सेप्टेम्वर ११ : विश्वले बिर्सन नसकिने त्यो दिन

सेप्टेम्वर ११ : विश्वले बिर्सन नसकिने त्यो दिन


✍ सुनिल उलक

२२ वर्ष अगाडि आजकै दिन नेपाली समय अनुसार साँझ साढे ६ बजे सिएनएनमा समाचार प्रत्यक्ष प्रसारण हुँदै थियो । तल ब्रेकिङ न्यूजमा विभिन्न विमान अपहरणका समाचार राखिएको थियो । म पसलमा नै थिएँ । समाचार सुन्नुबाहेक हाम्रो लागि केही गर्नु थिएन । केही बेरमा नै विमान न्यूयोर्कको ट्वीनटावर अन्तर्गतको उत्तर तर्फको भवनको ९३ तला भन्दा माथि ठोक्कियो । यो दुर्घटना अप्रत्याशित भए पनि जहाज अपहरणकारीहरुको सुनियोजित योजना रहेको अडकल काटिसकेको थियो ।

त्यस बिहान अपहरणमा परेको पहिलो विमान अमेरिकन एयरलाइन्सको फ्लाइट ११ बोस्टनबाट ११ विमान कर्मचारी तथा ८१ यात्रु लिएर लसएन्जेल्सका लागि उडेको थियो । पछि थाहा भयो, तीमध्ये ५ जना विमान अपहरणकारीहरु थिए । अर्को युनाइटेड एयरलाइन्सको फ्लाइट १७५ पनि बोस्टनबाट ८ विमान कर्मचारी र ५६ यात्रु लिएर उडेको थियो । यसमा पनि ५ जना अपहरणकारी रहेको जानकारी आयो । यो विमान पनि लसएन्जेल्सका लागि उडेको थियो । तेश्रो विमान अमेरिकन एयरलाइन्सको फ्लाइट ७७ वाशिंगटननजिकै डलेस विमानस्थलबाट लस एन्जेल्सका लागि नै उडेको थियो । यस विमानमा पनि ६ विमान कर्मचारी तथा ५८ यात्रु रहेको थियो । जसमध्य ५ यात्रु अपहरणकारी रहेको जानकारी प्राप्त भयो । चौथो विमान युनाइटेड एयरलाइन्सको फ्लाइट ९३ नेवार्क विमानस्थलबाट सान फ्रान्सिस्कोका लागि उडेको थियो । यस विमानमा ७ विमान कर्मचारी तथा केवल ३७ यात्रु रहेका थिए । जस मध्य ४ जना भने विमान अपहरणकारीहरु थिए ।

नेपाली समय अनुसार करिव ६ बजेर ३२ मिनेट जाँदा विमान ट्वीनटावरमा ठोक्किएको समाचार चारैतिर एकैपटक फैलियो । विमान दुर्घटना भएको फ्लाइट ११ जसमा ९२ जना सवार थिए । ति सबैको तत्कालै मृत्यु हुनुको साथै भवन भित्र रहेका हजारौको पनि मृत्यु हुने निश्चित नै थियो ।

नेपालको समय अनुसार साँझको ६ बजेर ४८ मिनेट हुँदा अर्को विमान फ्लाइट १७५ ट्वीन टावरको दक्षिणको भवनको ७७ तला माथि ठोक्कियो । यसमा सवार ६४ जनाकै मृत्यु हुने सम्भावना रह्यो । यसको केही समयमा नै अमेरिकी राष्ट्रपति जर्ज बुसलाई अमेरिका माथि आक्रमण भइरहेको जानकारी दिइयो । केही बेरमा तेश्रो विमान फ्लाइट ७७ पनि ह्वाइट हाउस तर्फ अगाडि बढेको समाचार आउन थाल्यो । जासुसहरु सक्रिय भइसकेका थिए । जसरी हुन्छ अर्को आक्रमण जोगाउनु थियो । चौथो विमान फ्लाइट ९३ का यात्रुहरुलाई विमान अपहरणकारीहरुले विमान भित्र बम रहेको तथा छिट्टै नै ध्वस्त हुने जानकारी दिइसकेका थिए । यात्रुहरुले पनि परिवारसंग सम्पर्क गर्दा दुइ विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोक्किएको समाचार सुनिसकेका थिए । यसर्थ आफूहरुको पनि जीवनको अन्त नजिक रहेको अडकल गरिसकेका थिए ।

यस्तैमा नेपाली समय अनुसार साँझको ७ बजेर २२ मिनेट जाँदा फ्लाइट ७७ अमेरिकी सरकारको सैनिक मुख्यालय रहेको पेन्टागनमा ठोक्कियो । जसले गर्दा ह्वाइट हाउस जोगियो । तत्कालै अमेरिकी आकाशमा उडिरहेका सबै विमानलाई तत्कालै नजिकको विमानस्थलमा अवतरण गर्न लगाइयो । नेपाली समय पौने ८ हुँदा वर्ल्ड ट्रेड सेन्टरको दक्षिण भवन पुरै भत्कियो । यसको केही समयमा नै चौथो विमान फ्लाइट ९३ पनि पेन्सिलभेनियाको जंगलमा दुर्घटना ग्रस्त भयो । यसमा रहेका यात्रु तथा विमान कर्मचारी तथा अपहरणकारी सबैको देहान्त भयो । नेपाली समयको साँझको सवा ८ बज्न लाग्दा ट्वीन टावरको उत्तरतर्फको भवन पनि पूरै भत्कियो ।

त्यस रात अमेरिकी राष्ट्रपति जर्ज बुसले देशका नाममा सन्देश दिए, ‘आतंकवादीहरुले हाम्रा ठूला ठूला महलहरुको जग हल्लाउन सक्लान् तर अमेरिकाको जग हल्लाउन सक्दैन । यस प्रकारका जघन्य कार्यले मोटा मोटा स्टीललाई तोड्न सक्छ तर अमेरिकाको संकल्पलाई तोड्न सक्दैन ।’

त्यस दिनको अघिल्लो रात,
२४६ पाइलटहरु विहान उडाउने विमानको तैयारीका लागि निदाउँदै थिए ।
२६०६ कर्मचारी विहानै काममा पुग्ने सोचेर छिट्टै निदाएका थिए ।
३४३ दमकलका कर्मचारी बिहानको शिफ्टमा पुग्नका लागि छिट्टै निदाएका थिए ।
६० प्रहरीका अफिसरहरु बिहानको गस्तीका लागि छिट्टै निदाएका थिए ।
६० जना नर्सहरु बिहानै आफ्नो शिफ्ट परेको हुँदा निदाइसकेका थिए ।

यी सबैले भोलिपल्ट बिहानको दश बजेपछि के भयो थाहा पाउन नै सकेनन् । यी सबैले सदाका लागि जीवन गुमाए ।

जीवनमा सधैं हामीले सोचे झैँ हुदैन । रातमा सँगै निदाएका बिहान एकले जीवन सदाका लागि गुमाउन पनि सक्छ अर्को जीवनभर अपाहिज भएर बाँच्न पनि सक्छ । त्यस रात निदाएका कतिले भोलिको रात हेर्न नै पाएनन् । कति बाँचे पनि सुखद जीवनका साथ जीउन पाएनन् । २२ वर्ष अगाडि सेप्टेम्बर ११ का दिन २९७७ जनाको मृत्यु भएको थियो ।