आगामी नेतृत्वको लागि एनआरएनएभित्र मारामारी !

आगामी नेतृत्वको लागि एनआरएनएभित्र मारामारी !


युरोप संयोजकमा सागरले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा

  • युरोप प्रतिनिधि

अघिल्लो पटक तीन-तीन क्याप्टेन जन्माएको एनआरएनएले यो पटक पुनः आफूलाई महाधिवेशनको सङ्घारमा घिसार्दै ल्याइपुऱ्याएको छ । पुराना अध्यक्षमध्ये बद्री केसी र रविना थापाले आफूलाई चुनावी माहोलमा धकेलिसकेका छन् । अध्यक्ष पदका अन्य उम्मेदवारहरूमा आरके शर्मा र महेश श्रेष्ठ रहेका छन् ।

त्यस्तै, आइसीसी उपाध्यक्षमा खगेन्द्र न्यौपाने, राज रेग्मी, रोविन्दप्रसाद श्रेष्ठ, नारायण आचार्य, केशव पौडेल, सुनील शाह, गणेश केसीलगायतले आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेको देखिन्छ । युवा उपाध्यक्षको हकमा अब्दुल बासिद र रोशन थापाले उम्मेदवारी घोषणा गरेका छन् । त्यसका लागि राजनैतिक माहोलको सृजना, वार्ता र अन्तरसम्वाद घनिभूत पारिएकोले घोषणा गरिएका पदहरूमा थपघट हुने सम्भावना पनि यथावत नै छ ।

आइसीसीको अत्यन्त शक्तिशाली मानिएको महासचिव पदमा गौरीराज जोशी, बुद्धिसागर सुवेदी, गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरिसकेको देखिन्छ भने उपमहासचिवमा प्रविन गुरुङ, सोम सापकोटा र प्रमोद सिटौलाहरू उठ्न सक्ने चर्चा बजारमा चलिरहेको छ ।

यी सबैले आफ्ना आफ्ना समुह बनाइसकेका छन् । यिनीहरूमध्ये बद्री केसीले मुख्यतया एमालेका प्रवाशी संगठनहरू परिचालन गर्दै आएका छन् । त्यसमा डा. हेमराज शर्मा, धर्मराज अधिकारीलगायत केहि अन्यलाई पनि आफ्नो लवीमा मिलाएको हल्ला छ । तर समुहको पूर्ण रुप हेर्नको लागि चुनावको अन्तिम हप्तासम्म पर्खनुपर्ने हुन्छ ।

बजारिया हल्लाअनुसार बद्री समुहबाट महिला उपाध्यक्षमा सउदी अरेबियाकी यासमिन बेगम सायद उठ्दै छन् । केसीको समुहबाट महासचिव पदमा पनि अमेरिकानिवासी गौरिराज जोशी नै उठ्ने कुरा बाहिर आएको छ भने उपमहासचिवमा बेलायतका रामशरण सिंखडाले पुन दोहोऱ्याउन सक्ने चर्चाले स्थान पाएको छ ।

अबको युरोप-संयोजक को होला ?

केन्द्रमा जस्तै युरोप क्षेत्र हेर्ने युरोप संयोजकमा पनि एनआरएनएभित्रका कांग्रेस र एमाले खेमाले आ–आफ्नो उम्मेदवार खडा गर्ने जनाइरहँदा अष्ट्रियाका स्वतन्त्र सामाजिक अभियन्ता तथा युरोप उप-संयोजक सागर सुवेदीको चर्चा चुलिएको छ । ‘बौद्धिक छवि बनाएका लेखक/विश्लेषक सुवेदीले युरोपमा एनआरएनएभित्र चुलिएको विकृतिका विरुद्ध एक्लै आवाज उठाउँदै आएका छन् । उनको संघर्ष र एनआरएनएभित्र सुद्धिकरणको आवाजलाई अराजक देख्ने दलाल तथा माफियाहरूको जत्था मात्र हो । संसारका सबै एनआरएनहरूले यस्ता आवाज केन्द्रबाट पनि उठ्नुपर्छ भन्दैछन् । सागर र उहाँजस्तै भुइँमान्छेको आवाज बुलन्द गर्ने सबैको जितले मात्रै एनआरएनएको रुपान्तरण सम्भव छ, अन्यथा यो संस्थाको काम छैन,’ नाम नबताउने सर्तमा लग्जेम्बर्गका एक एनआरएनएकर्मीले पङ्क्तिकारसँग भने ।

