‘हेटौँडा-काठमाडौं सडक मर्मत दुई महिनामा’

‘हेटौँडा-काठमाडौं सडक मर्मत दुई महिनामा’


  • तस्बिर रासस

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडाबाट काठमाडौं प्रवेश गर्ने छोटो नाका हेटौँडा-भीमफेदी-फाखेल-काठमाडौं सडक मर्मत दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले यातायात बन्द गरेरै भए पनि भैँसे-भीमफेदी र हुमाने-फर्पिङ सडकखण्डको काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । सो कार्यका लागि वैकल्पिक सडकको प्रयोग गर्नुपर्दा यातायात व्यवसायीलाई सरकारले निःशुल्क रुट परमिटको व्यवस्था गर्नुको साथै परमिटको म्याद नाघेमा जरिवाना नलिने उल्लेख गर्दै उहाँले व्यवसायीलाई भाडादर यथावतै राख्न आग्रह गर्नुभयो ।

‘वैकल्पिक सडकका रुपमा कान्ति लोकपथ र थानकोट-चित्लाङ-मार्खु-कुलेखानी-भीमफेदी सडकखण्डमा यातायात सञ्चालन गर्नुपर्छ’, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । भीमफेदी-भैँसे सडकखण्ड (११ किलोमिटर), हुमाने फर्पिङ सडकखण्ड (सात दशमलव पाँच किमी), दक्षिणकाली-छैमले सडकखण्ड (आठ किमी) र छैमले-सिस्नेरी सडकखण्ड (११ किमी) को निर्माण कार्य तीव्र्ररुपमा सम्पन्न गर्न उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

बैठकमा प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले निर्माण कम्पनीलाई आवश्यक सहयोग गर्ने तर काममा ढिलासुस्ती गरेको पाइएमा कारबाही गर्ने बताउनुभयो ।

यसैबीच मुख्यमन्त्री जम्कट्टेलले मर्मत तीव्ररुपमा गर्न हेटौँडा-भीमफेदी-फाखेल-काठमाडौं सडक आगामी फागुन १ गतेबाट बन्द गरिने बताउनुभएको छ । उहाँका अनुसार करिब दुई महिनाभित्र हेटौैँडाबाट काठमाडौं जाँदा कुलेखानी-चित्लाङ सडक तथा फर्कदा कान्तिलोकपथ सडक प्रयोग गर्ने गरी मर्मतको काम हुने भएको छ ।