देउवा-दाहाल कनेक्सन र गठबन्धन अन्तर्यको कडी

देउवा-दाहाल कनेक्सन र गठबन्धन अन्तर्यको कडी


देउवा, दाहाल र ओली आलोचनाका पात्र मात्र नभएर इतिहासका कुनै कालखण्डका सम्झनै पर्ने नाम पनि हुन् । नेपालको राजनीतिमा योगदान दिएकै व्यक्ति भएका हुँदा विगतमा उनले गरेका कमी-कमजोरी र गल्तीलाई विस्मृतिमा राख्दै माफीसहित उनीहरूको स-सम्मान बिदाई गर्न अब ढिलो गर्नु हुँदैन । यसलाई शेरबहादुर, पुष्पकमल र खड्गप्रसादले गम्भीरतापूर्वक लिन आवश्यक छ । होइन भने पतनको दिन धेरै टाढा छैन ।
✍ ई. महेन्द्र पराजुली

काठमाडौंका विभिन्न नौ सेक्टरमा प्रहरी पोस्टमाथि एकैसाथ २०४३ वैशाख १५ गते भएको आक्रमणमा महामन्त्री मोहन वैद्य (किरण) को नेतृत्व असफल भएपछि २०४६ कार्तिकमा पहिलोपटक मसालको महामन्त्री बन्दै नेकपा माओवादी केन्द्रको अध्यक्ष बनेका कमरेड पुष्पकमल दाहाल (प्रचण्ड),

संयुक्त जनमोर्चाको नामबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५२ माघ ११ गते पेश गरेको ४० सूत्रीय माग पूरा नभएपछि माओ त्से तुङको जनवादी क्रान्तिबाट प्रेरित भएर सैनिक रणनीतिमा जोड्ने सिद्धान्तको प्रयोग गर्दै एकाधिकारवादी राजनीतिक दर्शन बोकेर छापामार शैलीमा आधारित भएर प्रतिक्रियावादी राज्यसत्ता ध्वस्त पार्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ भन्ने नारा अघि सारी २०५२ फागुन १ देखि देशमा विधिवत् विद्रोहको बिगुल फुक्दै आदिवासी, जनजाति र मधेसीलाई राज्य बाँड्दै तिनकै काँधमा बन्दुक भिराएर सामाजिक सद्भाव र विखण्डताको बिउ रोप्ने माओवादी सुप्रिमो,

२०५७ माघ ३० गतेदेखि फागुन १२ गतेसम्म भारतको पन्जाबमा सम्पन्न माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट दरबारसँग गठबन्धन गरी सत्तामा पुग्ने र नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई पाखा लगाउने निर्णयकर्ता, भारतसँग उत्कृष्ट सम्बन्ध राख्न चाहेको तथा भारतीय स्वार्थमा असर पर्ने कुनै काम नगर्ने प्रतिबद्धता जाहेर गर्दै २०५८ मङ्सीर १८ र २०५९ मङ्सीरमा भारतका प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई पत्र लेख्ने प्रचण्ड,

नेपाली काङ्ग्रेस र नेकपा एमालेलाई पाखा लगाइ पावर सेयरिङ गरेर देशको शासन-सत्ता चलाउने अनौपचारिक समझदारीलाई सम्झौताका माध्यमबाट औपचारिक स्वरूप दिन स्वीट्जरल्याण्डको जेनेभामा राजासँग सम्झौता गर्न तयार भएका पुष्पकमल दाहाल, १७ हजार नेपाली नागरिकको रगतमा होली खेलेर पनि बन्दुकको नालबाट सत्ता प्राप्त गर्न नसक्ने भएपछि ब्यालेटमा आएर देशको कार्यकारी प्रमुख प्रधानमन्त्री बने पनि आफू प्रधानमन्त्री पदबाट बर्खास्त भएपछि भारतसँग सुरुङ-युद्धको घोषणा गर्ने प्रचण्ड,

त्यस्तै गरेर २०३६ सालको विद्यार्थी आन्दोलनको विपक्षमा आफू उभिएर आन्दोलनको पक्षमा वकालत गर्ने वा पक्षमा लाग्नेलाई अनुशासनको कारवाही गर्छु भनि २०२८ भदौ २९ गते नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित शेरबहादुर देउवा,

२०३७ सालको जनमत सङ्ग्रहमा बहुदलको पराजयपछि वैचारिक विचलन आई भविष्य सुरक्षित गर्न पञ्चायतमा प्रवेश गरी सुधारिएको पञ्चायतको चुनावमा भाग लिने मनस्थिति बनाएका शेरबहादुर,

