साहित्यमा प्रवासी नेपालीको आँशु, नोष्टाल्जिया र सङ्घर्षको अनुभूति

साहित्यमा प्रवासी नेपालीको आँशु, नोष्टाल्जिया र सङ्घर्षको अनुभूति


विभिन्न आरोह-अवरोह झेल्दै ‘अनेसास बेल्जियम’

जसरी कुनै एक भाषा जन्मन समुदायको लामो अभ्यास, व्युत्पत्तिको लामो शृङ्खला र अपभ्रंश तथा रुपान्तरणको युगिन बाटो पार गर्नुपर्ने हुन्छ, त्यस्तै यसको निरन्तर जीवन्तताको लागि पनि त्यही बाटो हिँड्नु अनिवार्य छ । त्यसैले प्रवासमा भाषाको जीवन्तताका लागि निरन्तरको प्रयोग, जागरण र प्रेरणा अझै जरुरी देखिन्छ । नत्र प्रवासमा अल्पसङ्ख्यक भाषाहरू हराएर जाने खतरा रहन्छ ।
✍ डिल्ली अम्माई
बेल्जियमको सन्दर्भमा :

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको नवौँ अधिवेशन केही दिनअघि सम्पन्न भयो । वि.सं. २०६३ मा बेल्जियमका केही साहित्यप्रेमीहरूले स्थापना गरेको यो समाजको उद्देश्य धेरै थिएन । उनीहरूले बेल्जियममा भएका स्रष्टाहरूलाई संगठित गरेर साहित्यिक गतिविधिलाई निरन्तरता दिनको लागि अनेशासको बेल्जियम च्याप्टर बनाउने जमर्को गरेका थिए । त्यसपछिका दिनमा अनेसास बेल्जियम आफ्नै रफ्तारमा अगाडि बढिरहेको छ ।

हरेक अभियानको बीच-बीचमा धेरै खालका उतारचढावहरू आइरहन्छन् । मानिसको जीवनजस्तै साहित्यिक अभियान वा जागरणको जीवन पनि सरल रेखाबाट अगाडि बढ्न सक्दैन । यसले आफ्नो लामो जीवनमा धेरै भोगाइहरू भोगेको हुन्छ ।

त्यस्तै गरेर सन् २००७ मा स्थापना भएको ‘अनेसास बेल्जियम’को जीवनकालमा धेरै साहित्यप्रेमीहरूले नेतृत्व गरिसकेका छन् । स्थापनाकालमा साहित्यकार कृष्ण बजगाईंले नेतृत्व गर्नुभयो । अनेसास बेल्जियममा संस्थापक उपाध्यक्ष विमल गिरी, महासचिव रमेश कँडेल, सचिव शंकर बजगाईं, कोषाध्यक्ष कुम शाही तथा सदस्यहरू विनिता रिमाल र खिम गुरुङले आफ्नो नाम साहित्यिक इतिहासमा संस्थापकको रूपमा दर्ज गराइसक्नुभएको छ ।

त्यसपछि २०११ को कार्यसमितिमा विमल गिरी, दीपेन्द्र केसी (२०१४), दीपकज्योती पौडेल (२०१६), राजकुमार पुडासैनी (२०१८), परमानन्द सापकोटा (२०२१), डिल्ली अम्माई (२०२३) र अहिले सौरभ कारंजितले अनेसास बेल्जियमको नेतृत्व गर्दै हुनुहुन्छ । यस संगठनको दोश्रो कार्यकालदेखि शाखामा रहेर काम गर्नुभएका साहित्यकार पंचम अधिकारी, मोहन खत्री, कथाकार जेबी शेर्पालगायतका अग्रजहरू अनवरत क्रियाशील हुनुहुन्छ भने कविहरू ब्रम्ह वाग्ले, यामु निरौला, नन्द घले, जमुना बास्तोला, गोपाल दाहाल, माधव सापकोटा, पत्रकार ओम शर्मालगायत विभिन्न संघ–संस्थाहरूले यो संस्थामा पुऱ्याएको योगदान अतुलनिय रहेको छ ।

