यस्तो छ आजको मौसम : हल्का हिमपातको सम्भावना

यस्तो छ आजको मौसम : हल्का हिमपातको सम्भावना


देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश एक, बागमती र गण्डकी प्रदेशकै पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

राति प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि पूर्ण बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.६ डिग्री र अधिकतम तापक्रम १८.७ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २४.८ डिग्री सेल्सियस रहेको छ ।