पञ्चायत पलायन हुनबाट जोगाउन पार्टीले उच्च अध्ययनको लागि बेलायत पठाएर बेलायतको स्कुल अफ इकोनोमिक्समा अध्ययनरत रहँदै २०४६ को दोस्रो जनआन्दोलनमा शून्य भूमिकामा रही आन्दोलनको सफलतापछि नेपाल फर्किएका देउवा,

आफूविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुन नदिन मतदान हुने २०५३ पुस ९ गतेको अघिल्लो दिन पुस ८ गते संयुक्त सरकारका पाँच मन्त्रीहरूलाई तथाकथित औषधि-उपचारको बहानामा प्रधानमन्त्रीको हैसियतले बैंकक सयर गराएर संसद्मा विसङ्गति, विकृति मात्र नभएर प्राडो/पजेरो संस्कृतिको सुरुवात गर्ने प्रधानमन्त्री देउवा,

माओवादी नेता डीआर लामिछानेमार्फत् काङ्ग्रेसका कार्यकताको घाँटी रेट्न माओवादीलाई आर्थिक सहयोग उपलब्ध गराउने अनि २०५९ वैशाख १२ गते माओवादी सुप्रिमो कमरेड प्रचण्डसहित अन्य उच्च स्तरका नेताको टाउकाको मूल्य ५० लाख तोक्ने उनै प्रधानमन्त्री देउवा,

निरङ्कुश राजा ज्ञानेन्द्रसँगै रक्सी पिएर नशाको सुरमा २०५९ जेठ ८ गते मध्यरातमा संसद् विघटनको सिफारिस गर्ने र उनै राजा ज्ञानेन्द्रले असक्षमको बिल्ला भिराउँदै २०५९ असोज १८ गते अपदस्थ गरे पनि पुनः प्रधानमन्त्रीमा नियुक्त गरेपछि ‘मलाई गोर्खाली राजाले न्याय गरे’ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवा,

२०५९ जेठ १२ गते पार्टीले अनुशासनको कारवाही गरेपछि पार्टी नै फुटाएर नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) गठन गरेका शेरबहादुर देउवा,

निरङ्कुश राजाको तक्मा भिरेकै अवस्थामा भ्रष्टाचारको आरोपमा भ्रष्टाचार नियन्त्रण शाही आयोग प्रयोग गरेर ज्ञानेन्द्रले छापामार शैलीमा २०६२ वैशाख १३ गते पक्राउमा परेर शाही आयोगको खारेजीसँगै भ्रष्टाचारको कारवाहीबाट उन्मुक्ति पाएका शेरबहादुर देउवा र दाहालबीचको लगनगाँठो कसाइ अनि कनेक्सनको अन्तर्यको सुरुवात तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथ नलिँदै २०५८ साउन ८ गते देउवाले गरेको युद्धविरामको आह्वानलाई त्यसै दिन कमरेड प्रचण्डले स्वीकारेको दिनलाई लिने गरेका छन्, राजनीतिक विश्लेषकले ।

देउवा अमूक छायाँबाट परिचालित हुँदै गइ काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको विकल्पमा उभिन तयार भएपछि नै यसको पृष्ठभूमि तयार भएको थियो । काङ्ग्रेसलाई कहिले राजावादी त कहिले माओवादी बनाएका काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) बीच बेला-बेलामा अन्तरद्वन्द्व भए पनि अन्तरसम्बन्ध र निकटता त्यहीँबाट सुरु भएको हो । त्यसको पुष्टि देउवाले माओवादीलाई गरेको आर्थिक सहयोग र उनीहरूका सोच, विचार र कार्यशैली अनि व्यवहारले गर्दछन् ।

पछिल्लो समय गठबन्धन टु्ट्नु-जुट्नु अनि नटुट्नुको अन्तर्यको कडी भनेको प्रधानमन्त्री पद नै हो । दाहालले ओलीसँग चेत खाइसकेका कारण कुनै पनि हालतमा काङ्ग्रेससँगको गठबन्धन टुटाउन चाहँदैनन् भने संस्थापन इतरपक्षले केही राजनीतिक अनि सुन, मानवतस्करी र भ्रष्टाचारका मुद्दाहरूको उठान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्न पार्टीभित्र मात्र नभएर सार्वजनिक रूपमै सभापति देउवामाथि दबाब बढाए पनि देउवा भने दुई वर्षपछिको उधारो प्रधानमन्त्रीको पद गुमाउन तयार छैनन् ।