अनेसास बेल्जियमले शुरुका केही कार्यकालसम्म विशुद्ध साहित्यिक पत्रिका ‘शब्दाञ्जली’को प्रकाशनलाई निरन्तरता दिन सक्यो । १७ जना आजीवन सदस्य भएको युरोपकै पुरानो यो साहित्यिक अभियानलाई बेनेलक्सका राजदूतहरूले निरन्तर प्रेरणा र माया दिइरहनुभएको छ ।

यो अविछिन्न यात्रामा यस संगठनभित्रका स्रष्टाहरूले यन्त्रवत, रोडम्याप लघु कथा, हिउँको तन्ना हाइकु, श्रष्टा र डिजिटल वार्ता (कृष्ण बजगाईं), सम्झनाका तरेलीहरू, उपासना (गीति संग्रह), विभाजित मन र सुनाखरी (हाइकु संग्रह), गोधुली मन, स्पन्दनका छालहरू तथा अजम्बरी मुक्तक संग्रह (विमल गिरी), पथिक प्रवासन उपन्यास (पंचम अधिकारी), समुन्द्र र सपना कथा संग्रह (सञ्जु बजगाईं), युरोपको बस्तुगत सामान्य ज्ञान (दीपकज्योति पौडेल), संग्रह, छरिएका सौरभ मुक्तक संग्रह, नर्थ सीको किनारबाट तथा अनुभूतिका अक्षरहरू कविता संग्रह (दीपेन्द्र केसी), बेसिक नेपाली अंग्रेजी शब्दकोष (कुन्दन केसी), तपाईं युरोपमा गाडी चलाउनुहुन्छ, तपाईं निदरल्याण्ड बोल्न चाहनुहुन्छ ? (पदम गुरुङ), राजकुमार पुडासैनी, जीवनको आरम्भ कविता संग्रह युरोपको खाना बनाउने विधिसम्बन्धी रेसपी पुस्तक (हरि श्रेष्ठ) लगायत थुप्रै भाषा, संस्कृति र साहित्यसँग सम्बन्धित कृतिहरू दिइसक्नुभएको छ । त्यस्तै पङ्क्तिकारले जानकारी नपाएका अन्य कृतिहरू पनि हुन सक्छन् । अनेसास बेल्जियमले आफ्नै संकलन र प्रकाशनमा दुई कविता संग्रहका पुस्तकसमेत प्रकाशित गरिसकेको छ, जसमा नेपाली साहित्य सँगालो, जीवनको आरम्भ, युरोपमा नेपाली कविताहरू (कविता संग्रह) पर्दछन् ।

यसअलावा बेल्जियमको सेंत्रुदेंन नगरपालिकाको साहित्यिक एकेडमी, अनेसास बेल्जियम र द हिमालयन सोसाइटीको संयुक्त आयोजनामा संकलित र प्रकाशित ‘फ्रित नेपाल’ नामक नेपाली र डच भाषाको कविता संग्रह एक उल्लेख्य कृति हो भने गीतकार यशोदा थापाले पनि गीत रचनाको क्षेत्रमा निरन्तर मेहनत गरिरहनुभएको छ ।

यसले आफ्नो जीवनकालमा साहित्यिक सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय सम्मेलनलगायत सम्पन्न गरिसकेको छ । अनेसास केन्द्रले आयोजना गरेका केन्द्रिय सम्मेलनहरूमा यसका नेतृत्वहरूले उत्तिकै महत्वका साथ भाग लिने गरेका छन् । यसले नेपाली भाषा कक्षाको लागि २००७ बाटै लुभेन शहरबाट सुरुवात गर्दै आएको थियो भने अन्त्वेर्पेन शहरमा २०१० बाट नेपाली कक्षा संचालनमा विविध प्रकारले प्रेरणा दिइरहेको छ । त्यस्तै, बेल्जियमको ओस्टेनडे लगायत नेपाली भाषा स्कुलहरू विभिन्न आरोहअवरोह झेल्दै चलिरहेका छन् ।

