‘नो डिपोजिट’ आन्दोलनका कारण बैंकहरूको निक्षेप सङ्कलन प्रभावित

‘नो डिपोजिट’ आन्दोलनका कारण बैंकहरूको निक्षेप सङ्कलन प्रभावित


‘नो डिपोजिट’ भन्दै व्यापारीहरूले सङ्घर्ष चर्काएपछि धनगढीका बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलनकार्य प्रभावित भएको छ ।

चर्को ब्याजदर बढाएको भन्दै विरोधमा केही दिनदेखि दबाबमूलक सङ्घर्ष गरिरहेका व्यापारीले बिहीबार नो डिपोजिट भन्दै बैंकमा पैसा जम्मा नगरेपछि निक्षेप सङ्कलन प्रभावित भएको हो । ब्याजदर घटाउनुपर्ने मागसहित सङ्घर्ष गरिरहेका व्यापारीले बुधबार नेपाल राष्ट्र बैंक धनगढी शाखा घेराउसमेत गरेका थिए ।

बैंकहरूले ब्याजदर चर्को लगाएको व्यापारीको भनाइ छ । चर्को ब्याजदरले व्यापारीमात्र नभइ आम सर्वसाधारणसमेत समस्यामा पर्न थालेको उनीहरूको दाबी छ । रकम निक्षेप र भुक्तानी गर्न दैनिक भीड देखिने धनगढीका बैंकहरूमा आज छिटपुट सेवाग्राहीमात्र देखिएका थिए । सुदूरपश्चिम प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घले व्यापारीको सङ्घर्षमा ऐक्यबद्धता जनाएका छन् ।

नेपाल राष्ट्र बैंक धनगढी शाखाका प्रबन्धक विनोद लेखकले पछिल्लो तीन-चार महिनादेखि देशको आर्थिक अवस्थामा भइरहेको सुधारसँगै ब्याजदर पनि केही कम हुँदै गएको अवस्थामा चर्को ब्याजदर भयो भन्ने तर्क असान्दर्भिक रहेको बताए । ‘बैंकको कस्ट उच्च हुन पुग्दा विगतमा बैंकको कर्जामा ब्याजदर पनि केही बढेको थियो, हाल चर्को ब्याजदर छ भन्न मिल्दैन’, उनी भन्छन् ।

बैंक तथा वित्तीय संस्थाको आधार दर र प्रिमियमका आधारमा ब्याजदर तोक्ने गरिन्छ । औसत निक्षेपमा दिएको ब्याज र औसत कर्जामा लिइने ब्याज स्प्रेडदर (अन्तर दर) चार प्रतिशतभन्दा बढी हुन नहुने नेपाल राष्ट्र बैंकको नीति छ ।

धनगढीस्थित एनआइसी एसिया बैंकका प्रबन्धक जीवन शाहीले देशमा आर्थिक तरलताले समस्या निम्त्याइरहेको बताउ । ‘व्यापार छैन, महँगी बढेको छ, बैंकको कस्ट उच्च छ, एक वर्षदेखि नै ब्याजदर बढेको हो, अहिले उच्च पुगेको मात्र हो’- शाहीले तर्क गरे ।

मुद्दतिको ब्याजदर नघटेसम्म एक अङ्कको ब्याजदर पुऱ्याउन सकिने अवस्था नरहेको उनको भनाइ छ । मुद्दती खातामा ११ देखि १२ प्रतिशतसम्म ब्याजदर छ । कर्जामा बढीमा साढे पन्ध्र प्रतिशतसम्म ब्याजदर तोकिएको जनाइएको छ ।