किवीबाट मनग्गे आम्दानी, भण्डारणको समस्या भोग्दै किसान

किवीबाट मनग्गे आम्दानी, भण्डारणको समस्या भोग्दै किसान


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुराका किसानहरूले किवी फल बिक्री गरि मनग्गे आम्दानी गर्ने गरेका छन् । किवीबाट किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यवसायिक किवी खेती हुन थालेको छ । किसानहरूले भाले र पोथी जातका किवी फलको व्यवसायिक खेती गर्न थालेका हुन् ।

मुटुरोग तथा उच्च रक्तचाप घटाउन, पाचन प्रकृया सहज तुल्याउन, अनावश्यक शारीरिक तौल घटाउन, छालाको रोग हटाउन, आँखाको दृष्टि बढाउन, क्यान्सर रोग न्यूनीकरण गर्नलगायत गर्भवती महिलाको स्वास्थ्य प्रतिकुलतामा समेत राहत प्रदान गर्ने महत्वपूर्ण फलको रूपमा किवीलाई लिइन्छ ।

अमरगढी नगरपालिका–१ दह का अगुवा कृषक गणेशबहादुर ऐरले ३० लाख बराबरको स्वलगानीमा १० रोपनीमा किवी खेती गरि वार्षिक ४० क्वीन्टर फल उत्पादन गरी दशौँ लाख आम्दानी गरेका छन् भने अन्य ठाउँका किसानहरुले पनि किवी फलको व्यवसायिक खेतीबाट मनग्गे आम्दानी गरेका छन् ।

पहाडी भूगोलको किवी बढी गुणस्तरीय भएकोले डडेल्धुराको किवी तराई र काठमाडौं सम्म निर्यात गर्न सफल भए पनि भण्डारणको अभावमा जिल्लाका करिब ६० जना किवी किसानहरू मार्कामा परेको कृषक ऐर बताउँछन् ।

जिल्लामा एउटा मात्र शीतभण्डार छ त्यो पनि कहिले आलुले ठाउँ नपुग्ने भएकाले किवी फल भण्डारणमा समस्या भएको शीतभण्डार संचालकको भनाइ छ । किवी फललाई भण्डारण गर्न शीत भण्डारका लागि कृषि ज्ञान केन्द्र डडेल्धुरामा छलफल भएअनुसार सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयमा विभागीय छलफल पनि भइरहेको र सुदूरपश्चिमको पहाडी जिल्लाको केन्द्र डडेल्धुरा जिल्लामा किवीका लागि विशेष कोल्ड चेम्बर निर्माणका लागि प्रस्ताव भएको कुरामा सकारात्मक जवाफ आएकोले ढिलोचाँडो निर्माण हुनेमा आफू विश्वस्त रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।

डडेल्धुराबाट उत्पादन हुने किवीफलको बजार खुद्रा मूल्य शुरुमा ५ सय रहे पनि उत्पादन बृद्धि हुँदै गए पछि अहिले दुई सय पचासदेखि तीन सयसम्म भएको किसान वेदप्रकाश भट्टले बताए । अहिले पनि किवीको बिक्री सहज ढंगले भइरहेको छ, सामान्यतया अरु फल भन्दा महँगो देखिए पनि औषधीय रुपले महत्वपूर्ण भएकोले किवीफल खाने उपभोक्ता पनि बढेका छन्, घरमै पनि लैजान आउने भएकाले यसको उत्पादनमा अरु किसान पनि आकर्षित भएको उनले बताए ।

चिसो मौसममा उत्पादन हुने किवी फल बेमौसममा पनि उपभोक्तालाई बजारमा उपलब्ध हुने गरी व्यवसायिक खेती प्रबद्र्धन, उत्पादन र व्यवस्थापन गर्न जिल्लाका सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको छ ।