प्रचण्ड दलाल नोकरशाहीको घेराबन्दीमा परे : अन्जान तिमिल्सिना

प्रचण्ड दलाल नोकरशाहीको घेराबन्दीमा परे : अन्जान तिमिल्सिना


माओवादीको कथित ‘जनमुक्ति सेना’मा हुँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका माओवादी केन्द्रको बागमती प्रदेशका नेता अन्जान तिमिल्सिनाले निर्वाचनको माहोलबीच केही साताअघि पार्टी परित्याग गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रकै प्रभावशाली नेता तिमिल्सिनाले पार्टी परित्याग गरेपछि यसले चितवनको राजनीतिमा, खासगरी माओवादी केन्द्रको आन्तरिक राजनीतिमा हलचल पैदा गरेको छ । उनी भरतपुर-१६, चितवनका बासिन्दा हुन् । पार्टी परित्यागको सन्दर्भमा तिमिल्सिनासँग गरिएको कुराकानीको संक्षेप :

० तपाईं कुनैबेला ‘जनयुद्ध’मा मरिमेटेर लाग्नुभयो, सैन्य कमाण्डरको जिम्मेवारीसमेत निर्वाह गर्नुभयो, अहिले आएर माओवादी पार्टी किन छाड्नुभयो ?
– कुनै एउटै घटनाले हामी प्रभावित भएको हैन, यसको लामो श्रृङ्खला छ । राजनीतिक हिसाबले हामीले निर्णय गरेको हो । वर्गसंर्घष, क्रान्ति हुनुपर्छ भनेर जनयुद्धमा होमियौँ । इमानदारितापूर्वक लाग्यौँ । परिवर्तनका लागि जनयुद्ध गरेका थियौँ । शान्ति प्रक्रियामा आयौँ । तर, प्रचण्ड नेतृत्वले मूल एजेण्डा छाड्दै गयो । जनमुक्ति सेनाको समायोजन र व्यवस्थापनमा मूल नेतृत्व चुक्यो । हाम्रा एजेण्डा सेलाउँदै गए । पार्टी नेतृत्व मूलत: भ्रम सिर्जना गर्ने काममा लाग्यो । राजनीतिक र वैचारिक रूपमा माओवादीसँग आज कुनै मुद्दा र एजेण्डा छैन । कोही लोभीपापी छन् भने बेग्लै कुरा, होइन भने इमानदार कार्यकर्तालाई चित्त बुझ्ने कुरा होइन यो ।

० तपाईंहरूले यस्ता कुराहरू पार्टीभित्रै चाहिँ उठाउनुभएन ?
– कुरा उठायौँ, पार्टीभित्र सङ्घर्ष गर्‍यौँ । स्थानीय तहको निर्वाचनअगाडि पनि हामीले भनेकै हौँ, तर भ्रम र आश्वासन दिएर भुलाउन खोजियो । हामी यहाँसम्म आउँदा पार्टीले अब क्रान्ति गर्दैन, गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेका हौँ । एमसीसी पास नगर्ने भनेर महाधिवेशनमा उपस्थित पाँच हजार जना प्रतिनिधिले पास गरेको कुरालाई किन लत्याइयो होला ? महाधिवेशभन्दा ठूलो प्रचण्डको आदेश हुन्छ र ? पछि उहाँले ब्याख्यात्मक टिप्पणीको बर्को लगाएर एमसीसी पास गर्नुभयो । ब्याख्यात्मक टिप्पणी गरेर हुने कुरा हो र त्यो ? त्यसपछि पनि विभिन्न घटनाक्रम देख्दा जस्तो कि नागरिकता विधेयकको सवालमा उस्तै पारा देखियो । नेकपा हुँदा उहाँले नै हैन विदेशबाट बिहे गरेर आउने बुहारीलाई नागरिकताका लागि सातवर्षे प्रावधान राख्ने प्रस्ताव गरेको ? आज किन त्यहाँबाट च्यूत भएको ? अर्को कुरा के छ भने जसरी अहिले गठबन्धन बनेको छ यो मूलत: नेपाली जनता, नेपाल र अझै पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई असर गर्ने खालको देखिन्छ । नेपालका कम्युनिष्टहरूलाई सिध्याउन विदेशीहरूले यो गठबन्धन बनाएका हुन् । कम्युनिष्ट पार्टी सिध्याउन कम्युनिष्ट भन्ने पार्टी लाग्न मिल्छ ? एमालेलाई कमजोर पारेर नेपालका कम्युनिष्टहरूको हित हुन्छ त ? एमाले कमजोर हुँदा माओवादी बलियो हुन्छ कि काङ्ग्रेस ? कम्युनिष्ट हौँ भन्ने तर काङ्ग्रेसलाई पहिलो पार्टी बनाएर राज्यसत्ता सुम्पिने काम कम्युनिष्टविरोधि मात्र नभइ जनविरोधि काम हो । यसले हाम्रो वर्गको हित गर्दैन ।

