अलपत्र ढोरपाटन सडक : १३ वर्षमा जम्मा १८ किमि कालोपत्र !

अलपत्र ढोरपाटन सडक : १३ वर्षमा जम्मा १८ किमि कालोपत्र !


पार लगाउने कसले ?

  • मुक्तिनाथ भुसाल

राष्ट्रिय चासोका रूपमा रहेको सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडक निर्माण कार्य अझै पनि कछुवाको गतिमा छ । यो सडकको स्तरोन्नति भन्दा पनि ठेकेदार र सीमित केही पात्रका लागि विगत १३ वर्षदेखि दुहुनो गाई बनेको छ ।

यो सडकमा विशेषगरी रोडा बिच्छ्याउने अनि पर्खालको काम गर्ने र, त्यसलाई वर्षामा बग्न दिने बाहेक अन्य ‘उपलब्धि’ यो सडकले प्राप्त गर्न सकेको छैन । पूर्व-पश्चिम राजमार्गको सालझण्डी चोकदेखि ६ वटा जिल्ला हुँदै बाग्लुङको ढोरपाटनसम्म करिव १९७ किमि लम्बाइ सडकको ट्रयाक, ग्राभेल र कालोपत्रे लगायत कार्यका लागि सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजना कार्यालय ०६६ सालदेखि कार्यरत रहेको छ ।

आर्थिक वर्ष २०६७/०६८ मा ३ करोड र २०६८/०६९ मा १० करोड ८३ लाख, ०६९/७० मा ८ करोड ८२ लाख ५० हजार, ०७०/७१ मा १६ करोड, ०७१/७२ मा कार्यालय सञ्चालन खर्च मात्रै ४७ लाख ६८ हजार सात सय पन्ध्र, ०७२/७३ मा कुल ३२ करोड ३२ लाख अठ्ठाइस हजार, ०७३/७४ मा २५ करोडसहित हालसम्म करिव तीन अर्ब रुपैयाँ यो सडकमा खर्च भइसकेको छ । दुर्भाग्य नै भन्नुपर्छ विगतको समयमा एकपटक गरिएको लगानीले यो सडकमा कहिल्यै पनि सार्थकता पाउन सकेको छैन । बनाएका ह्युमपाइप तथा जालीपर्खाल तुरुन्तै भत्कने लगायतका समस्याहरू यो सडकका लागि नौलो विषय मानिँदैन, तापनि यो सडकका बारेमा राष्ट्रिय स्तरमै चर्चा भएको सुन्न पाइन्छ । यो सडक गुणस्तरीय रूपमा छिटोछरितो सम्पन्न गर्ने भन्दा पनि सीमित पात्रहरूको दैनिकी चलाउन सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक कोसेढुङ्गा सावित बनेको भन्दा अन्यथा नमानिएला । आर्थिक वर्ष २०६७/०६८ मा ३ करोड, २०६८/०६९ मा १० करोड ८३ लाख, ०६९/७० मा ८ करोड ८२ लाख ५० हजार, ०७०/७१ मा १६ करोड बजेटमध्ये कमसल कामद्वारा सो समय बचाइएको रकमबाट एउटा जम्बो टोली नै अनुगमन भन्दै ढोरपाटन पुगेको थियो ।

