राज्यको एक चुनौती- पत्रकारमाथिको हिंसा

राज्यको एक चुनौती- पत्रकारमाथिको हिंसा


सन्दर्भ : नोभेम्बर २ अर्थात् पत्रकार विरुद्धको अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस

पत्रकार चाहे झापाका हुन् वा बैतडीका- उनीहरूमाथि हिंसा भएको छ भने हामी एकढिक्का भएर पीडितको पक्षमा वकालत गर्दछौँ । पत्रकारितामा सहधर्मिता हुन्छ, जात, धर्म र भूगोल केही हुँदैन । ओम शर्मा आस्थाले कांग्रेस, कम्युनिष्ट या जेसुकै हुन्– हामीलाई त्यसको परवाह हुनु हुँदैन ।
✍ डिल्लीराम अम्माई

समाजमा पत्रकारमाथि हुने आक्रमणको दण्डहीनताले चिन्ताजनक अवस्थाको सृजना हुनु सूचनाक्षेत्रको लागि मात्र नभएर सिङ्गो समाज र वैश्विक समुदायको लागि अभिशाप हो । पत्रकारविरुद्धको अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवसकै पूर्वसन्ध्यामा नेपालमा एक पत्रकार ओम शर्मा रिपोर्टिङकै क्रममा सांघातिक आक्रमणमा परेका छन् । गैरआवाशीय नेपाली संघको बालुवाटारस्थित मुख्यालयमा नेकपा एमालेको युवा समुहबाट आक्रमणमा परेका नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष शर्मा यो पङ्क्ति लेखिँदासम्म अस्पतालमा उपचाररत रहेका छन् ।

पत्रकार शर्मामाथि भएको आक्रमणलाई लिएर सामाजिक संजालमा एक खालको तरङ्ग नै आएको देखिन्छ । क्रिया–प्रतिक्रियाको बाढी नै चलिरहेको छ । अधिकतम मानिसहरूले उक्त घटनाको छानबिन हुनुपर्ने, दोषीलाई क्षतिपूर्तिसहित कारवाही गरिनुपर्ने र आक्रमणको योजना बनाउनेहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिरहेका छन् । नेपाल पत्रकार महासंघले विज्ञप्ति नै जारी गरेर यो आक्रमणको निन्दा गरेको छ । मुख्य कुरा उनले आफ्नो सञ्चारसामाग्री नष्ट गर्न नदिएको भए मारिन पनि सक्थे । त्यसैले यो घटनामा कानुनतः उनको ज्यानसम्बन्धी मुद्धा आकर्षित हुन्छ नै ।

यो घटनाउपरका प्रतिक्रियाहरू हेर्दा लाग्छ- केही ब्यक्ति वा एमालेनिकट समुहहरूले पत्रकार ओम शर्मा त्यहाँ नगएको भए जोगिन सक्थे भनेर सल्लाह दिन खोजेको देखिन्छ । सम्बन्धित पक्षलाई ज्ञात होस् कि पत्रकार रिपोर्टिङको लागि कहाँ–कहाँ जान्छ त्यो उसको ब्यक्तिगत कुरा हो । यदि मिडियाहाउसले खटाएको छ भने यो द्वन्द्वग्रस्त क्षेत्र वा युद्धको बीचमा पुगेर पनि सूचना सम्प्रेषण गर्नुपर्ने हुन्छ । त्यहाँ उसले आफूलाई लागेको भरपर्दो स्रोत ब्यक्ति आफै चयन गर्दछ । सुरक्षाको मामलामा उसले अधिक विश्वास गरेको संस्था, समूह वा ब्यक्तिलाई उसले चुन्न सक्छ । तिनीहरूबाट सहयोग लिन सक्छ र सूचनाका महत्वपुर्ण क्लुहरू प्राप्त गर्न उ स्वतन्त्र हुन्छ । त्यहाँ आचारसंहिता, कानुनको पालना गर्नुपर्ने दायित्व बहन गर्दै स्वतन्त्रतापूर्वक उसले समाचारका कच्चापदार्थहरू लिन पाउनु उसको नितान्त वैयक्तिक अधिकारको कुरा हो ।

अर्को कुरा, अरु कसैलाई मन नपरेको ठाउँमा पत्रकार पनि नपुगिदिए हुन्थ्यो भन्ने सोच नै गलत हो । पत्रकार आफ्नो वा अभिन्न मित्रको इच्छापत्र बोकेर विवादित वा अप्ठ्यारा स्थानमा समाचार संकलन गर्न पुगेको हुँदैन । ऊ मिडियाहाउसले खटाएको क्षेत्रबाहेक आफ्नो सूचनाको प्लट आफै रोज्छ, आफै समाचार बनाउँछ र सम्प्रेषण गर्छ । त्यसको लागि कसैले अवरोध गर्छ वा आक्रमण गरी सूचना सामाग्री लुट्छ भने त्यो जधन्य अपराध हो । ओम शर्मा एक सिकारु पत्रकार नभएर दशकौँदेखि पत्रकारिता गर्दै आएका पाका पत्रकार हुन् । उनी एक अनलाइन पत्रिकाका प्रधानसम्पादक मात्र नभएर नेपाल पत्रकार महासंघका नेतासमेत हुन् । त्यसैले उनको विवेकले त्यहाँ केही सूचनायोग्य कुरा छ जसको प्रसारण गर्नु जरुरी छ भन्ने लाग्यो भने उपयुक्त सम्पर्क ब्यक्ति रोज्नु, खोज्नु उनको निजी कुरा हो/थियो ।

