- तौलिहवा प्रतिनिधि
कपिलवस्तुको चार नम्बरबाट तौहिलवातर्फ फर्किंदै गरेको सशस्त्र प्रहरीको वानटेन गाडी दुर्घटना हुँदा तीन जना सशस्त्र प्रहरीसहित ४ जनाको मृत्यु भएको छ ।
बेसक्याम्प बिसनपुरबाट फर्कंदै गरेको सशस्त्र प्रहरी गण नम्बर २८ को सशस्त्र प्रहरी सवार ना. १ ग ५५४ वान टन गाडी शुक्रबार साझ बाणगंगा नगरपालिका वडा नम्बर ३ सिउटीमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा गाडीचालक सशस्त्र प्रहरी सहायक हवल्दार रमेश चौधरी र साइकल यात्री स्थानीय अमर संग्रामी मगरको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

गम्भीर घाइते भएका सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी र सशस्त्र प्रहरी जवान जनक चौधरीको भैरहवास्थित युनिभर्सल मेडीकल कलेजमा उपचारको क्रममा शुक्रबार राति साढे १० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलले जानकारी दिए ।
गम्भीर घाइते भएका सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्द सुवेदी, जवान प्रेम मल्ल र बरिष्ठ प्रहरी हवल्दार कुल बहादुर घर्तीको भैरहवा स्थित युनिभर्सल मेडीकल कलेजमा उपचार भइरहेको छ ।
उनीहरुको अवस्था नाजुक रहेको र तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरी निरीक्षक यागेन्द्र तिमिल्सिनाले बताए । घटना के कसरी भएको हो त्यसको अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय पिपराको प्रहरी निरीक्षक शशीबाबु केसीको भनाइ छ ।
प्रतिक्रिया