पाँच हजारभन्दा बढी रकम खर्च गर्दा कम्प्युटरमा हिसाब राखेर पारदर्शी तुल्याउनुपर्ने तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले नियम बाँधेका भएपनि प्रधानमन्त्रीको मितब्ययिताको धज्जी उडाउँदै राज्यको ढुकुटीबाट ‘फुपूको श्राद्ध’ गर्न जिम्मेवारहरू नै उद्यत् देखिएका थिए । यो सडकको अनुगमन गर्ने भन्दै मिति ०७१ जेठ १८ गते आइतबार सडक विभागका तत्कालिन महानिर्देशक देवेन्द्र कार्कीको नेतृत्वमा काडमाडौंदेखि दुईवटा सरकारी र एउटा प्राइभेट गाडी प्रयोग भएका थिए । तीनमध्ये एउटामा महानिर्देशक कार्की, दोस्रोमा तत्कालिन एमाओवादीबाट विजयी सभासद् टोपबहादुर रायमाझी र तेस्रो सरकारी गाडीमा योजनाका कर्मचारीहरू सवार थिए भने प्रत्येकमा उनीहरूका हितैषीजनहरू खचाखच थिए । उक्त साँझ टोली बुटवलमा बास बसी सोमबार बिहान सन्धिखर्कको एक होटलमा भोजन गरेपछि थप दुईवटा भाडाका गाडीमा स्थानीय ‘सञ्चारकर्मी’ र राजनीतिक दलका प्रतिनिधि सवार गराइएको थियो । त्यसपछि उक्त ‘अनुगमन टोली’ सवार पाँचवटा गाडीको लस्कर बिहानको ११ बजे ढोरपाटनतर्फ प्रस्थान गरेको थियो । कच्ची तथा अप्ठ्यारो सडकमा ढुङ्गा-माटोको आड हाल्दै बल्लतल्ल जम्बोटोली रातको १२ बजे ढोरपाटन पुगेको थियो । स्थानीय ‘चिनारी गेस्टहाउस’मा टोलीका ५५ जनाले खानपिनमा मात्रै एकरातको एक लाख १२ हजार दुई सय छत्तीस रुपैयाँको बिल बनाएको चर्चाले स्थानीयहरू आश्चर्यचकित परेका थिए । त्यसको भोलिपल्ट आएको बाटोबाट फर्कन नसकिने आँकलन भएपछि मंगलबार बिहान ११ बजे महानिर्देशक कार्की र सभासद् रायमाझीसहितको टोली बुर्तिवाङबाट बाग्लुङ, पोखरातर्फ प्रस्थान गरेका थिए भने सन्धिखर्कबाट पाहुना बनाइएकाहरूलाई ‘विशेष खातिरदारी’का साथ ढोरपाटनबाट तम्घासतर्फ दौडाइएको भएपनि सडकले हालसम्म कुनै सार्थकता पाउन सकेको छैन ।

सडकको काम शुरु भएको १३ वर्ष र जम्बो टोलीले अनुगमन गरेको ८ वर्ष पूरा हुँदै गर्दा हालसम्म १८ किलोमिटर सडक कालोपत्रे गरिएको छ । रुपन्देहीको सालझण्डी चोकदेखि पाल्पाको कन्चनखोलासम्म ५ किलोमिटर, अर्घाखाँचीको फुदवाङदेखि बलेवाङसम्म नौ किलोमिटर र अर्घाखाँचीको बिहारतिर चार किलोमिटरसहित जम्मा १८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । समयमा सडकको काम हुन नसक्दा बिच्छ्याइएको ग्राभेल उप्किनुको अलावा वर्षातको भेलले कतिपय स्थानीयहरूकै उठिबास लागेको छ । कृषियोग्य तथा सरकारी सार्वजनिक जमिनको नोक्सानीका साथै सडकको सहज यात्रा गर्नबाट स्थानीयहरू वञ्चित बनेका छन् । महत्वपूर्ण कुरा त अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको चुत्रावेशी बजारमा यो सडक कहाँबाट लैजाने भन्ने कुरामा अहिलेसम्म निर्णय गरिएको छैन । प्रचारप्रसार जे-जस्तो गरिएको भएपनि यो सडकखण्डमा दुईवटा स्थानमा मात्रै ठेक्का लगाइएको योजना कार्यालयले जानकारी गराएको छ ।

यो सडकमा काम गर्ने जिम्मा लिएका ठेकेदारहरू आफैमा उदास र जिम्मा लिएको कामप्रति रुचि नदेखाउने उदाहरणहरू विगतदेखि नै महसूस गरिएको छ । तीनवर्षीय ठेक्काको अन्तिम वर्षमा आइपुग्दा पाल्पाको कन्चनदेखि खुर्सानेसम्मको सडक यसपालि कालोपत्रे सम्पन्न हुनुपर्नेमा हालसम्म २५ प्रतिशत प्रगतिसमेत प्राप्त हुन सकेको छैन ।

यसैप्रकार बाग्लुङको बुर्तिवाङदेखि फलेपतसम्म ग्राभेलको जिम्मा लिएको ठेकेदार कम्पनीको समेत प्रगति विवरण अत्यन्तै निम्छरो रहेको ढोरपाटन योजना कार्यालयले जनाएको छ । कामको जिम्मा लिएका ठेकेदार कम्पनीहरूले के कारणले यो सडकखण्डमा काम गर्दैनन् ? कतै अनावश्यक आर्थिक प्रलोभनमा र्‍याल चुहाएर ठेकेदार कम्पनीलाई समस्यामा त पारिएको त छैन ? वा, आवश्यक निर्माण सामग्री जस्तै- ढुङ्गा, बालुवा, गिटी आदिको उपलब्धतामा कठिनाइ पो छ कि ? यावत विषयको अध्ययन गरी नियतवश काम नगरिएको हो भने कारवाहीको दायरामा ल्याउन राज्यले ढिलाइ गर्नु हुँदैन । यो सडक योजनाले हालसम्म करिव एक दर्जन प्रमुखहरू प्राप्त गरेको भए पनि केही स्मरणीय कार्यहरूको शुरुवात जयलाल मरासिनीको कार्यकालमा अनुभूत गरिएको थियो ।

