मिटरब्याजले सर्वसाधारणको उठीबास, सरकार चुपचाप !

मिटरब्याजले सर्वसाधारणको उठीबास, सरकार चुपचाप !


सर्वसाधारणहरू आफ्नो पैसा वित्तिय संस्थामा लगेर सुरक्षित राखेका छौँ भन्छन् तर उता वित्तिय संस्थाहरू भने त्यो रकम महँगो ब्याजमा लगानी गरी नाफा कमाइरहेका छन् । पछिल्लो समय धेरै सहकारीहरू डुब्नुको कारण पनि यही नै हो । सहकारीका सञ्चालक वा अध्यक्षहरूले मिटरब्याजमा रकम लगानी गरे तथा ऋणीले महँगो ब्याजका कारण ऋण नतिरेपछि वा भागेपछि उनीहरू पनि भाग्नुपर्ने दिन आयो ।

रुषा थापा

अहिले बजारमा मिटरब्याजमा पैसा लगानी गर्ने र लिने मानिसहरू यत्तिकै भेटिन्छन् । एक लाख रकमको महिनाको पाँच हजारदेखि ३० हजारसम्म ब्याज लिने हरूको संख्या हवात्तै बढेको छ । यसरी यत्रो महँगो ब्याजमा ऋण लिनेले तिर्न नसकेपछि कि त आफ्नो जयाजेथा गुमाउँछन् कि त अपराध या आत्महत्यातर्फ धकेलिन्छन् ।

वित्तिय संस्थाले ऋण नदिएपछि सर्वसाधारणहरू मिटरब्याजमा ऋण लिन बाध्य भएका छन् । तर यसरी रकम लगानी गर्नेमा पनि सरकारी कर्मचारी, व्यापारी वा वित्तिय संस्थाकै कर्मचारी रहेका छन् । यिनी हरूले ऋण माग्नेबित्तिकै रकम दिन्छन् तर तिर्छु भनेको मितिमा रकम नतिरे गुण्डा लगाएर दु:ख दिन शुरु गर्छन् ।

यिनी हरूले गुण्डादेखि प्रहरीसम्मलाई नै हातमा लिएका हुन्छन् । मिटरब्याजीहरूले पनि प्राय: ठुला व्यापारी वा राजनीतिक दल हरूको रकम चलाउँछन् । त्यस्तै, एक करोड मूल्य बराबरको घरजग्गा भएमा ३५ देखि ४० लाख महँगो ब्याजमा दिन्छन् र केही महिनाको समयावधि दिन्छन् । अनि उक्त अवधिभित्र त्यो ऋण नतिरे एक करोडको सम्पत्ति ३० देखि ४० लाखमै खाइदिन्छन् ।

मिटरब्याजमा रकम लगानी गर्नेमा टोली गुण्डादेखि व्यापारीसम्मै रहेका छन् । त्यसैले, अब महँगो ब्याजका कारण धेरै सर्वसाधारणको उठीबास हुन्छ त धेरै मानिसहरू भाग्नुपर्ने वा आत्महत्या गर्नुपर्ने स्थितिमा पुग्छन् । पछिल्लो समय देशमा जति पनि आत्महत्याको संख्या बढेको छ त्यसको कारण पनि मिटरब्याज नै हो ।

प्रत्येक दिन मिटरब्याजी हरूको बिगबिगी बढिरहेको छ तर प्रहरी प्रशासनहरू भने यस्तामाथि न अनुगमन गर्छ न कारबाही नै । कति ठाउँमा त सुनिन्छ, प्रहरीकै हाकिम वा कर्मचारीले पनि यसरी मिटरब्याजमा रकम लगानी गरिरहेका छन् ।

