‘इम्बोष्ड आवरणको पासो रद्द हुनु अनिवार्य’

‘इम्बोष्ड आवरणको पासो रद्द हुनु अनिवार्य’


संयुक्त राष्ट्रसंघको बडापत्र, मौजुदा नेपालको संविधान २०७२ को प्रावधानविपरित हुने भाषामारा, गोपनियताको संवैधानिक हक घाती एवं नैसर्गीक भाषिक अधिकार समाप्त पार्ने विषाक्त योजनामा जोरजबर्जस्ती लादिएको ‘इम्बोष्ड आवरणको पासो रद्द र बन्द गर्न आम नागरिक प्रबुद्ध व्यक्तिहरूले नेपाल सरकारसँग माग गरेका छन् ।

देवनागरी लिपि चौसट्ठी वर्णाक्षर अंकहरू बचाऊँ अभियान, ज्ञान भैरव क्लब, नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान, ज्ञान भैरव महिला समाज, खोजी सत्य र न्यायको र निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान नेपालको संयुक्त समायोजनामा सम्पन्न भएको कार्यक्रममा इतिहास एवम् राजनीतिका ज्ञाता वरिष्ठ पत्रकार प्रेम कैदी, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, चूडामणि देवकोटा, डा. ज्योति सुब्बा राई, दीपक सिंह महर्जन, इ. भगवान राउत, डा. चन्द्रमणि खनाल, चन्द्रप्रसाद भट्टराई, अधिवक्ता वसन्त नलामी आदि वक्ताले असंवैधानिक भाषाघाती ‘इम्बोष्ड आवरणको पासो’ नेपाल र आम जिम्दा नेपालीहरूका लागि आत्मघाती भएकाले नेपाल सरकारले यथाशीघ्र बन्द र रद्द गरेर नेपालमा सञ्चालित भएका र हुने सम्पूर्ण सवारीका साधनहरूमा नेपाली भाषाकै अक्षर र अंकहरू यथावत कायम गर्न माग गर्नुभएको छ । ज्ञान भैरव क्लबका अध्यक्ष वसन्त कुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सभाध्यक्षको रूपमा मन्तव्य दिँदै राईले सबै नेपाली नागरिकहरूले नबुझ्ने नम्बर प्लेट बन्द हुनैपर्ने राय राख्नुभएको थियो ।

अहोरात्र गत १५ वर्षदेखि ‘देवनागरी लिपि चौंसट्ठी वर्नाक्षर र अंकहरू बचाऊँ’ अभियानमा प्रतिबद्ध रहँदै आउनुभएका कवि/अधिवक्ता रामेश्वर राउत मातृदासको संयोजकत्वमा सम्पन्न उक्त समारोहका वक्ताहरूले निजामति कर्मचारीहरू भनेका स्थायी सरकार भएकाले आफ्नै भाषाको अस्तित्व र महत्तत्वलाई समाप्त पार्ने अत्याचार र अन्यायीहरूका बारेमा उनीहरू समेत मुखर हुनुपर्ने बताउनुभएको थियो । ‘इम्बोष्ड आवरणको पासो’लाई हटाएर हाम्रा सवारीका साधनहरूमा हाम्रै भाषाको लिपि, अक्षरहरू र अंकहरू यथावत कायम गराउन सम्पूर्ण जिम्दा नेपालीहरू बिम्झनु अनिवार्य भएको तथ्यगत जानकारी अवगत गरिएको थियो ।