फिदिमको साख : दैनिक तीन करोडको कारोबार

फिदिमको साख : दैनिक तीन करोडको कारोबार


  • सुरेन्द्र सुवेदी, पाँचथर

देश संघीयतामा गएपछि सबै क्षेत्र विकेन्द्रीत भइरहेका छन्, जसका कारण गाउँगाउँमा चहलपहल बढको छ । सदरमुकाम र मुख्य व्यापारिक केन्द्रहरु सुनसान बन्दैछन् । तर, पाँचथरको सदरमुकाम फिदिम भने आफ्नो साख जोगाउन हालसम्म सफल भएको देखिन्छ ।

मेची राजमार्ग झापाको चारआलीबाट सुरु भएर ७८ किलोमिटरमा इलाम, इलामबाट ६८ किलोमिटरमा पाँचथर र त्यहाँबाट ८६ किलोमिटरहुँदै ताप्लेजुङ पुग्छ । राजमार्ग कालोपत्रे भइसकेकोले झापादेखि भित्रने उपभाोग्यसमेतका सामान अहिले गाउँ–गाउँ पुग्छ । र पनि, फिदिमका केही उत्साही युवाले दैनिक उपभोग्यसमेतका सामानको थोक पसल खोले ।

थोक पसलकै कारण पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका सदरमुकामदेखि बिकट गाउँसम्म फिदिमबाट नै सामान आपूर्ति हुन्छ । ‘यहीँदेखि सामान गाउँ–गाउँ वितरण हुनाले पनि फिदिममा व्यापारिक कारोबारमा खासै कमी आएको छैन’, उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष नवराज घिमिरेले भने ।

कोरोना र आर्थिक मन्दीका कारण साना केही होटल र किराना पसल भने बिस्थापित भए । ‘साना होटलहरुमा कारोबार नगन्य बन्यो । तर, ठूला पसल, होटलहरुमा खास असर भएन’, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा थोक बिक्रेता दीपक नेपालले भने । उनका अनुसार फिदिममा दैनिक १५ वटासम्म मालबहाक ट्रक सामान लिएर आउँछन् ।

करिव १ करोड ५० लाख रुपैयाँको सामान दैनिक फिदिम भित्रन्छ । त्यसबाहेक होटलहरुको कारोबार, जुत्ताचप्पल, कपडा, मोवाइल, रिचार्ज कार्डसमेत करिव ५० लाख रुपैयाँको भित्रने गरेको अर्की व्यवसायी चन्दा ओझा थापाको भनाइ छ । उद्योग वाणिज्य संघकी सदस्यसमेत रहेकी थापाका अनुसार पूर्वी पहाडका अन्य सदरमुकामको जस्तो व्यापारिक कारोबारमा फिदिम अहिलेसम्म साख जोगाउन सफल भएको छ ।

‘फास्ट मुभिङ कन्जुमिङ गुड्स’को प्रायः सबै डिलर फिदिममा छ । जसले यो क्षेत्रमा सामान बितरण गर्न बाहिरका थोक व्यापारी आउन पाउँदैनन् । त्यसले पनि फिदिमको आर्थिक गतिविधि घट्नबाट रोकिएको अर्का व्यवसायी सूर्यकुमार निरौलाको बुझाइ छ ।

पाँचथरमा संघीयताअघिका महिला विकास शाखाबाहेक अरु सरकारी कार्यालय यथावत छन् । डिभिजन कार्यालय स्थापना गरेर ताप्लेजुङ पनि पाँचथरबाटै सेवा दिने भएकोले कर्मचारीको चाम पनि घट्न पाएन ।

जिल्लाका डेरीबजार, जोरपोखरी, तृतीयाजस्ता साना व्यापारिक केन्द्रहरुमा भने चहलपहल घटेको पाइन्छ । पालिकाका केन्द्रमा भने चहलपहल खुव छ । त्यहाँ सबै सरकारी कार्यालय र बैंकहरु स्थापना भइसकेका कारण पनि नागरिकता र राहदानी लिनमात्र स्थानीय सदरमुकाम आउँछन् । सबै सेवा सुविधा गाउँमै पाइने भएकोले पनि उतै मानिसको चाम बढेको देखिन्छ ।

इलाम सदरमुकाम बजार यसअघि नै व्यापारिक रुपमा कमजोर थियो । मेची राजमार्ग बजारबाहिरबाट खनिएपछि मानिसको चहलपहल कम हुँदै गयो । ‘अहिले बैंक, सरकारी कार्यालयहरु पालिका केन्द्रीत भएपछि त, इलामको व्यापारिक कारोबारमा ठूलो मन्दी आयो,’ इलामका अग्रज पत्रकार विजयशेखर भट्टराईले भने, ‘चिया बगान र महेन्द्र रत्न बहुमुखी क्याम्पसकै कारण सुन्दर नगरी इलाम पर्यटकको भरमा सीमित भएको छ ।’

इलामकै हालतमा छ ताप्लेजुङको फुङलिङ बजार पनि । यहाँ पनि ग्रामीण व्यपारिक केन्द्रका कारण आर्थिक कारोबार प्रायः नगन्य भइसकेको छ । ताप्लेजुङबाट दुई दशकदेखि निरन्तर पत्रकारिता गर्दै आएका आनन्द गौतमका अनुसार पाथीभरा दर्शन गर्न जाने धार्मिक पर्यटकको गन्तव्य बनेको फुङलिङ संघीयतापछिको विकेन्द्रीत अवधारणाअनुसार व्यापारिक कारोबारमा भने दिनदिनै ह्रास व्यहोरिरहेको छ ।