तर सूचनाको सम्प्रेषण हुनुअगाडि नै उनमाथि जघन्य आक्रमण हुनुले त्यहाँ ‘समुदायले थाहा पाउनयोग्य सूचना’ थियो भन्नेतर्फ नै प्रमाणित गरेको छ ।

कतिपय मानिस पार्टीको कारवाहीमा परिने डरले होला पत्रकारमाथि भएको आक्रमणमा मौन छन् । अझ केही पत्रकारले ‘पत्रकारमा आ-आफ्ना सीमा हुन्छन्, कलम चलाउन छोडेर पुरै राज्यसत्ता र संस्था चलाउन हिँडेपछि सधैं दुर्घटनामा पर्ने सम्भवना हुन्छ, त्यसैले आफ्ना सिमा र पेशाको मर्यादामा बसौँ’ भनेर घटनाको पकृतिलाई सामान्यीकरण गर्न लागिपरेको देखिन्छ । त्यो पत्रकारको स्वनियमन र स्वविवेकभन्दा बाहिरको कुरा हो ।

‘पत्रकारको सहधर्मिता हुन्छ, त्यसैले आस्था जात र धर्म नहेरी आक्रमणको निन्दा गर्दै पीडित पत्रकारको पक्षमा ऐक्यबद्धता जाहेर गर्नुपर्छ’ भन्नुको अर्थ आक्रमणमा परेका पत्रकारलाई स्वास्थ्यलाभको कामना गर्नु मात्र नभइ घटनामा दोषी देखिएकाउपर कारवाहीको माग गर्नु र आक्रमणको निन्दा गर्नु पनि हो । हामी युक्रेनमा मारिएका हुन् वा गाजामा, उनीहरूको राजनैतिक आस्था, जात, धर्म र देश हेरर उनीहरूउपर भएको आक्रमणको निन्दा गर्दैनौँ । उनीहरूको सेवा, दायित्व र अधिकारलाई विश्लेषण गरेर समर्थन वा विरोध गर्दछौँ । पत्रकार चाहे झापाका हुन् वा बैतडीका- उनीहरूमाथि हिंसा भएको छ भने हामी एकढिक्का भएर पीडितको पक्षमा वकालत गर्दछौँ । पत्रकारितामा सहधर्मिता हुन्छ, जात, धर्म र भूगोल केही हुँदैन । ओम शर्मा आस्थाले कांग्रेस, कम्युनिष्ट या जेसुकै हुन्– हामीलाई त्यसको परवाह हुनु हुँदैन ।

यसर्थ, न्यायिक छानविनको माग गर्दै यस्ता घटनामा पीडित पत्रकारको पक्षमा अन्तराष्ट्रिय ऐक्यबद्धताको लागि सबैसँग माग गरिरहेका हुन्छौँ । सामान्यतया तानाशाही राज्य संयन्त्रभित्र क्रुर सामाजिक ग्याङहरू हुने भएकोले सामाजिक अराजकता व्याप्त हुन्छ । त्यस्ता अराजक सामाजिक संरचनाभित्र दण्डहीनताका धेरै चुनौतीहरू हुन्छन् । नेपालको सन्दर्भमा पनि पत्रकारविरुद्ध हुने अपराधको पुष्टि मंगलबार (१४ कात्तिक २०८०) ओम शर्मामाथि भएको आक्रमणले अझै पुष्टि गरेको छ । यस्ता घटनाहरूलाई मानवअधिकारको प्रत्याभूति भएका देशहरूमा जघन्य अपराधको रुपमा लिइन्छ ।

संसारभरी पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनताको अन्त्य गर्नु पछिल्लो समयको सबैभन्दा महत्वपूर्ण र जटिल चुनौती हो । अभिव्यक्ति स्वतन्त्रता र सबै नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न यो एक आवश्यक पूर्वशर्त समेत हो ।

पछिला चुनौतीहरूको सन्दर्भमा युनेस्को :

