केपीद्वारा माधव अस्वीकार !

केपीद्वारा माधव अस्वीकार !


वाम गठबन्धनलाई बलियो बनाउँदै सरकारलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने प्रधानमन्त्री प्रचण्डको चाहनामा केपी शर्मा ओलीको सोचले अवरोध पैदा गरेको जानकारी प्राप्त भएको छ । नेकपा कालदेखि नै सहयात्रा गर्दै आएका माधवकुमार नेपाललाई छोडेर अगाडि जाने मानसिकता प्रचण्डले अहिलेसम्म बनाएका छैनन् । उनले नेपाल समूहलाई समेत सरकारमा सामेल गर्ने इच्छा केपीसमक्ष धेरै दिनअघिदेखि नै राख्दै आएका थिए । तर केपी माधवको नाम सुन्न पनि तयार भएनन् ।

माधव स्वयम् केपीसँगको मनमुटाव शिथिल तुल्याउने मानसिकतामा भएकोले उनले प्रचण्डलाई केपीसँग मिलाइदिन आग्रह पनि गरेका थिए । तर, प्रचण्डको पटक-पटकको आग्रहलाई केपीले बेवास्ता गरे । केहीअघि कुनै एउटा उच्चस्तरीय बैठकमा माधव नेपालले अलिक कडा लवजमा ‘कुनै हालतमा केपीलाई लिनुहुन्न, केपीबाहेकको गठबन्धन हुनुपर्छ’ भनी भनेका थिए । त्यसबेला प्रचण्डले माधवको भनाइ जस्ताको त्यस्तै सुनाइदिएका रहेछन् । अहिले माधवको उक्त भनाइ प्रचण्डलाई स्मरण गराउँदै केपीले ‘माधवलाई सत्ता गठबन्धनमा कुनै हालतमा सामेल नगर्ने’ अड्डी लिँदै आएका हुन् ।

केपीले स्वतन्त्र र राप्रपालाई आफ्नो मुट्ठीमा लिएका छन् र प्रचण्डलाई कजाएर खाने कार्यनीतिक योजनाका साथ अघि बढ्ने योजना बनाएको बुझिन्छ ! प्रचण्ड र केपीबीच कसले कसलाई बढी उपयोग/प्रयोग गर्न सकिन्छ भन्ने अघोषित प्रतिष्पर्धाको स्थिति छ । प्रचण्डमाथि विश्वास नभएकै कारण केपीले मुख्यमन्त्रीहरूको चयन विश्वासको मत लिनुअगावै गर्न दबाब दिएका थिए । रात रहे अग्राख पलाउँछ भन्ने हेक्का भएकोले नै उनले सभामुखको निर्वाचन पनि चाँडै गर्न दबाब पैदा गरेका थिए । काङ्ग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएपछि केपी प्रचण्डप्रति झन् सशङ्कित भएका छन् । मन्त्रिमण्डलमा माधवको समूहलाई स्पेस दिँदा आफूलाई रक्षात्मक अवस्थामा पुऱ्याइने चिन्ता केपीमा देखिएको छ । तर माधव नेपालको समूह र जसपालाई कुनै हालतमा नछोड्ने अठोट प्रचण्डले गरेका छन् ।