मेयरसाब… मेरो देशको नाक नकाटियोस् !

मेयरसाब… मेरो देशको नाक नकाटियोस् !


भन्नुस् मेयरसाब, तपाईंको महानगरलाई असुरक्षित नगर भनौँ कि चोर-पकेटमारको बस्ती भनौँ कि लुटाहा नगर भनौँ वा यी सबै विशेषणले पुकारौँ ?!
✍ रेजिना गौतम

श्री बालेन (बालेन्द्र) साहज्यू,
मेयर, काठमाडौं महानगरपालिका

आजका दिनसम्म आराम हुनुहुन्छ होला भन्ने विश्वाससहित तपाईंको चिसो काठमाडौं महानगरबाट गर्मिलो मन लिएर त्रिभुवन विमानस्थल हुँदै चन्द्रगढी विमानस्थलतर्फ प्रस्थान गर्दैगर्दा यो पत्र लेख्न शुरु गरेँ । आशा छ तपाईंंसमक्ष पुग्छ र, हेर्नुहुनेछ, अनि सुधारका लागि पहल पनि गर्नुहुनेछ । किनकि, तपाईंं एक आशालाग्दो नगरप्रमुखका रूपमा देशभरबाट हेरिएको व्यक्ति हो । देशभरका नागरिकको ध्यान अहिले तपाईंंको नगरमा छ । तपाईंंनेतृत्वको महानगरले गरेको काम र परिणाममा छ । काम गर्दा अप्ठ्यारो हुन्छ नै । तिनै अप्ठ्याराहरूलाई चिर्दै अगाडि बढ्ने जुन हिम्मत राख्नुभएको छ त्यसमा कमी नआओेस् । कहिलेकाहीँ तपाईंले पोखेको आक्रोश र संविधानको रक्षकको मर्यादा मिचेर दिएको अभिव्यक्तिको अपवादमा हुने आलोचना बाहेक तपाईंंको गुणगान नै छ ।

अझ भनौँ तपाईंंलाई थाहा छैन होला हाम्रो झापातिर त सार्वजनिक बसमा तपाईंंको फोटो टाँसिन थालेको छ । सैलुनमा तपाईंंको फोटा राखेर विज्ञापन शुरू भएको छ । त्यो तपाईंंको कामको सम्मान हो । ठूला राजनीतिक दलको व्यवहारले आजित जनतामा तपाईंप्रति पलाएको आशाको दियो हो । जनताको चाहनाअनुसारको काम गर्न नसक्दा काठमाडौंबासीले गरेको विद्रोह पनि हो । त्यसैले काम पनि उदाहरणीय, प्रेरक र नागरिकको चाहना अनुसारको हुनुपर्छ । तपाईंंले बुझ्ने कुरा मैले त यसो स्मरण गराएको मात्रै हो । काठमाडौंको नागरिक नभएपनि नेपाली नागरिकको हैसियत र यदाकदा काठमाडौंको यात्रुपनि हुनाले मलाई पनि मेरो देशको राजधानी गर्व गर्न लायक होस् विश्वमै उत्कृष्ट शहर होस् भन्ने उत्कट चाहना स्वभाविक हो । नागरिकको जिउधनको सुरक्षा, समयसापेक्ष विकास निर्माण, सबैको आवश्यकता हो । यद्यपि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको सुरक्षाको विषयमा महानगरले के गर्दैछ ? आज म तपाईंको घरभित्रको समस्याका बारेमा केही कुरा लेख्दैछु ।