० तपाईं त हिजोको ‘सैन्य कमाण्डर’ पनि हो, हिजोका लडाकुले पाएको दु:खले तपाईंलाई उद्वेलित बनाएको हो ?
– पक्कै पनि म प्रचण्डको सुरक्षा हेर्ने व्यक्तिसमेत हुँ/थिएँ । प्रचण्डको भौतिक सुरक्षामा सैन्य फाँटबाट मैले योगदान गरेको छु । वाइसीएलहरूलाई तालिम दिने काम पनि गरेँ । म जनसैन्य प्रतिष्ठानको प्रमुख प्रशिक्षक पनि हो । उनीहरूको पीडा मैले नजिकबाट अनुभूत गरेको छु । प्रचण्ड दलाल नोकरशाहीको घेराबन्दीमा परे । नातावाद र कृपावाद हाबी भयो । युद्धकालमा हामीलाई जोगाउन जनताको ठूलो योगदान र लगानी थियो, त्यो कुरालाई समेत आज प्रचण्डले बुझेनन्, बिर्सिए । पारिवारिक सेटिङ र किचेन क्याबिनेट खडा गरियो । अन्तत: हामीजस्ता युद्ध लड्ने, ज्यान हत्केलामा लिएर हिँड्ने मान्छे नेता-कार्यकर्ता पार्टीमा बसिरहन नसक्ने अवस्थामा पुग्यौँ । राजनीतिक वैचारिक हिसाबले भन्नुहुन्छ भने माओवादी केन्द्रको विचार अस्पष्ट र दिशाहीन छ । कस्तो समाजवाद ल्याउने हो, कसले नेतृत्व गर्ने हो भन्ने दुविधा छ माओवादीजनमा । काङ्ग्रेसका पछाडि लागेर, उसले दिएको हात थापेर खाएर समाजवाद ल्याउँछ भनेर हामीले कसरी पत्याउनु ? कार्यकर्तालाई भुलभूलैयामा राख्ने, छल्ने, ढाँट्ने कामले मुलुक परिवर्तन हुन्छ र ?

० एमालेमा चाहिँ त्यस्तो के देख्नुभो र प्रवेश गर्नुभो त ?
– बरु एमालेसँग स्पष्ट दृष्टिकोण पाएँ । विकास र समृद्धिको एजेण्डा छन् । आज १५ महिना यो गठबन्धनले सरकार चलाउँदा खै कहाँ के राम्रो भयो देशमा ? सामाजिक, राजनीतिक, विकासका दृष्टिकोणबाट त एमाले स्पष्ट नै देखिन्छ । कोभिडको महामारी भरखरै संविधान जारी भएपछिको अवस्थामा पनि एमालेले विकासको छनक दिएको देखिन्छ । भूकम्पले भत्किएका संरचना उठाउन एमाले नेतृत्वको सरकारले योगदान गरेको देखिन्छ । केपी ओलीसँग भिजन छ, तर गठबन्धनसँग एमाले कसरी कमजोर पारेर सिध्याउने भन्ने कुण्ठा मात्रै छ, जुन गलत छ । देशमा दुई एमाले चाहिँदैन, एउटै एमाले नै काफी छ ।

० तपाईं पद नपाएर एमालेमा छिरेको भन्ने पनि छन् नि !
– म पद र पैंसाका पछि लाग्ने मान्छे हैन । राजनीति मेरो पेशा हैन सेवा हो । अब मलाई अनेक आरोप लगाउँछन् । गद्दार भन्लान्, आर्थिक प्रलोभनमा परेको भन्लान् । पद पाएर गएको भन्लान्, अनेक भन्छन् । तर, मलाई त्यसको परवाह छैन । हिजो माओवादीमा हुँदा पनि मैले एक रुपैयाँ चन्दा उठाएर खाएको छैन । बरु आफ्नै पुर्ख्यौली सम्पति बेचेर हिँडेको छु । सम्पति बेचेर पार्टीमा लागेको थिएँ । पद नपाएर गएको, पद खान गएको भन्ने कुरालाई म खारेज गर्न चाहन्छु । राजनीतिक हिसाबले स्पष्ट भएर एमाले भएको हुँ । काङ्ग्रेसका पछि लाग्नभन्दा एमाले ठिक छ भन्ने मेरो निष्कर्ष हो ।