यो सडकखण्डको सफलताका लागि राज्य, नागरिक, ठेकेदार र जनप्रतिनिधिबीच एकता हुनु आवश्यक देखिए पनि यस्तो माहोल हालसम्म देखिएको छैन । जसका कारण सडक समयभित्र सम्पन्न हुने र प्रभावित सडकका स्थानीय लाभान्वित हुने कुरामा अझै दुई-चार दशक नै कुर्नुपर्ने जस्तो देखिन्छ । सडकको मापदण्डबारे स्पष्ट जानकारी नागरिकलाई गराउँदै उठीबास हुन सक्ने स्थानीयका लागि व्यवस्थापन गर्ने कार्यमा राज्यले उपेक्षा र ढिलाइ गरेको छ । कतिपय स्थानमा सात मिटर त कतिपय स्थानमा २५ मिटर चौडाइमा सडक बिस्तार गरेको देख्दा भविष्यमा समस्या जटिल बन्न सक्ने खतरा पनि उत्तिकै रहेको छ । विकासका लागि विनास अपरिहार्य मानिए पनि सडकको मापदण्ड कुन स्थानमा कति राख्ने भन्ने विषयमा विवादित स्थानका जनप्रतिनिधिले स्थानीयको नेतृत्व गरी आपसी सहमतिका साथ मन्त्रिपरिषद्बाट पास गराउने हो भने समस्या समाधान हुन सक्छ । उदाहरणका लागि स्याङ्जा जिल्लाको पुतलीबजारलाई लिन सकिन्छ । सडकको मापदण्ड ५० मिटरलाई त्यहाँका स्थानीय र जनप्रतिनिधिले १२ मिटरमा सीमित गरेका बुझिएको छ ।

अग्ला-अग्ला पहाड, समथर मिलेका खेत अनि नजिकै देखिने हिमालका अलावा सिकार आरक्ष ढोरपाटनका आकर्षक गहना हुन् । सामुद्रिक सतहदेखि आठ हजार पाँचसय फिट उचाइमा रहेको ढोरपाटन सिकार आरक्ष १३२५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । जसमध्ये ६० प्रतिशत भू-भाग स्कुममा, १४ प्रतिशत भू-भाग, म्याग्दीमा अनि २६ प्रतिशत भू-भाग बाग्लुङ जिल्लामा पर्दछ र तीनवटै जिल्लाको करिव दुई हजार मिटरदेखि सात हजार २६४ मिटरसम्मको उचाइमा आरक्ष रहेको छ । आरक्षको वन क्षेत्र चिर कालिजको बासस्थानको रूपमा प्रसिद्ध रहेको छ भने डाँफे र हाब्रेको सङ्ख्या अन्यत्रभन्दा यहाँ बढी रहेको अनुमान गरिएको छ । मैकोटको खर्क नेपालमै उत्कृष्ट यार्सागुम्बा उत्पादन हुने क्षेत्र र गुर्जाखानी क्षेत्र भीरमौरी मह उत्पादनका लागि प्रसिद्ध मानिन्छ ।

आरक्षको करिव २६.३८ वर्ग कि.मी. अर्थात् २ प्रतिशत भू-भागमा कृषि एवम् बसोवास क्षेत्र रहेका छन् । ढोरपाटन तथा आसपासको क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले समेत उत्तिकै महत्वपूर्ण मानिन्छ । उत्तरगङ्गा, रुद्रताल, मैकुट अनि सुनदह त्यहाँका प्रसिद्ध धार्मिक स्थल हुन् । नेपाल सरकारले ढोरपाटन क्षेत्रलाई पर्यटकीय गन्तव्य स्थलहरूको सूचीमा सूचीकृत गरिसकेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयबाट अगाडि एयरपोर्ट, दाहिनेतर्फ प्रहरी चौकी र बायाँतर्फ तिब्बती शरणार्थी बसोबास गर्दै आएका छन् । रूपन्देहीको सालझण्डी चोकदेखि ढोरपाटनसम्म एकै सवारीमा स्वदेशी तथा विदेशी पाहुनालाई उक्त क्षेत्रमा भित्र्याउने उद्देश्यका साथ १३ वर्ष अघिदेखि कामको शुरुवात गरी योजना आयोगको रेडबुकमा समेटिएको भएपनि यस योजनाले अपेक्षित गति लिन नसक्नु विडम्बनाको विषय हो ।