नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी जेठको दोस्रो साता हुने

नेपाल ट्रेड युनियन कांग्रेसको महाधिवेशन आगामी जेठको दोस्रो साता हुने


नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी) महासङ्घको महाधिवेशन आगामी जेठ दोस्रो साता हुने भएको छ । महासङ्घको कार्यसमिति बैठकले २०८० जेठ १२ देखि १४ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको हो ।

महाधिवेशनका लागि महासङ्घका राष्ट्रिय अध्यक्ष पुष्कर आचार्यको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । सो समितिको सदस्यमा महासङ्घमा आबद्ध सबै पेशागत ट्रेड युनियन (सङ्घ) साथै महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्ष रहेको महासचिव योगेन्द्र कुँवरले जानकारी दिएका छन् । अहिले महासङ्घअन्तर्गत २७ वटा पेशागत सङ्गठन आबद्ध छन् ।

गत मंगल र बुधबार बसेको बैठकले महाधिवेशनको तयारीका लागि कार्ययोजनासमेत बनाएको छ । सोअनुसार फागुन मसान्तसम्म आबद्ध सबै ट्रेड युनियनका सदस्यता निर्धारण गर्ने र चैत मसान्तभित्र सङ्घको अधिवेशन गरिसक्ने योजना बनाइएको छ ।

त्यस्तै जिल्ला अधिवेशन वैशाख ९ गते र प्रदेश अधिवेशन वैशाख १८ गते गरिनेछ । यो कार्यमा सहजीकरणका लागि केन्द्रीय प्रतिनिधि पठाउने निर्णयसमेत गरिएको छ ।

यसअघि महासङ्घले फागुन अन्तिम साताका लागि महाधिवेशनको मिति तय गरेको थियो । तर, स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलगायतका कारणले तयारी पूरा नभएकाले महाधिवेशन सार्नुपरेको महासचिव कुँवरको भनाइ छ ।

बैठकले सरकारको निर्णयअनुरूप आगामी वैशाखदेखि अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी गराउन स्थानीयस्तरमा श्रमिकको पञ्जीकरण गर्ने तथा उनीहरूका समस्या सम्बोधन गर्न श्रम सल्लाहकार समिति गठन गराउन पहल गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले अनुशासनहीन काम गरेको भन्दै महासङ्घका दुई जना राष्ट्रिय सल्लाहकार रिता खनाल र कल्पना अधिकारीलाई पदमुक्त गर्ने तथा अनौपचारिक क्षेत्रकी उपाध्यक्ष आशा सिंह राठौरलाई निलम्बन गर्दै थप कारबाहीका लागि अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।