राज्यबाट दिइने तक्मा काटेर अपमानित गरिएकी इन्दिरा राना मगर अचानक उपसभामुख बनेकी छन् । इन्दिराको समाजसेवाप्रतिको प्रतिबद्धता र लगातारको सेवाभावको मूल्याङ्कन राज्यबाट हुनुपर्छ भन्ने मान्यताले झापा जिल्लाबाट तात्कालिन प्रमुख जिल्ला अधिकारीले २०७७ सालमा तक्माका लागि गृहमन्त्रालयमा सिफारिश गरेका थिए । झापामा पनि उनले विभिन्न स्वयमसेवी कामहरू गर्दै आएकीले उनको कामको सम्मान गर्दै उक्त सिफारिश गरिएको थियो । तर गृहमन्त्रालयमा पुगेपछि अन्तिम अवस्थामा उनको नाम काटिएको थियो ।
जेलमा जन्मिएका बालबालिकालाई वर्षौंदेखि लालनपालन गर्दै आएकी समाजसेवी इन्दिरा रानामगर मुलुकमा लकडाउन भएयता टुँडिखेललगायतका स्थानमा गरिव/दुःखीलाई खाना खुवाउन तल्लिन थिइन् । लकडाउनअघि असहाय बालबालिकाको सेवामा ब्यस्त उनलाई कोभिड-१९ ले थप जिम्मेवारी ल्याइदियो खान नपाएकालाई खाना खुवाउने । ‘जिम्मेवारी भनेको महसूस गर्ने कुरा रहेछ’, इन्दिरालाई लाग्यो- ‘अप्ठ्यारो स्थितिमा यति पनि गरिनँ भने म जीवित हुनुको के अर्थ रह्यो ?’
इन्दिरा आफैमा सम्पन्न मान्छे होइनन् । तर आफूजस्तै मन भएकाहरूबाट जुटाएर उनले दिनको ३० देखि ३५ हजारको खाना खुवाउँदै आएकी थिइन् । खाना उनी आफै पकाउँथिन् । सेल्टरमा रहेका बालबालिकालाई पनि उनी आफै पकाएर खुवाउँथिन् । सबै बच्चाहरूले उनलाई आमा भन्छन् । यात्रा गर्दा पनि प्रायः बच्चाहरू बोकेरै हिँड्थिन् ।
जेलमा जन्मिएका र परिस्थितिवश आमासँग जेलमा बस्न बाध्य भएका बच्चाहरूको लालनपालन गरेको प्रत्यक्ष देखेका मात्र होइन उनले गरेको कामले राज्यलाई सहयोग गरिरहेको महसूस गरेका केन्द्रीय कारागारका जेलरले पनि उनलाई तक्माका लागि सिफारिश गरेका थिए । तर पदक पाउने सूचीमा उनको नाम आएन । समाजसेवीका नाममा वर्षैपिच्छे विभिन्न मानिसहरूको नाममा पदक वितरण गर्ने गरिए पनि आफ्नो सम्पूर्ण समय सेवामा खर्चिएकी इन्दिराले नपाउँदा सिफारिश गर्नेहरू मात्र होइन उनको काम देख्नेहरू पनि छक्क परेका थिए । कोभिडमा धेरै काम गरेकाले २०७७ सालको पदक पाउने समाजसेवीको लहरको सुरुवातमै उनको नाम आउने अपेक्षा गरिएको थियो । उनको पदक काटिएको विषयलाई लिएर २०७७ साल असोज १४ गते घटना र विचारमा ‘कसले काट्यो इन्दिराको तक्मा ?’ शीर्षकमा समाचार छापिएको थियो । https://ghatanarabichar.com/201098
घटना र विचारसँग कुरा गर्दै उनले भनेकी थिइन्, ‘पदकका लागि काम गरेको त होइन, तर नाम सिफारिश भएको थाहा पाएपछि मैले पाउँछु भन्नेचाहिँ लागेको थियो । नपाए पनि मैले गर्ने काममा फरक पर्ने होइन, त्यसले गर्दा खासै नरमाइलो पनि लागेको छैन ।’ तिनै इन्दिरा अहिले संसद्को महत्वपूर्ण ओहदा उपसभामुख पदमा निर्वाचित भएकी छन् । उपसभामुख भएपनि आफूले गर्दै आएका बच्चाहरूको हेरचाह जारी राख्ने उनले बताएकी छन् । गैरराजनीतिक पृष्ठभूमिबाट उपसभामुख बन्ने उनी पहिलो सांसद हुन् ।
प्रतिक्रिया