राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी, रुसद्वारा निन्दा

राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी, रुसद्वारा निन्दा


हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा उनलाई पक्राउ पुर्जी जारी गरेको हो ।

आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरेको बताएको छ । आइसिसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुष्टिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ ।

मस्कोले आइसिसीका आदेशलाई अर्थहीन भन्दै खारेज गरेको छ । साथै मस्कोले आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी हुनुलाई अपमानजनक भनेर त्यसको निन्दा गरेको छ । रुसी नेता पुटिन आइसिसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति हुन पुगेका छन् ।

रुस आइसिसीको पक्ष राष्ट्र नभएकाले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना छैन । अर्थात्, द हेगमा रहेको उक्त अदालतको आदेश त्यहाँ कार्यान्वयन हुने कुनै आधार पनि छैन । यद्यपि त्यसले राष्ट्रपति पुटिनको अन्तरराष्ट्रिय यात्रामा असर पर्नसक्छ ।

अन्तरराष्ट्रिय फौजदारी अदालतको सदस्यता लिएर विश्वका एक सय २३ सदस्य राष्ट्रहमध्ये कुनैमा उनले पाइला राखेमा उनलाई पक्राउ गर्न सकिनेछ । आइसिसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तरराष्ट्रिय सहयोगमा निर्भर हुने बताएका छन् ।

युद्धग्रस्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आइसिसीले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अदालतको कदमलाई ऐतिहासिक निर्णय भन्दै स्वागत गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी साता हुने मस्को भ्रमण तथा रुसलाई चीनले सैन्य सहायता गर्ने समाचार सार्वजनिक भइरहेका बेला जारी भएको आइसिसीको आदेशले अन्तरराष्ट्रिय जगत्मा तरङ्ग पैदा गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्ना रुसी समकक्षी पुटिनविरुद्ध अन्तरराष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेका छन् । राष्ट्रपति पुटिनले युक्रेनमा युद्ध अपराध गरेको ठहर गर्दै पक्राउ पुर्जी जारी गर्नुलाई अमेरिकी राष्ट्रपतिले ‘न्यायसङ्गत’ भनेका छन् । अमेरिका पनि आइसिसीको पक्ष राष्ट्र होइन ।