गृह श्रमिकको दक्षिण एशियाली सम्मेलन काठमाडौंमा

गृह श्रमिकको दक्षिण एशियाली सम्मेलन काठमाडौंमा



हामी एक आन्दोलन हौँ, हामी भविष्य हौँ भन्ने नाराको साथ दक्षिण एशियाली गृहश्रमिकहरूको तीनदिने कार्यक्रम काठमाडौंमा यही कार्तिक २ गतेदेखि सुरु हुने भएको छ । होम नेट साउथ एशियाद्वारा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको अन्तिम दिन शान्तिपूर्ण र्‍याली गर्दै कार्यक्रम सम्पन्न हुने आयोजक संस्थाकी नेपाल अध्यक्ष सृष्टि जोशी मल्लले जानकारी दिनुभयो ।

कार्यक्रममा दक्षिण एशियाका नेपाल पोखरेल भारत पोखरेल भुटान पोखरेल पाकिस्तान पोखरेल माल्दिभ्स, बङ्लादेश र अफगानिस्तानका गरी १५० गृह श्रमिकहरूको सहभागिता रहनेछ । कार्यक्रममा गृह श्रमिकबाट उत्पादन भएका सामानहरूको २५ वटा स्टल राखी प्रदर्शनी र बिक्री गरिनेछ ।

सन् २००० मा काठमाडौं घोषणापत्र जारी गर्दै होमनेट दक्षिण एसिया (एचएनएसए)को जन्म भएको थियो । ऐतिहासिक शिखर सम्मेलनको २२ वर्ष पूरा भएको अवसरमा कार्यक्रम गरिएको हो ।

होम नेट साउथ एशिया दक्षिण एशियाभरिका गृह श्रमिक संगठनहरूको नेटवर्क हो । दक्षिण एशियाली क्षेत्रका जोखिममा रहेका १२ लाखभन्दा बढी गृह श्रमिकहरूको प्रतिनिधित्व संस्थाले गर्दै आएको छ, जसमध्ये ९५ प्रतिशत महिलहरू रहेका छन् ।

कार्यक्रममा विभिन्न संघसंस्था, युनियन, भ्रातृसंगठन, सामूहिक र उद्यमका प्रतिनिधिहरूका साथै संस्थाका बोर्डका सदस्यहरू, प्रतिष्ठित व्यक्तिहरू, पत्रकारहरू, सहयोगीहरू र यस क्षेत्रका शिक्षाविद्हरूको उपस्थिति रहनेछ । सम्मेलनको नारा ‘हामी एक आन्दोलन हौँ, हामी एक भगिनी हौँ, हामी भविष्य हौँ’ भन्ने रहेको छ, नाराले नै उद्देश्यबारे व्याख्या गर्ने संस्थाले जनाएको छ ।

संस्थाद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ- ‘यो कंग्रेसमा हामी हाम्रा गृहश्रमिक दिदीबहिनीहरूको कुरा सुन्नेछौँ र सिक्नेछौँ, सामूहिक प्रयासहरूलाई जनमानसमा ल्याउनेछौँ । अन्तरदेशीय अनुभवलाई प्रोत्साहित गर्नेछौँ र, २२ वर्षको हाम्रो यात्रालाई प्रदर्शन गर्दै दक्षिण एशियामा घरमा आधारित कामदारहरूको लागि कामको संसार थप मर्यादित बनाउन मद्दत गर्नेर्छौं ।’

फोटो प्रदर्शनीमार्फत गृहश्रमिकहरूको योगदानको प्रदर्शन गरिने बताइएको छ । गृहश्रमिकहरूको उद्यमले हस्तकला र हस्तनिर्मित उत्पादनहरू प्रोत्साहित हुने र कार्यक्रमले दृष्टिकोण र समान प्रतिनिधित्व, सहभागिता र मार्गदर्शन सुनिश्चित गर्न मद्दत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विज्ञप्तिमा अगाडि भनिएको छ- ‘दशकौँदेखि नेटवर्कले सिकेको के छ भने सुरक्षित, समतामूलक, समावेशी र दिगो संसार सुनिश्चित गर्ने एक मात्र उपाय भनेको हाम्रो सामूहिकतालाई बलियो बनाउनु हो र हाम्रा कामदार दिदीबहिनीहरूसँग ऐक्यबद्धतामा उभिनु हो । हाम्रो ‘ट्री अफ सोलिडारिटी’ ले एकता र एकताको त्यही भावनालाई मूर्तरूप दिनेछ । कांग्रेसले हाम्रो नेटवर्कको आत्मालाई समेट्नेछ, जुन दक्षिण एसियाका विभिन्न भागहरूका महिला गृहश्रमिकहरु छन्, उनीहरुका जीवनका विविध र कठिन अनुभवहरूका आधारमा आफ्ना सहयोगीहरूसँग मिलेर, भोलिको भविष्य सुनिश्चित गर्नेछ ।