प्रहरीद्वारा गोरखा सीतपीपलबाट ‘टल्कने ढुङ्गा’ बरामद

प्रहरीद्वारा गोरखा सीतपीपलबाट ‘टल्कने ढुङ्गा’ बरामद


गोरखामा प्रहरीले एक घरबाट ठूलो आकारको टल्कने ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका-७ स्थित सीतपीपलबाट लगभग ५४ किलोग्रामको टल्कने ढुङ्गा बिहीबार बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठका अनुसार उक्त ढुङ्गा ‘साइन स्टोन’ रहेको र सो बिक्री वितरण हुँदैछ भन्नेसम्मको सूचना मिलेपछि प्रहरीको टोलीले सम्बन्धित घर पुगी उक्त ढुङ्गा बरामद गरेर ल्याएको हो । पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको भनिएको सो ढुङ्गा बरामद गरेर ल्याइएको प्रहरीको प्रष्टोक्ति छ ।

ढुङ्गा हेर्दा पारदर्शी ‘क्रिस्टल’ जस्तो रहेको उल्लेख गर्दै प्रनाउ श्रेष्ठले भनेका छन्, ‘एकातिरबाट टर्च बाल्दा भित्रैबाट अर्कोतिर वारपार हुन्छ, अहिलेसम्मको अध्ययनमा ‘साइनिङ स्टोन’ हो भन्ने हाम्रो बुझाइ छ ।’

बरामद गरिएको ढुङ्गाका बारेमा भू-गर्भविद्सँग भिडियोमार्फत जानकारी लिएको र भू-गर्भविद्ले बरामद गरिएको वस्तु ‘वाच क्रिस्टल’ भएको हुनसक्ने बताएको जानकारी दिएको बताइएको छ । बरामद गरिएको टल्कने ढुङ्गा चोरी गरिएको नभइ पुर्ख्यौलीरूपमा घरमा राखिएको अवस्थामा पाइएकोे प्रहरीले जनाएको छ ।

बरामद गरिएको बस्तु के हो भन्ने कुरा परीक्षणपछि मात्र थाहा हुने उल्लेख गर्दै प्रनाउ श्रेष्ठले भनेका छन्- ‘पुरातात्विक महत्त्वको हो भने राज्यले सङ्ग्रहालय वा अन्य आधिकारिक सरकारी निकायमा पठाउनेछ, बहुमूल्य हो वा होइन भन्ने कुरा परीक्षणपछि मात्र पत्ता लाग्छ, अहिले नै बहुमूल्य भन्ने मिल्ने अवस्था छैन ।’