एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराउँदै, कांग्रेसले पनि उम्मेदवारी दिने

एमालेका देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराउँदै, कांग्रेसले पनि उम्मेदवारी दिने


प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउन नेकपा एमालेका देवराज घिमिरे संसद भवन पुगेका छन् । भोलि हुने सभामुख चयनको निर्वाचनमा एमालेबाट घिमिरेले उम्मेदवारी दर्ता गर्न लागेका हुन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।

घिमिरेको प्रस्तावकमा एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रहेका छन् ।

सभामुखमा कांग्रेसले पनि उम्मेदवारी दिने

प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ । सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकले सभामुख पदमा अन्य दलसँग पनि सल्लाह गरेर उम्मेद्वारी दिने निर्णय गरेको हो ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेका अनुसार यससम्बन्धी औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दल कार्यसमितिका पदेन सदस्यहरुको बैठक बुधबार दिउँसो दलको कार्यालय सिंहदरबारमा बस्नेछ । दल कार्यसमितिको निर्वाचन नभएकाले दलका नेता, महामन्त्रीद्वय र दलका प्रमुख सचेतकको बैठकले निर्णय गर्न लागेको हो ।

कांग्रेस पदाधिकारी बैठकअघि सभापति देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग आफ्नै निवास धुम्बाराहीमै भेट गरेका थिए ।