इमान, न्याय र सुशासन हराएको सूचना

इमान, न्याय र सुशासन हराएको सूचना


अब कामना गरौँ- माफिया, तस्कर, डन, दलाल, कमिशनखोर, विदेशी एजेन्टको स्वार्थ पोस्नेगरी काम गर्ने भ्रष्टहरूलाई आइन्दा नेता नमानियोस् । कसैको कठपुतली बन्नेहरूलाई जनप्रतिनिधि भन्न नपरोस् । राजनीति र राष्ट्रसेवकका नाममा देश लुट्ने पेशामा रल्लिएका लिच्चडहरूलाई छानी-छानी ठेगान लाउने हिम्मत जनतामा आओस् ।
✍ राजबाबु शंकर

बीपी, पुष्पलाल, गणेशमान, मनमोहन, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी थिए र इतिहासको कुनै कालखण्डमा दलहरू दल जस्ता थिए । जहाँ सिद्धान्त, विचार, सदाचार, इमान, जमान र नैतिकता थियो । ती राजनीतिज्ञहरूको लक्ष्य केवल सत्ताप्राप्ति थिएन । तर, तीन दशकयता ती इतिहास-पुरुषहरूको त्यो गर्वदायी विरासत ‘भाँगाटुटा’ बनाएका छन्, तिनका उत्तराधिकारी बन्न पुगेका सत्ताशक्त मूढहरूले । त्यसैले नेतागणको व्यक्तिगत र दलीय स्वार्थको जालमा जेलिएको नेपाली राजनीतिको स्वरुप आज विद्रुप गोचर भइरहेको छ । इमान, जमान, नैतिकता र इमान्दारीलाई पोलपाल पारेर सेकुवा बनाउँदै खाएका छन् र खाँदैछन्- ‘नेता’को पगरी भिरेकाहरूले !

बहुदलीय प्रजातन्त्रोत्तर सत्तामुखी राजनीतिले ‘गठबन्धन’ कोरलिरहेको छ । जसले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधान कार्यान्वयन, न्याय र सुशासन जस्ता अहम् विषयलाई लठिभद्र बनाइरहेका छन् । गठबन्धनले संवैधनिक सर्वोच्चतालाई नै धावा बोलिरहेको छ । के यही नै दुई वटा जनआन्दोलनको उपलब्धि हो त ? भन्नै पर्दछ- शासकीय एवम् दलीय नेतृत्वको स्वार्थले गर्दा अब पनि केही सुधार भइहाल्ला भन्नु भ्रम हुनेछ । किनभने, ३३ वर्षसम्म जमेका ती नेतागणमा निहीत लालच अगस्ती बनेर देशमा व्याप्त छ ।

वर्तमान परिस्थिति गणतान्त्रिक नभएर दलीय अधिनायकीय हिसाबमा अग्रसर छ ! राजनीतिक नेतृत्वमा अक्षमता र सोचको खडेरी छँदैछ । त्यसमाथि न्यायिक तदारुकता र इमानदारी त ‘मानिस हराएको सूचना’ गरेजस्तै अवस्थामा छ । यकिन पनि छैन, यो दुरावस्था कतिञ्जेल रहन्छ ! नेतृत्वको स्खलनले मुलुक र मुलुकीको हाल बेहाल बनाइदिएको छ । पुरोहितसदृश भूमिकामा रहेको शासन र ‘जसो–जसो बराजु, उसै–उसै स्वाहा…’ गर्ने प्रशासनमा रहेका उसका यजमानहरूले पनि देशको सम्पत्तिलाई सिदामा पाएको दान–दक्षिणासरह सम्झिने सिलसिला जारी नै पनि छ ।

अनि, यस्तो लूटलाई क्रमबद्धता प्रदान गर्नैका लागि हुनुपर्छ- ‘लोकतान्त्रिक गणतन्त्र’को जलप लगाएर शासन/प्रशासनका लुटेराहरू र तिनबाट अकुत फाइदा सुमर्न पाइरहेका मौकापरस्त जत्थाहरू ‘संविधान दिवस’ मनाउँछन् ! ३५ भाग, ३०८ धारा र ९ अनुसूची रहेको नेपालको त्यो संविधान, जसले सम्पूर्ण नेपाली जनताका खातिर विधिको शासन प्रत्याभूत गर्ने सदिच्छा राखेको छ । तर, के दिगो शान्ति, सुशासन, न्याय र विकासप्रति यो ३ दशकसम्मै काकाकुल नै रहिरहेका सर्वसाधारण नेपालीको जीवन-व्यवहारमा संवैधानिक प्रत्याभूतिको परावर्तन देखिन्छ त ?

