहले सोझा र सिधा गाउँलेको सातो लिएझैँ पछिल्लो समय ‘गब्बर आयो..’ भन्ने ठाउँमा ‘बालेन आयो…’ भनेर भाग्नुपर्ने अवस्थाको सृजना भएको छ ।
नाङ्लो पसलको भरमा आफ्नो र सन्तानको भविष्य देखिरहेको जमातबीच आसुरीरूपमा प्रस्तुत भएपछि माथि भएकाहरूले त हाई–हाई गरे, तर दिउँसोको ब्यापारबाट राति हातमुख जोर्नेहरूको जमातमा भने डर, त्रास र भयमा बाँच्नुपर्ने अवस्था सृजना भएको छ । यो अवस्थाले चुनाव आउनुअघि प्रचारप्रसार गर्दा जतिबेला भिड देखाउनु पर्दथ्यो त्यतिबेला सडक पेटीका यी ब्यापारीलाई महान् ठान्ने बालेन यतिबेला भने सुकिलामुकिलाहरूको नजरमा महान् बनिरहेका छन् । यो भविष्यमा उनी राजनीतिमा रहिरहे हो भने उनको लागि घातक हुने देखिन्छ ।
सडकपेटीमा ब्यापार गरेर खानेहरू लुछिएपछि तिनीहरूका सन्तानको नजरमा जसरी सोलेमा गब्बर सिंहले गाउँ तहसनहस गर्दा गब्बरका कारण त्रास, डर, रिस र आवेग देखिन्थो, अहिले काठमाडौंका सडक पेटीमा लुटिएकाहरूको सन्तानहरूमा यस्तै त्रास देखिएको छ । आफ्ना मातापिताको रूवावासी चलेको भिडियो त यो पुस्ताले आगामी दशौँ वर्षपछि हेर्दा यही दृष्यले बालेनप्रति घृणा पैदा नगर्ला भन्न सकिन्न । त्यसमाथि यूटुबर बोकेर हिँड्दा सामाजिक सन्जालमा बालेन र त्यो यूटुबरको दर्शक त बढेका होलान् तर यसको दीर्घकालीन असर बालेन साहलाई पर्ने देखिन्छ । बालेनले चुनाव प्रचारप्रसार गर्दा उनको यो शैलीलाई हल्ला गरेर घर–घरमा पु¥याउने यिनै सडक ब्यापारीहरू थिए । त्यतिबेला काठमाडौंका कुनचाहिँ सुकिलामुकिला बालेनको प्रचारप्रसार गर्न हिँडेका थिए त ? अहिले यिनै भुइँमान्छे बालेन र उनका सहयोगीहरूका लागि घाँडो भएका छन् ।
‘सटर खोलेर ब्यापार गर्नु..!’ बालेनका सहयोगीको तर्क । सटर खोल्ने अनि तीन महिनाको अग्रिम भाडा तिर्न सक्ने क्षमता भएको भए सडकमा धुलोमैलो खाएर कसलाई पो ब्यापार गर्ने रहर हुन्थ्यो होला र ? यस्ता ब्यापारीलाई समस्या र घाँडो ठानेर दिनहुँ यूटुबरहरूलाई कमाइ खाने माध्यम बनाउँदै अरूको रूवाबासी पार्नुभन्दा यो समस्याको दिर्घकालीन हको सोच र योजनातिर लाग्दा राम्रो हुन्न र ? जहाँ समस्या छ त्यहाँ समाधान पनि छ । तपाईं पनि त यस्तै-यस्तै समस्याको समाधान गर्छु भनेर आउनुभएको होइन र… ? सडक पेटीका खुद्रे ब्यापारीहरूलाई लखेटेर तितरवितर गर्ने काम त पहिलाको मेयरले पनि गरेकै हुन् नि ! खै त यो तरिकाले समस्याको समाधान भयो त ? तपाईंसँग पहिलेका मेयर जस्तै तितरवितरको शैली होइन, ब्यवस्थित आधार र सोचको अवधारणा चाहन्छन् मानिसहरू । यस्तो सोच र योजना तपाईंसँग नभएकै हो त ? तपाईं त गरिबको चमेली बोल्दिने कोही छैन भन्ने गीत गाएर सडक र गरिबको मन-मस्तिष्कमा बसेको मान्छे । तपाईंबाट यस्तो लोकप्रियताको आशा गरिएको थिएन । तपाईंको यो शैलीले त केवल रूवावासी र हरिबिजोग दृश्य राखेर दर्शक अनि सस्क्राइब बढाउन खोज्नेलाई मात्र फाइदा छ । तलब मात्र खाने कि अघिपछि हिँड्नेले यस्तो पनि सल्लाह दिने बालेन साहलाई ?
एक समय सन्तानकै अघिल्तिर आफन्तको अपहरण र काटिएका दृश्य हेरेको पुस्ताको मन र भावनालाई सोध्नुस्– उनीहरूको मनमा अहिले पनि त्यो पार्टीप्रति कति नैराश्यता छ । हो, अहिले आफ्नै अगाडि आफ्ना बुबाआमाको गरिखाने माध्यम सडकभरि छताछुल्ल भएको दृश्य देख्ने पुस्ताले तपाईंप्रति कस्तो सोचेको होला ? यसरी लछारपछार र लुछाचु्ँडी गर्नु समस्याको समाधान होइन । तपाईंले चाहनुभयो भने यो समस्याको समाधान हुन्छ, हुनेछ । कुनै सरकारी जग्गा वा स्थानमा निश्चित समय तोकेर ब्यापार ब्यवसाय गर्न दिन सकिन्छ, तर दिनहुँको धरपकड समस्याको समाधान होइन, पक्कै होइन ।
प्रतिक्रिया