सन् २०२३ मा पत्रकारउपर भएका घटनाहरू अवलोकन गर्दा पत्रकार र सञ्चारकर्मीहरूले आफ्नो पेशाको अभ्यासमा सामना गर्ने मुख्य चुनौतीहरूको बारेमा सचेतना जगाउनुको साथै हिंसा र दमनको वृद्धिलाई न्यूनीकरण गर्न राज्यलाई दबाब दिनु अझै जरुरी देखिएको छ । पछिल्ला घटनाहरू हेर्दा, सामाजिक संघ–संस्थाको अन्तर्विरोध तथा युद्धग्रस्त क्षेत्रको समाचार कभरेजको सन्दर्भमा प्रेस तथा पत्रकारहरूमाथि आक्रमण र प्रतिबन्धहरू बढिरहेका छन् । कतिपय देशहरूमा सार्वजनिक हितका विषयमा पत्रकारहरूका विरुद्ध न्यायिक संयन्त्रको दुरुपयोग बढ्दो छ । द्वन्द्वकालमा नेपालमा जस्तै अरबियन देश, मेक्सिको फिलिस्तिन, युक्रेन, रुसलगायतका देशहरूमा पत्रकारहरूको जबर्जस्ती हत्या, आक्रमण तथा निर्वासनमा वृद्धि समेत भइरहेको छ ।

सन् १९९३ देखि हालसम्म १ हजार ६ सयभन्दा बढी पत्रकारहरू समाचार रिपोर्टिङ गर्ने र जनतामाझ सूचना पुऱ्याएको कारण मारिएका छन् । युनेस्कोको अनुसन्धानअनुसार, मारिएका पत्रकारहरूको दशमध्ये नौ घटनामा हत्याराहरू दण्डित नगरिएको तथ्य सार्वजनिक भएको छ । दण्डहीनताको वृद्धिले थप आक्रमण र हत्याहरू निम्त्याउँछ । त्यसैले पत्रकार शर्मामाथि भएको आक्रमणलाई मुलधारका पत्रकारलगायत सम्बन्धित निकायले सामान्य रुपमा लिनु हुँदैन । नेपालमा बिग्रँदै गएको सामाजिक सद्भाव र पत्रकारमाथि हालै भएको आक्रमणले कानून र न्यायिक प्रणालीको विघटनतर्फ नै संकेत गरेको छ ।

यिनै यावत कारणहरूले गर्दा, यो वर्ष संयुक्त राष्ट्र संघको महासभाले ‘महासभाको प्रस्ताव A/RES/68/163Ú’ मार्फत नोभेम्बर २ लाई ‘पत्रकारविरुद्धको अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस’ घोषणा गरेको छ । प्रस्तावले सदस्य राष्ट्रहरूलाई दण्डहीनताको वर्तमान संस्कृतिको विरुद्धमा निश्चित उपायहरू लागू गर्न आग्रह गरेको छ । मिति २ नोभेम्बर २०१३ मा मालीमा दुई फ्रान्सेली पत्रकारको हत्याको सम्झनामा नोभेम्बर २ को ‘अन्तर्राष्ट्रिय दिवस’ चयन गरिएको थियो ।

यो ऐतिहासिक संकल्पले पत्रकार र सञ्चारकर्मीमाथि हुने सबै आक्रमण र हिंसाको भत्सर्ना गर्दछ । यसले सदस्य राष्ट्रहरूलाई पत्रकार वा सञ्चारकर्मीविरुद्धको हिंसा रोक्न, जवाफदेहिता सुनिश्चित गर्न, पत्रकार तथा सञ्चारकर्मीविरुद्धको अपराधका दोषीलाई न्यायको कठघरामा ल्याउन र पीडितहरूलाई उचित उपचारको पहुँच सुनिश्चित गर्न सक्दो प्रयास गर्न पनि विशेष आग्रह गरेको छ । यसले पत्रकारहरूलाई स्वतन्त्र रूपमा र अनावश्यक हस्तक्षेप बिना आफ्नो काम गर्न सुरक्षित र सक्षम वातावरण प्रवर्द्धधन गर्न राज्यहरूलाई आग्रह समेत गर्दैछ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा, विधानतः बिना रोकटोक र भयरहित समाचार सम्प्रेषण र प्रेस स्वतन्त्रताको नाराले निष्पक्ष निर्वाचन, सामाजिक न्याय र स्वतन्त्र प्रेसको भूमिकालाई प्रष्टता दिन खोजेको छ । यसले स्वतन्त्र प्रेसको रक्षा गर्न र हिंसा तथा दण्डहीनताविरुद्ध लड्न सार्वजनिक आह्वान गरेको छ । विधानतः मिडियाको स्वतन्त्रता, दिगोपन र विविधतालाई प्रवर्द्धधन गर्ने संस्थागत ढाँचाहरूलाई बलियो बनाउन प्रभावकारी उपायहरू अपनाउने राज्यहरूको दायित्वलाई पुष्टि गर्दछ । नेपालको सन्दर्भमा पनि, समस्या राज्यको नीतिमा भन्दा ब्यवहारमा बढी देखिएकोले विधिको अक्षरतः पालना गराउनेतर्फ राज्यका सुरक्षा संयन्त्रहरूलाई परिचालन गराउनेतर्फ सम्बन्धित निकायहरूको ध्यान जानु आवश्यक छ । अन्यथा अनेकौँ पटक पत्रकारहरूले ओम शर्माको हविगत ब्यहोर्नुपर्ने हुन सक्छ । सम्पूर्ण पत्रकार र सूचनाकर्मीहरूको सहधर्मिता र एकता अमर रहोस् !