आठराई अब आठराई रहेन !

आठराई अब आठराई रहेन !


  • सुरेन्द्र सुवेदी, इवा (तेह्रथुम)

‘२०३४ ताका ताप्लेजुङले आठराईका पाँच गाउँ पञ्चायत लग्यो, अनि आठराई आठराई नै रहेन ।’ रणदल आधारभूत विद्यालय आठराई-४ का पूर्व प्रधानाध्यापक जयप्रकाश इङनामले पहिचान गुमेको भावमा भने, ‘अब त आठराईलाई कसरी आठराई भन्नु ?’

हो, ताप्लेजुङको नजिक भएकै कारण निगुरादिन, फुलबारी, हाङपाङ, चाँगे र ढुंङ्गेसाँघु ताप्लेजुङतिर गाभियो । अनि आठराईको पहिचानमा खोट लागेको इवाका युवा व्यवसायी गणेश प्रसाईंको बुझाइ रहेछ । आठराई भनेकै १२ गाउँपञ्चायतको समग्र नाम थियो, कुनैबेला । अहिले त आठराईमा संक्रान्ती (डाँडागाउँ) खाम्लालुङ, ह्वाकु (हाङको), इवा, छातेढुंगा (पोखरी), चुहानडाँडा र थोक्लुङ (थगकलुङ) मात्र बाँकी छन् ।

विगतमा आठ जना राजाको नामबाट आठराई नामाकरण भएको विगत जयप्रकाश इङनामको प्रकाशोन्मुख पुस्तकमा उनले वर्णन गरेका छन् । सुमेवाहाङ, कन्दङवाहाङ, इङनामहाङ, सेन्दाङहाङ, पोमोहाङ, याक्सोहाङ, हाङबाङहाङ र आङमाङहाङ राजाहरुकै कारण आठराई नामाकरण भएको इतिहास छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा इवामा तेह्रथुम बहुप्राविधिक शिक्षालय हालै स्थापना भएको छ । करिव ५ करोड रुपैयाँ लगानीमा भव्य महल बन्दैछ, शिक्षालयका लागि । ‘सानो गाउँ र कृषि तथा भेटेरिनरीतर्फ विद्यार्थीको आकर्षण कम भएकै कारण विद्यार्थीको अभाव त हुन्न ।’ शिक्षालयका कर्मचारीहरू शिक्षालय निरन्तर सञ्चालनमा समस्या आउन नदिन नेतृत्वसित आग्रह गर्छन् ।

आठराईको पहिचान बचाउन सबै एकजुट हुनुपर्नेमा स्थानीयको जोड छ, तर त्यो कति सार्थक हुन्छ ? समयले बताउला ।