व्यक्ति हरूले यसरी मिटरब्याजमा पैसा लगानी गर्दा अहिले देशको अर्थतन्त्रमा संकट आयो त सर्वसाधारणको उठीबास भयो । व्यापारी वा समस्या परेका मानिस हरूले यसरी मिटरब्याजमा पैसा लिन्छन् तर तिर्न नसकेपछि आफूसँग भएको जेथो पनि गुमाउँछन् र ज्यान पनि गुमाउँछन् ।

मिटरब्याजकै कारण पछिल्लो समय धेरै जनता हरूको घरमा रुवावासी भइरहेको छ त मानिसहरू सुकुम्बासी हुने अवस्थामा पुगेका छन् । अहिले पैसा कमाउन सबैभन्दा सजिलो काम नै मिटरब्याजमा पैसा लगानी गर्ने भएकाले यस काममा युवादेखि वृद्धसम्म नै संलग्न रहेका छन् ।

कानुनअनुसार लगानी गरेको ऋणको १० प्रतिशतभन्दा बढी ब्याज लिन पाइँदैन तर यहाँ त एक लाख रकमको महिनाकै ३० हजार ब्याज लिइएको छ । अब यो कति प्रतिशत पर्‍यो, आफैँ हिसाब गर्नुस् । यता सर्वसाधारणहरूले सहकारीमा जम्मा गरेको रकम लिन गएमा ‘पैसा छैन’ भन्दै फर्काइन्छ तर सहकारीकै अध्यक्ष र सञ्चालकहरू भने यसरी मिटरब्याजमा रकम लगानी गरिरहेका हुन्छन् । पैसा जनताको हुन्छ, तर नाफा खाने समयमा यिनीहरू खान्छन् ।

बैंकमा पनि यस्तै नै भइरहेको छ । जनता पैसा राख्छन् तर त्यो पैसा महँगो ब्याजमा लगानी गरी नाफा कमाइन्छ । पछिल्लो समय यसरी महँगो ब्याजमा रकम लगानी गरेर जनता ठग्नेमा प्रायजसो वित्तिय संस्थाकै अध्यक्ष, सञ्चालक वा कर्मचारीहरू रहेका हुन्छन् । सर्वसाधारणहरू आफ्नो पैसा वित्तिय संस्थामा लगेर सुरक्षित राखेका छौँ भन्छन् तर उता वित्तिय संस्थाहरू भने त्यो रकम महँगो ब्याजमा लगानी गरी नाफा कमाइरहेका छन् । पछिल्लो समय धेरै सहकारीहरू डुब्नुको कारण पनि यही नै हो । सहकारीका सञ्चालक वा अध्यक्षहरूले मिटरब्याजमा रकम लगानी गरे तथा ऋणीले महँगो ब्याजका कारण ऋण नतिरेपछि वा भागेपछि उनीहरू पनि भाग्नुपर्ने दिन आयो ।

झन् कति सहकारीहरूले त आनाको ४० लाख मूल्य पर्ने जग्गालाई घुस, सेवाशुल्क वा बढी ब्याज खानका लागि जति रकमको धितो थियो त्यत्ति नै रकम पनि दिए । यता कति वित्तिय संस्थाहरूले आँखा चिम्ली घरजग्गा, गाडी र सेयरमा धमाधम लगानी गरे । तर अहिले ती क्षेत्रमा मन्दी आइपछि यिनीहरू पनि डुबे ।

दुई वर्षअघिसम्म ठाउँअनुसार आनाको ६० देखि ९० लाख पर्ने जग्गा अहिले किनेको मूल्यको आधा मूल्यमा बेच्छु भन्दापनि कोही भेटिँदैन । त्यस्तै, दुई वर्षअघिसम्म चार हजार रुपैयाँ प्रतिकित्तामा किनेको सेयर अहिले सय रुपैँयामा बिक्री हुँदैन भने २० लाखमा किनेको गाडी लाखमै बिक्री हुँदैन । यी क्षेत्रमा नाफा हुन्छ भनी लगानी गर्नेहरू त चुलुम्मै डुबि नै हाले ।

