सहकर्मी शुभेच्छुकले यसरी सम्झिए वाङ्मय शताब्दी पुरुष जोशीलाई
- सिबी अधिकारी, काठमाडौं, (तस्बिर : रासस)
‘शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुकको सम्पदा ढलेको छ, उहाँ जीवित सम्पदा हुनुहुन्थ्यो’, लोकसाहित्य परिषद्का सहसंरक्षक प्रेम शान्ति तुलाधरले भन्नुभयो । परिषद्का संस्थापक संरक्षक रहेका जोशीको निधनप्रति भावुक हुँदै तुलाधरले थप्नुभयो,‘लोकसाहित्य, भाषा संस्कृतिको संरक्षण सम्वर्द्धनमा मात्रै होइन उहाँको हरेक क्षेत्रमा उत्तिकै योगदान थियो । उहाँको अभाव मुलुकलाई खड्किरहनेछ ।’
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि भाषा, साहित्य, सम्पदा र संस्कृतिको सम्वद्र्र्धनमा अतुलनीय योगदान पु¥याउनुभएका जोशीको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताउनुहुन्छ । ‘सत्यमोहन जोशी एउटा यस्तो व्यक्ति हुनुहुन्छ, जो १०३ वर्षसम्म अनवरत अध्ययन, शृङ्खलाबद्ध रूपमा राष्ट्रको श्रीवृद्धि गर्नमा योगदान गर्नुभएको छ, उहाँको योगदानको अहिले वयान गरेर साध्य हुँदैन’, उहाँले भन्नुभयो ।
सधैँ राष्ट्र र लोक संस्कृतिको उन्नयनमा अहोरात्र चिन्तन मननका साथ खटिरहने वाङ्मय शताब्दी पुरुष जोशीको निधनले मुलुकको सम्पदा ढलेको शुभेच्छुकहरूको प्रतिक्रिया दिनुभएको छ । संस्कृति, पुरातत्व, लोकसंस्कृतिको सम्वद्र्धन, नेपाली कलालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उहाँको अतुलनीय योगदान थियो । नेपाल भाषा, नेपाली, अङ्ग्रेजीलगायत भाषामा दक्खल, धार्मिक सहिष्णुता आदि विषयमा उहाँको अब्बल योगदान रहेको छ ।
वाङ्मय शताब्दी पुरुष जोशीको निधनले साँच्चिकै देशको भाषा, संस्कृति, सम्पदा र सहित्य जगत्मा अतुलनीय क्षति पुगेको छ । जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानको देश तथा विदेशमा समेत चर्चा हुन्छ ।
सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले एक दिन राष्ट्रिय बिदा दिने निर्णय गरिन्छ भन्नुभएको छ । कुन दिन भन्ने आधिकारिक सूचना सरकारका तर्फबाट प्रकाशित हुनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनले नेपालको साहित्य, संस्कृति र सम्पदाको क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो । ‘जोशीको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको छ, साँच्चिकै भन्दा एउटा अभिभावकत्व नै गुमेको जस्तो महसुस भइरहेको छ । उहाँको योगदान नेपालको इतिहासमा सधैँ स्मरणीय रहिरहनेछ ।’ मन्त्रीश्रेष्ठका अनुसार शोकमा राष्ट्रिय बिदा दिने पर्यटन मन्त्रालयबाट प्रस्ताव गएको र त्यसप्रति प्रधानमन्त्री सकारात्मक रहनुभएको छ ।