संसदीय दलको निर्वाचनका बेला नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा र शीर्षनेता डा. शेखर कोइरालाबीच चिसिएको सम्बन्धमा आएको सुधार, अनि बालकोट दरबारले गगन र शेखरलाई ‘ग्रीन सिग्नल’ दिएको पृष्ठभूमिमा दाहालसँगको गठबन्धन तोडेर नेकपा एमाले अध्यक्ष कमरेड खड्गप्रसाद ओलीसँग गठबन्धन गर्दा आपूm संसदीय दलको नेतामै पराजित हुन सक्ने संशय छ देउवामा । त्यतिमात्र होइन, बिहान, दिउँसो र बेलुका दिनमा तीनथरि बोली बोल्ने तीनजिब्रे प्रचण्डलाई त ओलीले गरेको लिखित सम्झौतालाई रद्दीको टोकरीमा फालिदिएर थाङ्नामै सुताइदिए भने एकजिब्रे त्यो पनि लठेब्रो देउवालाई त्यसै पनि तीन बल्ड्याङ्ग पछारिदिन कुनै आइतबार पर्खंदैनन् भन्ने भित्री डर पनि छ देउवामा । पछिल्लो केही समययता देउवा र दाहाल दुबैले ओलीसँग गठबन्धन गर्नुभन्दा ओलीबाट मात्र नभएर तिनका तत्-तत् पार्टीभित्रैबाट पनि आफूहरूबीचको गठबन्धन नै दुबैलाई कम्फर्टेबल र सुरक्षित हुने विश्वास गर्दै आएका छन् ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन, पुर्वसभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री वर्षमान पुनको परिवार सुन तस्करी प्रकरणमा मुछिए पनि उनीहरूलाई उन्मुक्ति दिएर आफ्नो किचेन क्याबिनेट सदस्य, दाहिने हात ठानिएका देउवाका प्रिय पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई मानव तस्करीको आरोपमा प्रधानमन्त्री प्रचण्डले पक्राउ गर्दा चुपचाप सहन बाध्य भएका देउवाले उनकी पत्नी आरजु राणा (देउवा) र बालकृष्णकी श्रीमतीको नाम पनि मानव तस्करीको अपराधमा जोडिएको समाचार सार्वजनिक भएपछि त झन् माओवादीसँगको गठबन्धन नतोड्ने निष्कर्षमा पुगेका हुन् ।

दाहाल र देउवाले त भ्रष्टाचार, सरकारी जग्गा हिनामिना, सुन तस्करी, मानव तस्करीजस्ता सङ्गीन अपराधमा आफ्ना मान्छे जोगाउन एक-अर्कासँग सम्झौता गरे नै जसरी काङ्ग्रेस नेतृत्वले प्रधानमन्त्रीका हैसियतमा कमरेड खड्गप्रसाद ओली र कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका हरेक गलत निर्णयको छड्के किनाराको साक्षी बन्यो, त्यसरी नै प्रधानमन्त्री दाहाल र काङ्ग्रेस सभापति देउवाको मिलोमतोमा सामसुम पारिएको मानव तस्करी प्रकरणमा सम्झौता गर्दै ओली पनि छड्के किनाराको साक्षी बसे आफ्ना मानिस बचाउन ।

नेपालको उत्तरी सीमामा चीनियाँ सेनाको गोलीबाट एकजना नेपाली नागरिकको मृत्यु हुँदा ‘मान्छे मरेको नभइ घोडा मरेको’ भनि सार्वभौम संसद्मा वक्तव्य दिने वरिष्ठ वामपन्थी नेता कमरेड तुलसीलाल अमात्य,

संसद् स्थापनाको माग गर्दा २०१९ सालमा गद्दार घोषित कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाललाई अपमानित र अवमूल्यन गर्दै दस्तावेज लेख्ने महासचिव कमरेड मदन भण्डारीका चेला,

राजा महेन्द्रको ‘फुटाउ र शासन गर’ भन्ने नीति र ढाडमा टेकेर टाउकोमा हान्ने रणनीतिलाई साथ दिँदै निरङ्कुश राजा महेन्द्रले २०१७ पुस १ गते गरेको सैनिक ‘कू’को समर्थनमा दिपावली गर्दै राजाको कदमको स्वागत गर्ने कम्युनिष्ट पार्टीका कार्यकर्ता,

सामन्तको रगत खाँदा कम्युनिष्टको शक्ति बढ्छ भन्ने चिन्तनअनुसार झापाका बुटन चौधरीको हत्या गरेपछि रगत हत्केलामा लिएर चाट्ने जत्थाको नेतृत्वकर्ता कमरेड,

वार्षिक १ खर्ब २० अर्ब रूपैयाँ नेपाललाई आम्दानी हुने झुटो विवरण संसद्मा पेश गरेर टनकपुर सन्धिलाई वैधता दिन टनकपुर बाँध, शारदा बाँध र पञ्चेश्वर परियोजनालाई एउटै प्याकेजमा हालेर भारतसँग एकीकृत विकाससम्बन्धी सन्धि गर्न अहम् भूमिकमा निर्वाह गर्ने एमाले नेता,