मेयर साब, ठूला कुरा हेर्दाहेर्दै स-साना कुराको ख्याल गरिएन भने त्यसले विकृतिको रूप लिन्छ । अहिले तपाईंंको नगरमा त्यो बिकृति मन्द बीष बनिसकेको रहेछ सार्वजनिक यात्रामा । यो चिठी यसकारण लेख्दैछु जो सार्वजनिक सवारीमा यात्रा गर्नेको पक्षमा छ । तपाईंंको नगरमा दैनिक कतिले सार्वजनिक यातायात प्रयोग गर्छन् त्यो तपाईंंलाई थाहा नहुन सक्छ । अनि सरकारी वा निजी सवारीमा यात्रा गर्ने तपाईंंजस्ता सरकार प्रमुख र सरकारी प्रतिनिधिलाई सार्वजनिक सवारीको यात्रामा हुने दुर्घटनाबारे कसरी थाहा हुनु ? त्यहाँ कसरी मान्छे कोचिन्छन् र कोचिएका मान्छे बसभित्रै कसरी लुटिन्छन् ? यसबारे जानकारी लिन सार्वजनिक यातायातमै चढ्नुपर्छ । त्यसै कहाँ भनेको हो र ? नमरी स्वर्ग देखिन्न । हो मेयर साब तपाईंंले पनि बिहान साढे नौ बजेदेखि ११ बजेसम्म सरकारी कार्यालय खुल्ला रहनेदिन कोटेश्वरबाट बानेश्वर, अनामनगर, सुन्धारा चल्ने नेपाल यातायात चढ्नुस् त ! तब थाहा हुन्छ सार्वजनिक सवारीमा आफ्नो नगरमा कसरी यात्रा गर्न बाध्य छन् जनता । तपाईं शक्तिशाली मेयर हो । मेयरकै भेष र गेटअपमा जानुभयो भने जनताले भोगेको अनुभव तपाईंले गर्न सक्नुहुन्न । तसर्थ विशुद्ध नागरिक भएर यात्रामा सहभागि हुनुहोला वास्तविकता बुझ्नलाई ।

मेयर साब,
भौतिक विकासलाई मात्र विकास ठान्ने मानसिकताले काठमाडौंसँगै अन्य ठाउँ सुरक्षित, सभ्य र सुसंस्कृत हुन सक्दैनन् । काठमाडौं त झनै सक्दैन । सभ्य समाज निर्माणका लागि सचेतना नै जरुरी छ । म यसै देशको नागरिक पीडा लुकाउन सकौंला । तर, कुनै दिन विदेशी नागरिकले मैले भोगेजस्तो भोग्नु पऱ्यो भने महानगरको मात्र होइन देशकै नाक काटिन्छ । अन्तराष्ट्रिय जगतमा फैलिने नकारात्मक प्रचारले तपाईंको महानगरमा भित्रिने पर्यटकको संख्या प्रभावित नहोला भन्न सकिन्न । अन्तराष्ट्रिय रुपमा प्रश्न उठ्नेछ । मेयर सावको महानगरमा भएका पर्यटकीय क्षेत्र तिनले अर्थतन्त्रमा पुऱ्याएको योगदान, कलाकौशल र तिनै कलाकौशललाई बेचेर गरेको आम्दानी एकाएक घटेर जानेछ । राजधानीमा बस्नेहरू सचेत नै होलान् । तर गैह्र नागरिकबाट नेपाली नागरिकले असुरक्षित महसूस गर्नु परिरहेको यथार्थ भोगाई यहाँ लेख्दैछु । यसको चाँडै नियन्त्रण गर्न ध्यान जाओस् ।

मेयर साब, छोटो दुरीको यथार्थ प्रस्तुत गर्ने अनुमति चाहन्छु । त्यसपछि आफैं बुझ्नुहोला तपाईंको नगर कति असुरक्षित रहेछ ? भदौ २१ गते विहान १० बज्न २० मिनेट बाँकी समयमा कोटेश्वर चोकनजिकै रहेको महादेवस्थान गेट हुँदै मुख्य सडकमा पुगियो । अनामनगर जानु थियो । सार्वजनिक बसमा जाने सोचका साथ रुटबारे जानकारी लियौँ । गाडी चढ्ने ठाउँमा आउँदा थुप्रै यात्रुहरू बस पर्खेर बसेका थिए । सोधें अनामनगर कुन बस जान्छ ? प्रतिक्षारत यात्रुहरूले भने नेपाल यातायातमा चढ्नु पुगिहालिन्छ । नेपाल यातायातका ५/६ वटा बस निरन्तर आए । तर, रोक्न सकिएन । समय झण्डै १० मिनेट खर्चियो होला । छेवैमा भएका ट्राफिकले हेरिरहेका थिए । पछि उनै ट्राफिकले उक्त नेपाल यातायात नामक बसमा अनामनगर जाने हो भन्दै गाडी रोकिदिए । अत्याधिक भिडका कारण गाडी नम्बर हेर्न सम्भव थिएन । हतार-हतार अनामनगर जाने भन्दै बस चढियो । बसको समाएर टेक्ने ठाउँबिना पोखिएका मान्छे ठेल्दै सहचालकले ड्राइभरलाई गाडी चलाउने संकेत गरे । र, हतार हतार ढोका ड्याम्म पारे । यहाँसम्म ठिकै मान्यौँ । तर, त्यो धेरैबेर टिक्न सकेन ।

