महोत्तरीमा धार्मिक हिंसाको नालीबेली, किशोरी यादवले एकाहा लगाउँदा नै सुरु भएको थियो

महोत्तरीमा धार्मिक हिंसाको नालीबेली, किशोरी यादवले एकाहा लगाउँदा नै सुरु भएको थियो


  • विशाल बस्नेत, महोत्तरी

महोत्तरीको भंगाहा नगरपालिकामा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको छ । हिन्दु सम्राट सेनाले शोभा यात्रा निकालेर मुस्लिम बस्तीमा पुगेपछि झडप सुरु भएको स्थानीयले बताएका छन् ।

वडा नम्बर ८ स्थित पहरिया चोकमा पुगेर कलश यात्रामा सहभागीहरूले मुस्लिमको झण्डा राखेको ठाउँमा आफूहरूको झण्डा राख्ने तयारी गर्दागर्दै मुस्लिम महिलाले ढुंगा प्रहार गरेको स्थानीय एक प्रत्यक्षदर्शीको भनाइ छ ।

झगडाको सुरुवात नै यहीँबाट भएको बताइएको छ । मुस्लिमहरूले बाक्लै ढुंगा प्रहार गर्न थालेपछि शोभा यात्रामा सहभागीले प्रतिकार गर्दा स्थिति तनावग्रस्त भएको थियो ।

भिडलाई नियन्त्रण लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि उनीहरूले लाठीचार्जसमेत गरे ।

दोहोरो झडपका क्रममा केही स्थानीय घाइते भएका छन् भने स्थानीयको ढुंगामुढाबाट केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

झगडाको सुरुवात कसरी भयो ?

मोहम्मद डेको एक दिनअगाडि अर्थात् २३ असोजमा स्थानीय किशोरी यादवले एकाहा लगाउने तयारी गरे । एकाहा लगाउन छिमेकीलाई सबै खबर गरेर तयारी अन्तिम चरणमा पुगेको बेला मुस्लिम धर्मावलम्बीका मसरिम राइन र रफिक आलमले एकाहा लगाउँदा आफूहरूलाई डिस्टर्ब हुने भन्दै रोक्न आग्रह गरे ।

किशोरी यादवका छोरा विदेशबाट छुट्टीमा आएका थिए । छुट्टीमा आएको बेला एकाहा लगाउँदा राम्रो हुने धार्मिक विश्वासअनुसार एकाहा लगाएर नै छोरालाई पठाउने किशोरीको योजना थियो ।

यसबीचमा मसरिम र रफिक पटक–पटक एकाहा नलगाउनु भन्दै रोक्न आए तर किशोरीले आफ्नो धार्मिक स्वतन्त्रतामा कसैले हस्तक्षेप गर्न नसक्ने भन्दै एकाहा लगाएर नै छाडे ।

यहीँबाट स्थानीय मुस्लिम समुदाय र हिन्दु समुदायबीच तितोपना बढ्दै गएको थियो । भित्रभित्रै उनीहरू आगो जसरी सल्किएका थिए । कहीँ न कहीँ उनीहरूबीच झगडा हुनसक्ने भन्दै स्थानीयमा त्रास बढ्दै गएको थियो ।

यो विषयमा नगरप्रमुख सञ्जीव साहले पनि निगरानी बढाउँदै लगे । यसैबीच बिहीबार हिन्दु सम्राट सेनाले शोभा यात्रा निकाल्ने पूर्व निर्धारित कार्यक्रम थियो ।

यही यात्रा नै झगडाको कारक बन्न सक्ने भन्दै नगरप्रमुख साह निक्कै सचेत थिए । हिन्दु सम्राट सेनाका केही व्यक्तिलाई बोलाएर यसअघि नै उक्त शोभा यात्रा ननिकाल्न अनुरोध पनि गरे तर उनीहरूले त्यसलाई अस्वीकार गरे ।

नगरप्रमुख साहले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैलाई घटनाको विषयमा जानकारी गराए । शोभायात्रा निक्लनु अगाडि नै सशस्त्र प्रहरी र नेपाल प्रहरी यात्रा गर्ने वरपर तैनाथ गरिएको थियो ।

पहरिया चोक जस्तो सार्वजनिक ठाउँमा राखेको मुस्लिम झण्डालाई लिएर यसअघि पनि हिन्दु र मुस्लिमबीच विवाद भएको थियो ।

सार्वजनिक ठाउँमा गाडिएको उक्त झन्डालाई लिएर नगरप्रमुख साहले मुस्लिम समुदायका अगुवाहरूलाई बोलाएर कयौँ पटक छलफल पनि चलाए । सार्वजनिक ठाउँमा बरु नेपालको झण्डा राखौँ भन्ने उनको सुझाव थियो ।

नगरप्रमुख साहले जातीय दंगा भड्कन सक्ने भन्दै उक्त झण्डा हटाउन आदेश पनि दिन सकेनन् । तर शोभा यात्रामा सहभागीको तगारो सोही मुस्लिम झण्डा बन्यो ।

हिन्दु सम्राट सेना हिन्दुहरूलाई मुस्लिम समुदायले गरेको हस्तक्षेपलाई लिएर प्रतिकार गर्ने तयारी गरिरहेका थिए । उनीहरूले यही मुस्लिम झण्डालाई नै कारक बनाए र त्यहाँ उनीहरूले आफूहरूको झण्डा पनि गाड्ने तयारी गरे । त्यसपछि झगडाले उग्ररुप लियो ।

निषेधाज्ञा जारी

घटनास्थल भएको नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

घटनाग्रस्त क्षेत्रमा थप घटना नहोस् भन्ने उद्देश्यले कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

नगरपालिका–८ को दक्षिणमा परियाको सम्पूर्ण क्षेत्र, उत्तरपुर्वमा ब्रह्मास्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी, वडा–१ पर्ने वगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी स्थित पुलसम्म कर्फ्यु आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।