यद्यपि, दोष संविधानमा होइन; शासक बन्न पुगेका नेतागणको नियतमा छ । त्यसैले संविधान दिवस मनाइरहँदा संवैधानिक प्रत्याभूति अनुरुप व्यावहारिक अनुभूति पनि नागरिकले पाइरहेका छन् ?- भन्ने सवालमा गम्भीर हुन अत्यावश्यक छ । सरकार सञ्चालनमा प्रमुख भूमिका रहेका राजनीतिक दलका सरदारहरूले नै भ्रष्टाचारजन्य गतिविधिलाई मलजल र संरक्षण गर्दै आएका छन् । र, तिनको चरम भ्रष्टाचारले नै सुशासन र विकासमा धाँजा फटाएको मात्रै छैन; देशको राष्ट्रिय अर्थतन्त्रलाई लगातार पछाडि ठेलिरहेको छ ।

भ्रष्टाचार बारे खोजपडताल गर्ने अन्तर्राष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी’को रिपोर्टले नेपाललाई लगातार भ्रष्टाचारको अग्रणी स्थानमा देखाएकोदेखायै छ । भन्नाले भ्रष्टाचारको जरो कति विस्तारित छ- अनुमान गर्न गाह्रो छैन । यसो पनि भनौं- भ्रष्टाचार केही दशकयता जनप्रतिनिधि तथा कर्मचारीगणको पेशा भएको छ । यति हुँदाहुँदै पनि उदेक लाग्दो त के छ भने, अनेकौं भ्रष्टाचार काण्डका सूत्रधार मानिने राजनीतिक र शासकीय तहमा रहेकाहरू प्रायशः बाइज्जत ‘बरी’ हुँदै आएका छन् ! भनेपछि… हाम्रो शासन व्यवस्था र न्यायिक निरुपण गर्ने अंगमा बसेका अधिकांशतः कतिसम्म थेत्तरा-नालायक-गद्दार रहेछन् ? त्यसैले संविधान दिवस वा गणतन्त्र दिवसहरू मनाउन उनेरूलाई नै उत्साह छ, गणतन्त्रको पैरवी गर्नैपर्ने बाध्यता छ ! आमजनले त संविधान वा गणतन्त्रको लाभ अनुभूत गर्न पनि कहिले पाए र ?

त्यसैले अब कामना गरौँ- माफिया, तस्कर, डन, दलाल, कमिशनखोर, विदेशी एजेन्टको स्वार्थ पोस्नेगरी काम गर्ने भ्रष्टहरूलाई आइन्दा नेता नमानियोस् । कसैको कठपुतली बन्नेहरूलाई जनप्रतिनिधि भन्न नपरोस् । राजनीति र राष्ट्रसेवकका नाममा देश लुट्ने पेशामा रल्लिएका लिच्चडहरूलाई छानी-छानी ठेगान लाउने हिम्मत जनतामा आओस् । अर्थात्, अब पनि संविधानले र नानानामे दलमा ‘मान नमान मै तेरा मेहमान’ बनिरहेका नेताहरूले मुलुक र मुलुकीको कल्याण गर्लान् भन्ने भ्रम यथाशीघ्र जन-मनबाट टुटोस् । देश र जनतालाई धोका दिइरहेका शासक या प्रशासक बनेका अराजक भस्मासुरहरूलाई लघार्न आमजनमा आत्मबल मिलोस् । ताकि आगामी दिनहरूमा ‘इमान, सुशासन र न्याय हराएको सूचना’ यसरी नै जारी गर्न नपरोस् ।