‘नेपाल आमा’ सम्मानबाट सम्मानित वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षका उमेरमा आज बिहान निधन भएको छ ।
पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
अविवाहित समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो । उहाँलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा पूर्व सांसद श्रेष्ठको आज बिहान निधन भएको उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।
पूर्वसांसद श्रेष्ठ चितवनस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुनुहुन्थ्यो । धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति एक अर्ब भन्दा माथिको रहेको छ ।
विसं १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा श्रेष्ठको जन्मभएको थियो ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार आज बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म उहाँको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने र यसपछि उहाँ संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा केहीबेर राखेर दिउँसो १ बजे देवघाट लगिनेछ ।
प्रतिक्रिया