गौरापर्वको मुख्य दिन आज दुर्वाष्ठमी अर्थात अठेवाली मनाइँदै

गौरापर्वको मुख्य दिन आज दुर्वाष्ठमी अर्थात अठेवाली मनाइँदै


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिममा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । भाद्र महिनामा पर्ने शुक्लअष्ठमी अथवा गौरा पर्वको मुख्य दिन आज दुर्वाष्ठमी अर्थात् अठेवाली पुजा गर्दै सुदूरपश्चिममा हर्षोल्लासका साथ मनाइँदै छ । सधै हरियो र पलाई रहने पवित्र बनस्पति दुबोलाई पूजा र पुरुषले धारण गर्ने जनै जस्तै महिलाहरुले ग्रहण र धारण गर्दै उमा महेश्वरलाई अर्पण गरेर गौराको पूजाआजा गरी भव्य रुपमा मनाइन्छ ।

पञ्चदलहन गहत, मास, केराउ, कलाउँ र चना मिसाएर तामाको भाँडोमा टिका दुबो लगाई गाउँघरमा सामूहिक रुपमा घरघरमा गौरा माताको प्रसादको रुपमा रहेको बिरुडा भिजाउँदै शुक्ल पञ्चमीदेखि शुरु भएको मौलिक परम्पराको प्रतिक गौरा पर्व आज सप्तऋषि, सप्तसरोवर, सप्तगंगा, सप्तसमुन्द्र सप्त क्षेत्र, सप्त धान्य, सप्त सरस्वतीको पूजा अर्चना गर्दै सात वटा धागोबाट सुत्रबन्दी गरिएको दुबोधागोलाई गौरालाई चढाई प्रसादको रुपमा महिलाहरुले घाँटीमा लगाउने प्रचलन रहिआएको छ ।

निराहार व्रत बसी महिलाहरुले गौरामहेश्वरको पूजा र शुभमांगल फाग पार्वतीको जीवन लिला सम्बन्धि गाथा अथवा अठेवाली गाएर पर्वको दुर्वाष्ठमी पूजा गर्छन भने पुरुषहरुले पनि पौराणिक कथा र वीरपुरुषहरुका गाथा, स्थानीय देवी देवताका गाथा गाउने, चैतधुमारी ढुस्को र डेउडा खेल खेल्ने परम्परा रहेको छ । अमुक्ताभरण सप्तमीका दिन ल्याईएको गौरा देवीलाई दुर्वाष्ठमीका दिन पूजाअर्चना गरि उपयुक्त तिथि साईतमा बिसर्जन गर्ने गरि गौराघर वा देवालयमा राखिन्छ ।

विशेषगरी महिलाहरुका लागि जीवनशैलीसंग गांसिएको नारीहरुको महत्वपूर्ण महानचाड गौरापर्वमा भगवान शिब लाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरि भाद्र शुक्ल पंचमी देखि दुर्वाष्ठमी तथा बिसर्जन नहुँदा सम्म एक हप्ता भव्यताका साथ मनाईन्छ । यस पर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि बिशेष गरि मनाईन्छ ।

आध्यात्मिक र भौतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको सुदूरपश्चिमबासीको सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परा देखि चलीआएका फाग ,अठवाली ,पुरुषहरुको चैत धुमारी का साथै डेउडा खेलेर धुमधामका साथ मनाईने परम्परा रहि आएको छ । संस्कृतिका माध्यमबाट सुख दुःख साँटासाँट गर्नुका साथै सामाजिक सदभाव कायम हुने बिभिन्न गतिबिधिहरु गर्ने परम्परा रहेको छ । आध्यात्मिक र भौतिक दृष्टिकोणबाट पनि महत्वपूर्ण रहेको सुदूरपश्चिम बासीको प्रमुख चाड गौरा पर्व ठाउँविशेष अनुसार फरक-फरक रहे पनि महिलाहरुको जीवनशैली र स्थानीय परिबेश झल्काउने यो पर्वले पछिल्लो समयमा राष्ट्रिय रुपमा व्यापकता पनि पाइरहेको छ ।