गाडीमा चढेको ३/४ मिनेट नहुँदै तिनै अघिका सहचालकले यो त अनामनगर जाँदैन भन्न थाले । लगभग ५ मिनेटमा सर्भिस लेनमा गाडी हाले र मसहित लगभग १० जना जति तीनकुनेमा उत्रिन बाध्य भयौँ । कोटेश्वरमा गाडीमा चढे । गाडी यति धेरै भिड थियो कि दशैँका बेला खसीहट्टीमा बिक्रीका लागि राखिएका बाख्रा, भेडाझैँ मान्छे बसमा कोचिएका थिए । ट्राफिकले चढाएको बसले रुटमा ठगी गरेपछि तिनकुनेमा उत्रिएँ र त्यहीँ अगाडिका ब्यापारीलाई सोधेँ अनि अनामनगरका लागि अर्को गाडी पक्रिएँ तुरुन्तै । पहिलेको जस्तो भिड थिएन, तर यात्रा उभिएर गर्नुपर्ने भयो ।

साढे १० मा अनामनगर उत्रिएँ । त्यसपछि सिंहदरबारतर्फ लागेँ । अनामनगरदेखिको यात्रामा जीवन भाइको साथ थियो र मोटरसाइकलको यात्रा । सिंहदरबार प्रवेशमा पास खोज्यो त्यहाँ खटिएको सुरक्षा संयन्त्रले । पास नभए प्रेस कार्ड देखाउनुपर्ने भयो । त्यसका लागि पछाडि बोकेको ल्यापटप नभएपनि सोही प्रकृतिको ब्याग खोलेर हेर्दा झस्किएँ । ब्याग जस्ताको तस्तै छ । तर, ल्यापटप ब्यागभित्रको साइड ब्याग फिल्मी शैलीमा चोरी भएछ । डबल चेन भएको ब्यागको चेन जस्तो लगाएको उस्तै देखिन्छ । तर, त्यसभित्रको ब्याग छैन । अचम्म लाग्यो । जीवन भाइले नेपाल प्रहरीको ‘१००’ मा फोन गरेर जानकारी गराए । त्यसपछि सम्झिएँ एस.पी. कृष्ण कोइरालालाई । तपाईंको काठमाडौं कति असुरक्षित ? भन्दै कुरा शुरु गरेँ र घटना सुनाएँ । उहाँले पनि काठमाडौं असुरक्षाको कारणबारे थोरै पेशागत घोचपेच गर्नुभयो । त्यसपछि तीनकुने प्रहरी वृत्तमा गएर निवेदन दिन भन्नुभयो । तीनकुने प्रहरी वृत्तका सई अमृत सरको सम्पर्क नम्बर समेत दिएपछि सहज भयो । निवेदन दिएँ । कोइराला सरले अमृत सरलाई विषयको प्राथमिकतामाथि झक्झक्याइरहनु भयो ।