नेपाललाई सिक्किमीकरण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने २०६३ सालका परराष्ट्रमन्त्री र २०६२–०६३ को तेस्रो जनआन्दोलनमा शून्य भूमिकामा रही गोरुगाडा चढेर अमेरिका पुगिँदैन भनि आन्दोलनको विरोध गर्ने एमाले संसदीय दलका नेता ओली,

संसद्लाई ‘बोकाको टाउको राखेर कुकुरको मासु बेच्ने थलो’ मान्ने र धर्मलाई अफिमको संज्ञा दिने दर्शनबाट निर्देशित नेकपा एमालेका अध्यक्ष कमरेड खड्गप्रसाद ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) ले क्रमभङ्ग गर्दै अनि छलाङ मार्दै रामसीताको रथयात्रा, पशुपतिनाथको गर्भगृहमाम जलहरी चढाएर अनि भैंसी पुजनसम्म गरेर नयाँ भाष्य निर्माण गरे भने काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बिहान, दिउँसो, बेलुका महारानीको आरती उतारेर नयाँ मानक थप गर्दैछन् ।

देउवा, दाहाल र ओलीमा सार र स्वरूपमा अनि अन्तर्यमा एउटै छ भने आवरण मात्र फरक छ । यी तीनै नेतृत्व बिनालगामका घोडा, घुम्ने मेचमाथिको अन्धो मान्छे, रोमका सम्राट निरोको बिम्ब, इरानका अन्तिम राजा मोहम्मद पहल्वी मात्र होइन इम्पेरियर न्यू क्लोथको बादशाह र जमेका पोखरी भएको टिप्पणी गर्छन् विश्लेषकहरू ।

यी तीन नेतामा आफूलाई मालिक र अरूलाई दास ठान्ने प्रवृत्तिको विकास भएको छ भने यिनका दरबार शक्तिकेन्द्रमा परिणत हुँदै कुशासन र भ्रष्टाचारको ‘इपिसेन्टर’ बनेका छन् । दम्भ, आडम्बर, अहङ्कार र व्यक्तिवादी चिन्तनले सीमा नाघेको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीको हैसियतमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको मुद्दामा सौदाबाजी गर्दै अक्षम्य अपराध पनि गरेका छन् । आधारभूत सैद्धान्तिक धरातलमा आएको विचलन र मूल्य स्खलनले उनीहरूले भोगेको जेलजीवन, बिद्रोहको इतिहास भने आज धुमिल भएको छ । देउवा, दाहाल र ओली आलोचनाका पात्र मात्र नभएर इतिहासका कुनै कालखण्डका सम्झनै पर्ने नाम पनि हुन् । नेपालको राजनीतिमा योगदान दिएकै व्यक्ति भएका हुँदा विगतमा उनले गरेका कमी-कमजोरी र गल्तीलाई विस्मृतिमा राख्दै माफीसहित उनीहरूको स-सम्मान बिदाई गर्न अब ढिलो गर्नु हुँदैन । यसलाई शेरबहादुर, पुष्पकमल र खड्गप्रसादले गम्भीरतापूर्वक लिन आवश्यक छ । होइन भने पतनको दिन धेरै टाढा छैन । इमान, धर्म, संस्कृति, संस्कार सबै त्याग गरेका वा बेचि लाज-शर्म पचाएका यी बेइमानको आरति उतार्नु अनि देवत्वकरण गर्नु भनेको इतिहासप्रतिको भद्दा मजाक अनि प्रभावित गर्ने दुष्प्रयास मात्र हुनेछ ।

यो लेख तयार गर्दा वरिष्ठ सम्पादक किशोर नेपालको ‘मेरो समय’, वरिष्ठ सम्पादक पुरुषोत्तम दाहालको ‘मेरो पत्रकारिता’, राजाका सैनिकसचिव विवेक शाहको ‘मैले देखेको दरबार’, वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको ‘जीवनी’, ऋषिराज बरालको ‘नेपाली जनयुद्ध’, २०६३ मा गठित मन्त्रिपरिषद्का उपप्रधान एवम् स्वास्थ्यमन्त्री अमिक शेरचनले २०७५ कार्तिक ५ गते ‘अनलाइन खबरलाई दिएको अन्तर्वार्ता’, पूर्वमन्त्री रमेशनाथ पाण्डेको ‘कूटनीति र राजनीति’, नागरिक दैनिकमा २०७५ पुस २० गते प्रकाशित वरिष्ठ पत्रकार युवराज गौतमको लेखलाई सन्दर्भसामग्रीको रूपमा लिइएको छ ।