जहाँ लोपोन्मुख गिद्धको बासस्थान छ…

जहाँ लोपोन्मुख गिद्धको बासस्थान छ…



– मुक्तिनाथ भुसाल

धार्मिक र पर्यटकीय सम्भावना बोकेको अर्घाखाँचीको मालारानी मन्दिर अपेक्षानुरुप चर्चामा आउन सकेको छैन ।

जिल्लाको मालारानी गाउँपालिकामा अवस्थित यस मन्दिरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लुलगायतका हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ ।

बाइसे–चौबिसे राज्यको पालामा माला नाम गरेकी रानी यहाँ बसोबास गरेकी कारण उनैको नामबाट मालारानी नामाकरण गरिएको किम्वदन्तीमा उल्लेख छ । सो समय चर्न आएको गाईले यस स्थानमा रहेको एउटा ढुङ्गामाथि दुध चढाउने गरेका कारण उक्त शिलाको सम्मानसहित मन्दिर निर्माण गरिएको भएपनि यसको आधुनिकीकरण र व्यवस्थित गर्ने कार्य संस्थापकद्वय स्व. सुवेदार जितमान राना काउछा मगर र स्व. सुवेदार चन्द्रलाल राना काउछा मगरले गर्नुभएको थियो । जसअनुसार चैतेअष्ठमी र महानवमीका दिन पहिलो बली काउछा परिवारले चढाउने प्रचलन हालसम्म कायम छ । मन्दिरभित्र कालीका देवी, सिद्ध, गणेश, हनुमान, हवनकुन्ड, शिवलिङ्गलगायतका मुर्तिहरू रहेका छन् ।

केही वर्षअगाडिसम्म डाँफेसमेत आउने गरेको यो स्थानमा रातो टाउको अनि चन्द्रमा आकारको सर्प बेलाबखतमा आउने र मन्दिरमा आएका भक्तजनहरूसँग केही समय खेली त्यहाँबाट हराउने गरेको स्थानीय राजु रानाको कथन छ । जम्मा ५ रोपनी जमिन रहेको यो मन्दिरको संरक्षणका लागि काउछा परिवारको हजुरबुबाले संस्थापक संरक्षण गरेको र बुबाहरूले पनि मन्दिर संरक्षणमा उच्च योगदान पुर्‍याउनुको साथै बीस भाइ नातिहरूले करिव दश लाख लागतमा मन्दिर प्रवेशद्वार हालचालै निर्माण सम्पन्न गरी उद्घाटनसमेत गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रेमबहादुर रानाले बताउनुभएको छ ।

मालारानी मन्दिरदेखि पाँच मिनट पैदलयात्रामा पुग्न सकिने मनोचिन्ते पानी एउटा अनुसन्धानको विषय रहेको छ । एउटा तेर्सिएको गुराँसको फेदमा परापूर्वकालदेखि रहेको पानी कहिल्यै पनि घट्ने र बढ्ने गर्दैन । पानी भएको रूखदेखि तलपट्टि सुक्खा रहनुका साथै कहाँबाट पानी आएको छ र कहाँ गइरहेको छ भन्ने कुरा स्थानियले पत्ता लगाउन सकेका छैनन् । वि.सं. १९६५ मा यही पानीको प्रयोगबाट मालारानी मन्दिर निर्माण गरिएको स्थानीय खिमबहादुर रानाको भनाइ रहेको छ ।

घरमा पशुबाट फलिफाप नभएमा यो मन्दिरलाई सम्झने वा पशुका दाम्ला चढाउने गरेमा घरको गोठ भरिभराउ हुनुका साथै मनोचिन्ते पानीलाई यो मन्दिरमा चढाएँ मनोआकाङ्क्षा पूरा हुने विश्वास बढेसँगै पछिल्लो समयमा भक्तजनहरूको भिड लाग्ने गरेको उजेला रानाले बताउनुभयो ।

चारैतर्फ हरियाली, अत्यन्तै चिसो एवम् स्वच्छ हावायुक्त यस स्थाननजिकै रहेको घेराको भीरमा गिद्धहरूको बासस्थान रहनुका साथै हर्रोबर्रो, चिराइतो, सठुवा जस्ता महत्वपूर्ण जडिबुटीहरू यहाँको जङ्गलमा पाउन सकिन्छ । मालारानीको महत्वलाई बुझ्न र बुझाउनेतर्फ सम्बन्धित सरोकारपक्षले ध्यान पुर्‍याउने हो भने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि यो क्षेत्र कोसेढुङ्गा सावित हुन गइ आन्तरिक आम्दानी पनि वृद्धि हुने देखिन्छ ।