प्रहरी कार्यालयमा राखिएको सिसि टिभि हेर्ने काम प्रारम्भ भयो । यी दुई बसमा मेरो आसपासमा बच्चा बोकेकी एक मधेशीमूलकी महिला थिइन् भने अरु ७/८ जनाजति एकै साइजका उस्तै उस्तै लाग्ने युवती (महिला) हरूको एउटा समूह नै थियो । कोटेश्वरबाट चढेको सर्भिस लेनमा रोकेर ओरालेको बसमा उनीहरू पनि ओर्लिए र तुरुन्तै म चढेको दोस्रो बसमा चढे । एउटीले ‘नानी छुट्यो’ भन्दै गाडी रोक्न भनिन् । गाडी रोकिएन, त्यत्तिकै बानेश्वर पुगेर उत्रिए, उनीसँगै अरु ४/५ जना । १०ः५०-५५ मा यी दुई बसको त्यत्ति छोटो दूरीको यात्रामा फिल्मी शैलीमा मेरो ब्याग चोरी भयो । (ल्यापटप राखेर पछाडि ढाडमा बोक्ने ब्यागभित्र सानो साइड ब्याग) थियो । उक्त सानो ब्यागमा महत्वपूर्ण डकुमेन्टसहित क्यास पनि थियो । क्यास नभेटिएपनि डकुमेन्ट भेटिन्छ कि भनेर प्रहरीमा निवेदन दिएँ । बिहानै टिकट गरिसकेको हुँदा एयरपोर्टमा डकुमेन्ट देखाउन पनि निवेदन जरुरी थियो । खोजीको पहिलो प्रक्रिया शुरु त भयो, सिसी क्यामेराबाट । अफसोच ! मुख्य मार्गका क्यामेरा छन् भन्नका लागि मात्रै रहेछन् कामै नगर्ने । प्रहरीले हुलियाकै आधारमा अपराधी खोज्नुपर्छ भने जनताको आँखामा छारो किन मेयर साब ? हुलिया र बस्तुस्थिति बताएँ । त्यही आधारमा उहाँहरूले भनेको सुन्दा अर्को अचम्म लाग्यो । काठमाडौंमा पनि भारतीय मूलका केटीहरू बसमा चोरी र लुटपाट गर्न नानी बोकेर ग्याङ नै पो पसेका छन् रे !

सिंहदरबारभित्र रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको दोस्रो तलामा पुगेर पुनः ब्याग चेक गरियो । अपत्यारिलो र आश्चर्य मान्दै भाइ जीवनले पनि ब्याग चेक गर्नुभयो । त्यत्तिकैमा सोही मन्त्रालयकी एक कर्मचारीले हातमा बोकेको मोवाइल नै तानिदिँदो रहेछ भन्दै आफ्नो अनुभव सुनाइन् । त्यसपछि अनामनगरकै ब्यञ्जन क्याफेमा सञ्चारिका समूहकी महासचिव वसन्ती बास्तोलाले स्वयम्बरको औंठीसहितका सामग्री चोरी भएको अनुभव शेयर गरेपछि लाग्यो तपाईंको शहर निजी साधन नहुनेहरूका लागि असुरक्षित भइसकेको रहेछ ।

मेयर साब ! उक्त प्रहरी बिटमा त्यसरी नै चोरिएको, लुटिएको सामान खोजी माग्दै वृद्ध आमा पुग्नुभयो । उहाँलाई पनि फोटो देखाइयो । चोरको पहिचान भइसकेको रहेछ । तर, पक्राउ गर्न सकेको रहेनछ । यस्ता समस्या त दैनिक, दिनमा २/४ वटा समेत आउँछन् भनेको सुन्दा अझ डर लाग्यो । तपाईंको नगरमा हुने चोरी र लुटको प्रकृति सुन्दा त यति असुरक्षित लाग्यो- ‘लगाइराखेको पेन्टको अगाडिकै सेभमा राखेको पैसा पनि चालै नपाइ लगिदिन्छन् रे । सिसिटिभी हेर्दै गर्दा सइ अमृत र त्यहाँ रहेका अन्यहरूले भने- यी पटके हुन्, यी नेपाली होइनन् । पक्रेर ल्यायो अहिले झरेको भन्छ या त अलि थर्कायो भने लडीबडी गरेर रुन थाल्छन्, तिनीहरूलाई कुटे पनि दुख्दैन । कानूनी कारवाही पनि लाग्दैन रे । अरु पीडितको पीडा पनि सुनेँ प्रहरी वृत्तभित्रै । अनि कारवाही गर्ने प्रहरी प्रशासनको उक्त भनाई तपाईंको जानकारीका लागि लेख्ने प्रयत्न गरेँ । अब भन्नुस् तपाईंको नगरलाई असुरक्षित महानगर भनौँ कि चोर-पकेटमारको बस्ती भनौँ कि लुटाहा नगर भनौँ वा यी सबै विशेषणले पुकारौँ ?!