यता, आफूसँग भएको पैसाले घरजग्गा, गाडी र सेयर किन्नेलाई त त्यत्ति असर परेन भने ऋण लिएर लगानी गर्नेलाई मर्नु कि बाँच्नु भइरहेको छ । बजारमा अहिले घरजग्गा, गाडी र सेयर बेच्नेहरू यत्तिकै छन् तर किन्ने कोही छैन ।

वित्तिय संस्थाहरू एक लाख कर्जा प्रवाह गर्छन् अनि १० लाख मूल्य बराबरको बस्तु खाइदिन्छन् । मिटरब्याजी बजारमा यसरी मौलाउँदा वा सर्वसाधारणको उठीबास हुँदा सरकार किन मौन बस्छ ? अहिले वित्तिय संस्था वा व्यक्तिबाट मिटरब्याजमा ऋण लिनेहरू कति त भागे त कति सम्पर्कविहीन भए । यिनीहरू बाँचि नै रहेका छन् कि मरिसके भनेर पनि आफन्तजनलाई थाहा छैन ।

अहिले बजारमा ५० वर्षअघिको मूल्यमा घरजग्गाको मूल्य आयो भनेर कति मानिसहरू कुरा गर्छन् त जो व्यक्ति वा वित्तिय संस्थाले यी वस्तुहरू धितो राखेर ऋण प्रवाह गरे तिनीहरूलाई अहिले यो राख्नु कि टोक्नु भइरहेको छ ।

वित्तिय संस्थामा यी बस्तुहरू धितो राखेर ऋण लिएकाहरूले अहिले हामी ऋण तिर्न सक्दैनौँ धितो लिलाम गर्नुस् भनेर भनिसकेका छन् । वित्तिय संस्थाहरूले पनि दिन–प्रतिदिन रकम तिर्ने सूचना भन्दै ऋणीको फोटो पत्रपत्रिकामा निकाल्दा र कालोसूचीमा राख्दा पैसा फिर्ता आउँदैन । वित्तिय संस्थाबाट लिएको ऋणको ब्याज र साँवा दिन–प्रतिदिन बढिरहेको छ तर यता घरजग्गा, गाडी र सेयरको मूल्य घटिरहेको छ ।

कति बैंकहरू टाट पल्टिसके त कति सहकारीहरू डुबेर भागिसके । अहिले सहकारी र बैंक डुबेको वा भागेको कुरा जनताको कानमा पुगेपछि सर्वसाधारणले पनि पैसा राख्न छोडे । त्यसैले, अहिले वित्तिय संस्थामा पैसा निकाल्नेको लर्को लागेको छ त राख्ने कोही छैन । हिजो सरकारले ठाउँअनुसार आनाको एक लाखदेखि ६६ लाख ५० हजारसम्म जग्गाको मूल्य निर्धारण गर्दा मूल्य बढाएर त्यही जग्गा करोडसम्म पुप्याउने पनि बिचौलिया नै हुन् ।

तर अहिले त यी दलालीहरूको पनि त भगाभाग नै भयो । यता बैंकले सय रुपैँया कित्तामा निष्कासन गरेको सेयर हजारदेखि चार हजारमा बिक्री गराउने पनि यिनै हुन् । यसैगरी, पाँच रुपैँया किलोमा बिक्री नहुने फलामलाई गाडी बनाएर लाखौँ रुपैँयामा बिक्री गराउने पनि यिनै हुन् ।

साथै वित्तिय संस्थाहरूले पनि पछिल्लो समय यिनै क्षेत्रमा भरिपूर्ण लगानी गरे । त्यसैले, यिनीहरू पनि डुबे । हिजो नाफा हुन्छ भनेर आफूसँग भएको र ऋण लिएर समेत यी क्षेत्रमा लगानी गरे तर अहिले यिनीहरूकै हाल बेहाल भयो । त्यसैले पनि अहिले सर्वसाधारणहरू बाध्यताका कारण मिटरब्याजमा रकम चलाउन पुगे । अहिले घरजग्गा, गाडी र सेयरलाई कुनै वित्तिय संस्थाले ऋण दिँदैन ।