अन्तर्राष्ट्रिय सन्दर्भ :

साहित्य भाषासँग अभिन्न रूपले जोडिएको हुनाले अनेसासको बोष्टन घोषणामा साहित्य र भाषालाई हाड-मासुको जत्तिकै महत्व दिइएको हो । हामीले बेल्जियम सँगसँगै युरोपको सन्दर्भमा पनि बोष्टनको घोषणाको दीर्घकालिक मर्मलाई आत्मसात गर्ने भग्मजदुर प्रयत्न गरिरहेका छौँ । यसलाई सम्पूर्ण नेपाली डायस्पोराले आत्मसात गर्न सके प्रवासबाट हाम्रो भाषा कहिल्यै हराउने छैन । त्यसैले हाम्रो जागरण भाषा र साहित्यको लागि सँगसँगै हुनुपर्छ । एकबिना अर्काको अस्तित्व असम्भवप्रायः छ ।

अभियानले भाषा र साहित्यको महत्वलाई ताजगी र जीवन्तता प्रदान गरिरहन्छ । त्यसैले अनेसासका संस्थापक तथा अग्रज होमनाथ सुवेदीले भन्ने गर्नुहुन्थ्यो, ‘साहित्यिक अभियान नदीझैँ मन्द आवाजमा अघि बढाइरहनु पर्दछ । साहित्यलाई भाषासँग नजोडी साहित्यले मात्र गति लिने सक्दैन, भाषा मेटिएपछि साहित्यको मधु रसमा निर्लिप्त हुने पाठकहरू रहँदैनन् । एकबिना अर्काको अस्तित्व असम्भव छ ।’

सँस्थापकले भनेझैँ नेपाली भाषाको यही महत्वबोधलाई मनन गरेर त्यसपछिका नेतृत्वहरूले यो सँस्थालाई नेपाली भाषा साहित्यको ग्लोबल संजाल बनाउँदै लग्नुभयो । अहिले यसले संसारभरिका नेपाली डायस्पोरालाई नेपाली भाषा र साहित्यको महत्वबारे जागरुक गराइरहेको छ ।

पदम सुवेदीको कालदेखि क्रमशः किरण ढुंगाना, अच्युत श्रेष्ठ, वसन्त श्रेष्ठ, सरला श्रेष्ठ, भीमप्रसाद रेग्मी, पुरुषोत्तम सुवेदी, डा. दुबसु क्षेत्री, मोहन सिटौला, डा. कुमार बस्नेत, ज्ञानेन्द्र गदाल, गीता खत्री, पदम विश्वकर्मा, राधेश्याम लेकाली, प्रकाश पौडेल र गोवर्द्धन पुजासम्मको कार्यकालमा अनेसासको शाखा बिस्तारको काम मात्र भएको छैन, यसले आफ्नो दीर्घकालिन बाटोलाई पनि क्रमशः निखार्दै र अझ प्रष्ट पार्दै लागेको छ ।

कसै-कसैलाई लाग्दो हो भाषा-साहित्यको अभियानको गति सुस्त भो, कमजोर भो, जागरणले समुदायमा पार्ने प्रभाव नगन्य देखियो । अभियानको क्रममा त्यस्तो लागेको हुन सक्छ, तर भाषा साहित्यको जागरणले झट्ट परिणाम दिन्छ, तुरुन्तै यसको प्रभावले गुणात्मक फड्को मार्छ र जागरणको असरले ब्यापक रुपमा हल्लाउनुपर्छ भनेर सोच्नु अति हुन सक्छ । हामीले बुझ्नु र बुझाउनुपर्छ कि प्रवासमा साहित्यिक र भाषिक जागरण एक दीर्घकालिक अभियान हो । यसको परिणाम आजको भोलि देखिने खालको हुँदैन ।

