आइजीपीसमेत सन्देहको घेरामा !

आइजीपीसमेत सन्देहको घेरामा !


नेपाल प्रहरीभित्र अत्यन्त सत्जन र सरल अधिकृतको छवि बनाएका आइजीपी वसन्त कुँवरलाई समेत नक्कली शरणार्थी प्रकरणमा तान्ने प्रयास भएको छ ।

प्राप्त जानकारीअनुसार गत वर्षको जेठ १८ गते गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले सानु भण्डारी र केशव दुलाललगायत विरूद्ध अपराध महाशाखा शंखमूल बानेश्वरमा उजुरी दिएको र, त्यसबेला सन्देश शर्मा, केशव दुलाल र सानु भण्डारीविरूद्ध पक्राउ पूर्जी जारी भएको थियो । सन्देश शर्मालाई फेला पार्न नसकेपनि प्रहरीले केशब दुलाल र सानु भण्डारीलाई पक्राउ गरी हिरासतमा राखेको थियो । तर, पक्राउ परेका दुवैजनालाई रातारात रेकर्ड समेत नरहनेगरी हिरासतमूक्त गरियो, जतिबेला महाशाखा प्रमुख थिए वसन्त कुँवर ।

कुँवर आफैमा खराब मानिदैनन्, तर कसको आदेशमा उनले रेकर्डसमेत नरहने गरी अभियुक्तहरूलाई रिहा गरिदिएका थिए र, नक्कली शरणार्थीसम्बन्धी फाइल समेत कार्यालयमा नराखी घरमा राखेका थिए भन्ने खुल्न सकेको छैन । तत्कालीन एसपी कृष्ण कोइरालाले अनेक प्रयत्न गरेपछि मात्र उक्त फाइल कुँवरबाट फिर्ता भएको थियो । केशव दुलाल र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेबीच घनिष्ट सम्बन्ध रहेको उनीहरूबीचको लेनदेन र आपसी सम्वादको रेकर्डले पुष्टि गरिसकेको छ ।

२०७९ असार १० गते केशव दुलालले सचिव पाण्डेलाई ह्वाट्सपमा पठाएको सन्देशले पनि आइजिपी कुँवरमाथिको सन्देह बढाएको हो । दुलालले पाण्डेलाई लेखेका थिए- ‘सर, वसन्त सरलाई पनि फाइनान्सियल सपोर्ट हुन्छ है ।’ त्यसपछि सोही दिन सचिव पाण्डेले ‘मान्छे पठाउनु, कुरा भइसकेको छ’ भनेर दुलाललाई सन्देश पठाएका थिए । यस्ता सन्देहास्पद सन्देश आदानप्रदान भएकोले आइजिपी कुँवरमाथि समेत शङ्काको बादल मडारिएको हो ।

शरणार्थी प्रकरणमा गम्भीरतापूर्वक छानवीन प्रारम्भ भएपछि कुँवरले आवश्यक सहयोग नपुऱ्याएको महसूस सम्बद्ध पक्षले गरेको थियो । कुँवरमाथि प्रचण्ड, शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र केपी ओलीसमेतको दबाब परेकोले पनि उनलाई अप्ठ्यारो परेको हुनसक्ने ठानिएको थियो ।