नमुना-सुशासन !-श्रीधर शर्मा

नमुना-सुशासन !-श्रीधर शर्मा


सोमबार मध्याह्न मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारकै छेउ अत्यन्त संवेदनशील क्षेत्रमा भएको बम विस्फोटमा परी केही निर्दोष नागरिकको दु:खद् निधन भयो भने केही घाइते भए । सो घटनाले शान्तिसुरक्षाको स्थिति सन्तोषजनक रहेको सरकारको दाबी गलत भएको त पुष्टि भयो नै आमनागरिकमा एकप्रकारको आतङ्कसमेत छाएको छ ।
घटनापछि सरकारले छानबिनका लागि समिति गठन गरेको छ । राहत प्रदान गर्ने र उपचार खर्च व्यहोर्ने घोषणाको औपचारिकता पनि पूरा गरिसकेको छ । राजधानीको सुरक्षा-व्यवस्था कडा बनाउन पनि निर्देशन दिएको छ । तर, ज्यान गुमाउनेहरूले गुमाइसके, घाइते र अङ्गभङ्ग हुने भइसके र भएको क्षति पूर्ति गर्न सम्भव छैन, यसैले यो एउटा औपचारिकता मात्र हो ।
यस्ता अमानवीय आततायी घटनाको जतिसुकै निन्दा र भत्र्सना गरे पनि कमै हुन्छ । निर्दोष नागरिकको ज्यान लिनेगरी यस्ता घटना घटाउनेहरू जोसुकै भए पनि अपराधी हुन् र तिनलाई कानुनी कठघरामा उभ्याउनैपर्छ । तर, सुरक्षा-व्यवस्था सुदृढ बनाउन र आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्न नसक्ने वर्तमान सरकार पनि यस घटनाका लागि नैतिक रूपले जिम्मेवार छ । यसैले सरकार राहत र स्वास्थ्योपचार खर्चको आश्वासनले मात्र उम्कन पाउँदैन ।
सिंहदरबार मुलुकको प्रमुख प्रशासकीय केन्द्र हो र यो सुरक्षा घेराभित्र पर्दछ । तर, यही क्षेत्रमा यस्तो घटना हुनुले सरकारको सुरक्षा-व्यवस्थामाथि प्रश्न मात्र उठेको छैन आफूलाई निरि्वकल्प मान्ने वर्तमान गठबन्धनका सामु सुरक्षा चुनौती सँगसँगै नैतिकताको सवाल पनि खडा भएको छ । प्रश्न उठेको छ- सिंहदरबारको सेरोफेरोकै सुरक्षा गर्न नसक्ने सरकारले अन्यत्र कहाँको सुरक्षा गर्ला ? कसरी शान्ति र संविधानको जिम्मेवारी पूरा गर्न सक्ला र जनताले यस्तो सरकारबाट के अपेक्षा गर्ने ?
देश र जनताको जिम्मेवारीप्रति गम्भीर हुनुको साटो वर्तमान सरकार केवल सत्ता टिकाउने ध्याउन्नमा मात्र छ । गठबन्धनको निरन्तरताका लागि अनुचित र अस्वाभाविक ढङ्गमा परस्पर चोचोमोचो मिलाउने, सस्ता नारा दिने, ठूलाठूला कुरा गर्ने, आफूहरू निरि्वकल्प भएको बताउने, सत्ताबाहिर रहेका दलहरूलाई उपेक्षा गर्ने, सरकारका क्रियाकलापप्रति असन्तुष्टि जनाउनेहरूका कुरा सुन्नुभन्दा तिनलाई ‘शान्ति र संविधानविरोधी’को बिल्ला लगाइदिनेजस्ता काम यस गठबन्धनले गरिरहेको छ ।
यस्तै अनैतिकता, बेइमानी, झुट र जालसाजीभन्दा वर्तमान सरकारले केही जानेको छैन भन्ने कुरा घटनाक्रमले प्रस्ट पारेका छन् । सरकार अपराधी बाहुबलीहरूको संरक्षण गरिरहेको छ । तीनजना निर्दोष नागरिकको ज्यान जानेगरी भएको बम विस्फोटको यो घटना पनि सरकारको यही गैरजिम्मेवारीपन र प्रमुख जिम्मेवारीबाट विचलित हुनुको परिणाम हो र यस घटनाका लागि मूलरूपमा सरकार नै जिम्मेवार छ ।
सरकारले जनतालाई महँगी र अभावको पीडा थोपरेको छ । पटकपटक मूल्य बढाए पनि बजारमा इन्धनको अभाव कायमै छ, सरकारकै संरक्षण र मिलेमतोमा कालोबजारी फस्टाएको छ । उपभोग्य वस्तुको अकाशिँदो बजारभाउप्रति सरकारको कुनै चासो देखिएको छैन । विभिन्न किसिमका आपराधिक घटनाका सिकार त जनता भई नै रहेका थिए अब झन् कहाँनेर के हुने हो भन्ने भयले आक्रान्त हुन पुगेका छन् । शान्तिसुरक्षाको स्थिति सुदृढ रहेको दाबी गर्दै आएकोमा सिंहदरबारकै छेउ निर्दोष नागरिकको ज्यान गएपछि सरकारको त्यो दाबी गलत ठहरिएको छ । तर पनि सरकार आफ्नो निरन्तरताको दाबी गरिरहेको छ । तर, जनतासँग गरेका सुशासन र राहतका वाचाबाट विचलित भइसकेको सरकार कुन आधारमा टिकिरहने ?