‘सक्छौँ भने एनआरएनएभित्र भए-गरेका बेथितिका मुद्धाहरू उठाउँ, सकिँदैन भने कट्टुले मुख ढाक्दै सुतौँ । सम्पूर्ण डायस्पोराको नेपाली भुइँमान्छेबाट उठेका मुद्धाहरू जस्तै दलालहरूको चङ्गुलमा परेर विदेशमा बेचिन पुगेका हजारौँ चेलीहरूको अस्मिता, कफनमा नेपाल फर्कन बाध्य हाम्रा मजदुर दाजुभाइको सपना तथा विदेशिनु पर्ने बाध्यतालाई सम्बोधन हुन जरुरी छ । यी मुद्धाहरूको निराकरण ‘दलाल पुँजीपतिको क्लब’ उपनाम पाएको एनआरएनए नामक संगठनबाट सम्भव छ छैन । विकल्प नरहुन्जेल बहसको विषय बनिरहने छ’- एनआरएनए युरोप उपसंयोजक सागर सुवेदीको उपरोक्त भनाइले धेरैको मन छोएको छ । संस्थागत हित चाहने पङ्क्ति एनआरएनएमा धेरै कमजोर अवस्थामा छ । त्यसैले युरोपको नेतृत्व तहमा उनि यस्तै अभियानका कारण एक्लो परेको देखिन्छ ।

त्यस्तै, युरोप क्षेत्रको संयोजकमा बद्री केसीको टिमका तर्फबाट चिरन्जिवी खड्काको नाम अगाडि आएको देखिन्छ । कुल पक्षबाट बेल्जियमका सन्तोष जोशी उठ्ने चर्चा चले पनि उनले अझैसम्म घोषणा गरिसकेका छैनन् ।

माहोल र उम्मेदवारी घोषणाको अबस्था हेर्दा यो संस्था माफिया र द्रब्यपिचासको चंगुलबाट निस्कने सम्भावना अझैसम्म कमजोर नै छ । केसी, हेमराज, कुल वा अन्य कोही संगठनको लागि ऐतिहासिक उपलब्धि हासिल गरेका नेतृत्वहरू हैनन् । तुलनात्मक रुपमा स्वतन्त्र उम्मेदवारहरूलाई, तुलनात्मक रुपमा कम भ्रष्ट उम्मेदवारहरूलाई र नैतिक बल भएका उम्मेदवारहरूलाई यिनीहरूले कहिल्यै रुचाएनन् । यो पटक पनि पार्टीका झण्डाको बीचबाट प्वाल पारेर निस्कने यस्तै छुचुन्द्रा प्रवृत्तिको बोलाबाला नहोला भन्न सकिन्न । विकल्प नहुन्जेल यो संस्थाले गरेका मानविय कर्म, अझ राष्ट्रिय समन्वय परिषदमार्फत गरिएका परोपकारका कर्महरू, मानविय समवेदनाका कर्महरू, नेपाली मूल्य-मान्यताको रक्षामा भए–गरेका सहकार्य वा कर्महरूलाई बचाउन तुलनात्मक रुपमा राम्रो उम्मेदवार जिताउनुपर्ने अवस्था छ । यसर्थ सकेसम्म कम पपेट, सकभर विवेकशील र योग्य उम्मेदवार जिताउनको लागि समुदायबाट माहोल बनाइयोस् । अन्यथा छुचुन्द्राहरू पुन बस्तीमा पसे भने कपडाको मात्र सत्यनास हुने छ । जय होस् !