सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिएको छ । गए राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच सो रकम उपलब्ध गराउने सहमति भएको हो ।
भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । “सडक निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको छ, नगद रकम मृतक बालकका बुबा र आमाको नाममा संयुक्त खाता खोलेर जम्मा गरिने छ”, उनले भने ।
छठ पर्वका कारण आज बैंक बन्द भएकाले सोमबार संयुक्त खाता खोलेर रकम जम्मा गरिने र हाललाई नगद रकम मृतक बालकको बुबा हिक्मत महराको जिम्मा लगाइएको प्रजिअ उपाध्यायको भनाइ छ ।
दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रबार बिहान सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले लागेर स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा बुबा, आमा, दिदी र भाइहरुका साथमा हिँडिरहेका बेला उक्त घटना घटेको हो ।
“हामी महाकाली किनार हुँदै घर फर्किदै थियौँ, एक्कासी ढुङ्गाले लागेर छोरोको घटनास्थलमै ज्यान गयो”, मृतक बालकका बुबा हिक्मतले भने, “घटनामा छोरी सरिना पनि घाइते भएकी छिन्, उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ।”
मृतक बालकका बुबा हिक्मतका अनुसार गएराति भारतको धारचुलास्थित सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको हो । भारतीय पक्षसित क्षतिपूर्तिका लागि शनिबार दिनभर छलफल भएको थियो । छलफलमा ब्यास गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी, वडा नम्बर २ का वडाध्यक्ष धीरन बुढाथोकीलगाययत जनप्रतिनिधि सहभागी रहेका थिए ।
घटनापछि भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेको हो । “उपलब्ध रकम अरु सन्तानलाई पढाउन खर्च गर्छु”, हिक्मतले भनेका छन् ।
महाकाली किनारमा भारतले आफ्नो क्षेत्रमा सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो । भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोटक पदार्थ प्रयोग गर्दा ढुङ्गाले लागेर बालक महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना पटक पटक विस्फोटक पदार्थ प्रयोग गर्ने गरेकामा नेपाली पक्षले आपत्ति जनाएको थियो । मृतक बालक महरा दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । महरा परिवार दशैँतिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो । यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरु गाउँ फर्किँदै थिए ।
भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ । त्यसका लागि बेला बेलामा उनीहरुले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था आएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ । यस्तो अवस्थामा दुवै देशका स्थानीय प्रशासनबीच समन्वय हुनुपर्छ, तर शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कुनै जानकारी नदिएको प्रजिअ उपाध्यायको भनाइ छ ।
प्रतिक्रिया