सिंहदरबार छेउछाउकै सुरक्षा गर्न नसक्ने सरकार सिंहदरबारभित्रै हराएको विश्लेषण धेरैको छ । आफ्नो नाकमा लागेको फोहोरको गन्ध नपाउने सरकार केमा लठ्ठएिको छ भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन । शायद सिंहदरबारबाहिर निस्कँदा सत्ता गुम्ने भयले बाहिरको सुरक्षातर्फ उसको ध्यान पुग्न सकेको छैन, आफ्नै कुर्सीको चिन्ता सत्तासीनहरूलाई छ । यो बम विस्फोटको घटनाले चाहिँ केही हदसम्म सरकारको चेत खोलिदिएको हुनुपर्छ । घटनाले सरकारको सुशासनको प्रत्याभूति र शान्ति र संविधानप्रतिको प्रतिबद्धता ढोंगमात्र हो भन्ने त पुष्टि भएको छ नै हत्यारा र अपराधीहरूको संरक्षण गरिरहेको वर्तमान सरकार गम्भीर नैतिक सङ्कटमा समेत परेको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईले बबरमहल बम विस्फोट ‘आततायी प्रकृतिको दु:खद् घटना’ भएको बताउँदै घटनालाई ‘शान्तिप्रक्रिया बिथोल्ने, संविधान निर्माणको कार्य प्रभावित पार्ने तथा प्रतिगमनकारीलाई सहयोग पुर्‍याउने दुस्साहस’ भनेका छन् । यो सबै सत्ताधारीले प्रयोग गर्ने भाषा हो । तर, आफूलाई केही कुरा चित्त नबुझ्दैमा ‘संवाद’को साटो ‘शक्ति’ देखाउने र शान्तिपूर्ण उपायको साटो हत्या-हिंसा परम्पराको थालनी कहाँबाट भयो भन्ने कुरा आफ्नै अनुहार हेर्दा देखिने भएकाले एकपटक यसतर्फ पनि विचार गर्दा हुन्थ्यो कि ?
जे होस्, बम विस्फोटको यो घटना अत्यन्त निन्दनीय हो । आफ्ना माग पूरा गराउन वा दबाब दिन निर्दोष नागरिकको ज्यानै लिने जघन्य अपराधको उपाय कसैले रोज्नु हुँदैन । मुलुक र आमजनताको उन्नति र समृद्धिका लागि शान्तिकै बाटो रोज्नुको विकल्प छैन । मुलुक सङ्क्रमणकालीन अवस्थामा रहँदा यस्ता घटना घट्नुले मुलुकलाई अझ अलमलमा पार्ने र त्यो मुलुक र जनताकै हितमा नहुने हुँदा यस कुरामा सबै पक्ष गम्भीर हुनुपर्छ । तर, विगतमा असम्भव आश्वासन बाँड्नु र सपनाको खेती गरेर सत्ताको शिखरमा पुग्ने नियतले सस्ता कुरा गर्नेहरू नै यस्ता घटनाका लागि प्रमुख जिम्मेवार हुँदा विगतमा आफूबाट भएका यस्ा किसिमका गल्तीका लागि तिनले झनै गम्भीर भएर सोच्नुपर्छ ।