कृष्ण जन्माष्टमीमा मड्का फुटाई प्रतियोगिता

कृष्ण जन्माष्टमीमा मड्का फुटाई प्रतियोगिता

घ.वि. सम्वाददाता
0
Shares

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज काठमाडौँको सामाखुशीमा ‘मड्का फुटाउने’प्रतियोगिता आयोजना गरिएको छ । सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा काठमाडौँ महानगरपालिका–२६ कपुरधारास्थित चिल्ड्रेन पार्कमा प्रतियोगिता आयोजना गरिएको हो ।

विसं २०५६ देखि हरेक वर्ष आयोजना गरिदै आएको उक्त प्रतियोगितामा निलो रिबन लगाउने टोली प्रथम भएको क्लबका अध्यक्ष दीपेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा रातो र निलो रिबन लगाउने दुई समूहको सहभागिता थियो ।

पार्क नजिकै सडकको माथि डोरीमा माटोको मड्कामा दही राखेर झुण्ड्याइने र प्रतियोगीले उक्त मड्का फुटाउने चलन रहँदै आएको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मड्का निकै माथि डोरोमा झुण्ड्याइने भएकाले मानिसमाथि मानिस चढेर फुटाउने गरिन्छ । प्रतियोगिताका विजेता टोलीले रू २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उक्त रकम क्लबका अध्यक्ष केसीले प्रथम विजेता टोलीलाई हस्तान्तरण गर्नुभयो ।

साथै साना बालबालिकाका लागि घैंँटो फुटाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो । घैँटो फुटाइ कार्यक्रममा विजेता बालबालिकालाई जनही रू एक हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।