तपाईंले काम अथाह गर्नुभएको होला । जबरजस्त हडपेर बनाइएका संरचना हटाउनेदेखि थुनिएका खोला खोल्ने, नगर सफा राख्ने, शिक्षामा देखाएको तदारुकता सह्रानीय छन् । तर, मेयर साबले बनाउन खोजेको सुन्दर फूलबारी (महानगर) मा अरिङ्गाल र बारुला फैलियो भने भमरा र मौरी आउँदैनन्, यो सत्य हो । अरिङगाल र बारुलाले न मह काड्छ न तपाईंलाई नै बाँकी राख्छ । न फूलको रस चुस्ने मौरी र, सुगन्ध लिने भमराको त कुरै नगरौंँ । त्यसैले तपाईंको सुन्दर फूलबारीमा अरिङगाल र बारुलारुपी गुण्डा नागरिक र संगठित लुटाहा अनागरिकलाई नियन्त्रण गरेर भमरा र मौरीको महानगर बनाउन जरुरी छ । आफ्नो क्षेत्र सुरक्षित गर्न प्रदेश सांसदहरू तथा संघीय सांसद सोविता गौतम र प्रकाशमान सिंहसहित सबै सांसदको सहयोग प्राप्त होला नै !

मेयर साब,

तपाईंमाथि देशभरका जनताको विश्वासलाई टुट्न नदिनुस् । समस्या समाधान हुन्छ । मात्र तदारुकताको खाँचो हो । राजधानी हो, को कहाँबाट कसरी आउँछ पत्तो नहुन सक्छ । त्यसमा पनि नेपाल-भारतबीच रोटीबेटीको साइनो बेग्लै छ । सबै कुराको न्यूनीकरणका लागि मेरो सानो दिमागले देखेको सुझाव पनि राख्न चाहन्छु ।

✍ राजमार्गका सिसि टिभी २४ सै घण्टा चालु हुन सक्ने वातावरण मिलाउने । प्रविधिले दिनसक्ने धोकाबाट बच्न डबल क्याच हुने गरी क्यामेरा राख्ने ।

✍ बसमा सिट क्षमताभन्दा बढी यात्रु राखे कारवाही गर्ने ।

✍ बसभित्र अनिवार्य रुपमा बस सञ्चालक कम्पनीलाई सिसिक्यामेरा जडान गरेर चालु अवस्थामा राख्न लगाउने ।

✍ कुन बस कता जाने हो ? चोक-चोकमा रुटका बसको नम्बर टाँस गर्ने ता कि दुरदराजबाट काठमाडौं पुगेका सर्वसाधारण यात्रुलाई सहज होस् ।

✍ भेडा-बाख्रा जस्तो गरी मान्छेलाई गाडीभित्र कोचेर कारवाहीबाट बच्न ढोका लगाउने प्रवृत्तिकोे अन्त्य ।

✍ असुरक्षित तबरले चलाउने यातायात बन्द गर्दै मापदण्ड बनाएर महानगरले आफ्नै स्वामित्वमा सार्वजनिक सवारी सञ्चालन गर्ने ।

✍ प्रमाणित लुटेरालाई महानगरले प्रारम्भ गरेको निर्माण कार्य (श्रम शिविर)मा खटाउने ।

✍ सार्वजनिक स्थलमा बस्नेको व्यवस्थापनले रेकर्ड राख्ने ।

काठमाडौंमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सुझाव दिने दिग्गज व्यक्तित्वहरू तपाईंका आसपासमै प्रशस्त छन् । राम्रा सुझावहरू आउन सक्छन् । प्रक्रिया शुरु गर्नुस् । हाम्रो मन फाटोस् तर, मेरो देशको राजधानीको नाक नकाटियोस् ।

तपाईंको शुभेच्छुक
रेजिना गौतम
बिर्तामोड, झापा
९८४२७५६१९९

[email protected]