शताब्दी पुरुषको जीवनीबारे पुस्तक लेख्नुभएका पत्रकार गिरिश गिरीको अनुभवमा स्व. जोशी देशलाई माया गर्ने व्यक्ति हुनुहुन्थ्यो । ‘त्यो भावनामा होइन यथार्थमा । नेवारी मातृ भाषा भएर पनि खस भाषको जगेर्नामा उहाँको ठूलो योगदान रहेको छ, उहाँले भन्नुभयो, ‘देशलाई भौतिक अभौतिक धेरै सम्पत्तिहरू दिएर जानुभएको छ । उहाँको चमत्कार भनेको स्मरणशक्ति असाध्यै राम्रो थियो । उहाँलाई होस हुँदासम्म नेपालको जुनसुकै इतिहास र घटनाको प्रष्ट व्याख्या गर्नसक्ने खुबी भएको जिउँदो इतिहासको किताब हुनुहुन्थ्यो, राष्ट्रलाई माया गर्ने त्यो उचाइको व्यक्ति गुमानउनुपर्दा सबैलाई दुखित तुल्याएको छ ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली वाङ्मय र गौरवको प्रवद्र्धन गर्न जोशीले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो । ‘जोशी एउटा युग र शताब्दी थामेको नेपाली भाषा, संस्कृति, नेवारी भाषा साहित्यको जगेर्ना र प्रवद्र्धनका साथै कलाकार अरनिकोलाई उजागर गर्नसमेत भूमिका खेल्नुभएको थियो ।’
जोशीको योगदानलाई कदर गर्दै प्रतिष्ठानले आजीवन सदस्य दिएको स्मरण गर्दै उप्रेतीले राज्यले प्रदान गर्ने नेपालकै ठूलो पृथ्वी प्रज्ञा पुरस्कार दुईवर्षअघि प्रदान गरिएको जानकारी दिनुभयो । जोशी हरेक विधाका स्रष्टालाई प्रोत्साहित गर्ने र अहिलेको पुस्ताको प्रेरणादायी व्यक्ति भएको उहाँले उल्लेख गर्नुभयो । ‘नेपाली प्राज्ञिक जगत्को अभिभावक र प्रेरणाको स्रोतकारूपमा लिएका छौँ, जुन गुमेको छ’, उप्रेतीले भन्नुभयो ।
पत्रकार सुनील महर्जन नेपाल प्रज्ञा प्रतिष्ठान र पुरातत्व विभागको निर्देशक भएर स्व जोशीले नेपाली वाङ्मय क्षेत्रको विकास प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको बताउनुहुन्छ । जोशीले नेपाली भाषा र सभ्यताको थलो सिञ्जा क्षेत्रमा गएर अध्ययन गर्नुभएको थियो । नेपाली लोकसाहित्यको प्रवर्द्धनमा पनि उहाँको योगदान थियो । नेपालको लोकसंस्कृति नामक पुस्तकले पहिलो मदन पुरस्कार प्राप्त गरेको थियो ।
ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अजरमान जोशीले स्व जोशीको योगदानलाई सङ्गृहीत गर्दै आधुनिक पुस्तामाझ पु¥याउन सकेमात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
‘बुबा परिवारवाद भन्दापनि आदर्शभाव राख्ने व्यक्ति हुनुहुन्थ्यो, राष्ट्र र जनताका लागि सोच्नुहुन्थ्यो, उहाँका लागि परिवार गौण कुरा थियो, हामी नयाँ पुस्ताले उहाँको अनुसरण गर्न सकेनौँ, उहाँ आफ्नो र परिवारभन्दा पनि राष्ट्र र समाजको बारेमा बढी चिन्तित हुनुहुन्थ्यो’, स्व जोशीका जेठा छोरा अणुराज जोशीले भन्नुभयो ।
जोशीसँग विगत १२ वर्षदेखि सहकार्य गर्दै आउनुभएका नेपाल भाषा एकेडेमीका व्यवस्थापक शान्तराज शाक्यको भनाइमा साधारण जीवन र उच्च विचारको प्रणेता जोशीको योगदानलाई राष्ट्रले कदर गर्नुपर्छ । जीवनको अन्तिम क्षणसम्म पनि जोशी दिनरात भाषा साहित्यमा निरन्तर लाग्नुभएको थियो ।
यसरी सुरक्षित गरिदैँछ शताब्दी पुरुषको पार्थिव शरीर
जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा आइतबार (३० असोज) महाप्रस्थान गर्नुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने भएको छ । पारिवारिक सहमतिअनुसार स्व. जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्रसम्बन्धी अध्ययनका लागि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा राखिने भएको हो ।
साो अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जोशीको पार्थिव शरीरलाई मेडिकल चिकित्सा प्रणालीअनुसार अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘अहिले जोशीको पार्थिव शरीरलाई नबिग्रिने हिसाबले केमिकल र औषधि प्रयोग गरेर सुरक्षितरूपमा ‘प्रिजर्भ’ गरिएको छ । ‘प्रोफेसर’को भनाइअनुसार उहाँको शरीरलाई चिरकालसम्म कुनैपनि तत्वले बिगार्न सक्दैन । उहाँको शरीरबाट चिकित्सा प्रणाली अनुरूप कसरी ज्ञान र सीप लिन सकिन्छ, त्यो आर्जन गर्नेछौँ । ’जोशीको पार्थिब शरीरलाई परिवारले किष्ट शिक्षण अस्पताललाई पूर्णरूपमा हस्तान्तरण गरेको छ ।
‘चिकित्सा प्रणाली अनुरूप के-के गर्नुपर्ने हो, शरीरको कुन भागको अध्ययन अन्वेषण गर्ने र उहाँको शरीरलाई चिकित्सकीय प्रणालीमा के-कसरी प्रयोग गर्ने भन्ने विज्ञहरूको रायअनुरूप अघि बढ्छौँ । ‘प्रिजर्भ कन्डिसन’ कति समय रहन्छ भन्ने अहिले भन्न सकिन्न’, उहाँले भन्नुभयो ।
अस्पतालले जनाएअनुसार स्व जोशीको शरीरको हरेक भागलाई अध्ययन अनुसन्धान गरिनेछ । स्व. जोशीको चाहनाअनुरूप चिकित्सा प्रणालीमा अनुसन्धान हुनेछ ।
‘मेरो शरीरको चिकित्सा प्रणाली अनुरूप अध्ययन होस्’ भन्ने उहाँको चाहना थियो सोही अनुरूप सम्पूर्ण अङग प्रत्यङ्गको सूक्ष्मरूपमा अध्ययन अन्वेषण गरिन्छ’ स्व जोशीको भनाई उधृत गर्दै अस्पतालका निर्देशक बज्राचार्यले भन्नुभयो । उहाँले जोशीबारे चिकित्सा शिक्षा मात्र नभई हरेक क्षेत्रमा अध्ययन गर्न चाहनेलाई अनुसन्धान गर्ने अवसर दिइने बताउनुभयो । स्व जोशीको शरीरको विस्तारै अध्ययनको प्रक्रिया शुरु गरिने र विशेषज्ञ चिकित्सकहरूबाट शरीरको हरेक भागको अध्ययन हुनेछ ।
कहाँ राखिन्छ पार्थिव शरीर
किष्ट शिक्षण अस्पतालले जोशीको पार्थिव शरीरलाई अस्पताल परिसरकै आधारभूत साइन्स भवनको हलमा राख्ने निर्णय गरेको छ । अस्पतालका निर्देशक बज्राचार्यले जोशीको शरीर अध्ययनका लागि अस्पतालको बेसिक साइन्स ल्याब रहेको भवनमा राखिने बताउनुभयो । अस्पतालमा जोशीको शरीर रहेपनि सर्वसाधरणले भने हेर्न पाउनेछैनन् । मेडिकल क्षेत्रका अनुसन्धानकर्ताले अनुमति लिएर मात्रै हेर्न र अध्ययन गर्न पाउने निर्देशक बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,‘परिवारले नै हामीलाई गोपनीयता र सम्मानस्वरूप राखिदिनुस् भन्नुभएको छ र मेडिकल ‘इथिक्स’को पनि कुरा हुन्छ ।’
प्रतिक्रिया