यता वित्तिय संस्थामा कर्जा माग्न गएमा रकम छैन भनेर फिर्ता पठाइन्छ जसले गर्दा समस्या परेका मानिसहरू मिटरब्याजीकहाँ पुग्छन् । वित्तिय संस्थाहरूले कर्जा प्रवाह नगर्दा यसको फाइदा मिटरब्याजीहरूले उठाइरहेका छन् । बैंकमा आफूले राखेको रकम निकाल्न गएमा एक लाखको चेक साटिँदैन त सहकारीमा त पाँच हजार समेत दिइँदैन ।

तर भनेजति ब्याज र धितो पास गरिदिन्छु भन्नेबित्तिकै मिटरब्याजीहरूले लाखदेखि करोडसम्मै आधा घण्टामै दिन्छन् । यसबाट त स्पष्ट थाहा पाइन्छ, अहिले वित्तिय संस्थासँग रकम नभइ व्यक्तिहरूसँग पैसा रहेको छ । कति वित्तिय संस्थाका अध्यक्ष, सञ्चालक तथा कर्मचारीहरू त आफू पर्दाभित्र बसेर मिटरब्याजमा पैसा लगानी गरिरहेका छन् ।

आज वित्तिय संस्थाकै कर्मचारीहरूले यसरी मिटरब्याजमा रकम लगानी गरेको देख्दा वा सुन्दा अचम्म लाग्छ । सर्वसाधारणहरूले पनि यो कुरा थाहा पाएपछि उनीहरूले आफ्नो पैसा वित्तिय संस्थामा राख्न छोडेका हुन् । वित्तिय संस्थाका कर्मचारीहरूले आफ्नो व्यक्तिगत फाइदाका लागि काम गर्दा आज वित्तिय संस्था पनि टाट पल्टेको हो ।

वित्तिय संस्थालाई नाफा हुँदा त्यँहाको नाफा सेयरधनीलाई बाँड्नुपर्छ, त्यसैले पनि उनीहरू संस्थाको नाफाका लागिभन्दा पनि व्यक्तिगत नाफाका लागि काम गर्नतिर लागे । वित्तिय संस्थाकै कर्मचारीहरू यसरी मिटरब्याजमा रकम लगानी गर्छन् भनेर सर्वसाधारणले सुन्दा उनीहरूको वित्तिय संस्थामाथिबाट विश्वास गुमेको छ ।

वित्तिय संस्थाहरू एक लाख कर्जा प्रवाह गर्छन् अनि १० लाख मूल्य बराबरको बस्तु खाइदिन्छन् । मिटरब्याजी बजारमा यसरी मौलाउँदा वा सर्वसाधारणको उठीबास हुँदा सरकार किन मौन बस्छ ? अहिले वित्तिय संस्था वा व्यक्तिबाट मिटरब्याजमा ऋण लिनेहरू कति त भागे त कति सम्पर्कविहीन भए । यिनीहरू बाँचि नै रहेका छन् कि मरिसके भनेर पनि आफन्तजनलाई थाहा छैन ।

बुढापाकाले भन्थे, चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी । त्यस्तै, मिटरब्याजमा पैसा लिँदा आफ्नो घरखेत पनि सिद्धियो, साथीभाइबाट पनि टाढिनुपर्‍यो र मर्नुपर्ने अवस्था पनि निम्तियो । बुढापाकाले भन्थे, रुखमुनिको बाली कहिले फल्दैन र ऋण लिने मानिस कहिले उँभो लाग्दैन । अहिले यो प्रमाणित नै भएको छ । करोडौँ जनताको अहिले यही दूरावस्था भएको छ ।