त्यसैले बोष्टन घोषणाले भाषा र साहित्यको सम्बन्धलाई समान महत्व दिँदै आफ्नो रणनीतिमा संगठन बिस्तारलाई मात्र महत्व नदिएर भाषा बचाउने जागरणबिना नेपाली डायस्पोरामा लेखिने साहित्यको महत्व कमजोर हुने निष्कर्ष निकालेको हो । त्यो घोषणाले समुदाय र भाषा, नेपाली साहित्य र पाठक, साहित्यको सम्वृद्धि र बौद्धिक प्रेरणा तथा साहित्यको अन्तर्राष्ट्रियकरणको मुद्धालाई रणनैतिक सारको रूपमा लिने बाटो तय गरेको हो ।

अर्कोतर्फ, बोष्टन घोषणाले तात्कालिक कार्यनीतिको रूपमा संगठन वा शाखाको बिस्तार, प्रभावकारी कार्यक्रमहरूको व्यापकता, जनसमुदायको बीच अनेसासका गतिविधिहरूको प्रचार र नेपाली भाषाको पठनपाठनलाई एक परिवार एक पाठशालाको रूपमा लैजाने प्रतिबद्धता जाहेर गरेको छ । त्यस्तै, अनुशासन र पारदर्शितालाई अनेसासले सर्वश्रेष्ठ मानक बनाउने कुरा पनि घोषणामा सुस्पष्ट रूपले उल्लेख छ ।

प्रवासी साहित्यको बुझाइ वा सार :

साहित्य कुनै सुत्रमा लेखिने तथ्यपरक विवरण नभएर मनोचैतन्य रुझानसहितको भावना हो । तर यसमा सामाजिक परिवेश, बस्तुस्थिति, चेतनाको स्तर र सांस्कृतिक आरोह-अवरोहहरूको अद्वितीय छाप हुन्छ । साहित्यमा ब्यक्त बहाव तथा अन्तरदृष्टिहरू निरपेक्ष हुँदैनन्, मनभित्र चलेका तरङ्गलाई एकीकृत गर्दै साहित्यले मनलाई आकर्षित गर्छ, भावहरूको भिन्न-भिन्न टुक्राहरूलाई जोड्छ र मनलाई मात्र नभएर समाजलाई समेत परिवर्तनको निकास दिने कोसिस गर्दछ ।

साहित्यमा मानिसको बाह्य जीवनको परिस्थितिले ठुलो प्रभाव पारेको हुन्छ, जसले गर्दा उसको आन्तरिक जीवनको गोरेटो कोरिन्छ र, साहित्यकारको भावजगत् एउटा सिंगो सामाजिक मनोआकृतिमा प्रकट हुन्छ । सामान्यतः साहित्य दुःखको परिवेशमा लेखिएको हुन्छ, जुन आन्तरिक मानिस वा बाह्य जगतको किन नहोस्, भौतिक वा अभौतिक किन नहोस् ! मनोरमण साहित्यको बोक्रो हो भने दुःखबाट मुक्ति साहित्यको अन्तिम सार हो । त्यसैले साहित्यलाई सापेक्ष सारसहित स्विकार्न साहित्यप्रेमीहरू बाध्य हुनुपर्छ ।

माथिको कुरा साहित्यको सरल परिभाषा हो । तर हामी प्रवासी साहित्यको सन्दर्भमा भन्नुपर्दा प्रवासी सृजनामा यहाँको कठिन परिवेशलाई अनुकुलतामा बदल्ने र आफ्नो दिनचर्याको प्रभावपूर्ण अवस्थालाई सर्जकले परहेज गर्नै सक्दैन । आफ्नो भूगोलबाट टाढा रहँदा उसको मनलाई सबैभन्दा प्रभाव पार्ने नोष्टाल्जियालाई साहित्यको कन्दरामा लुकाएर राख्नै सक्दैन । भावनाको लामो यात्रामा आफू बसेको देश र आफु हुर्केको परिवेशबीच पुल नबनाइ प्रवासी साहित्यको कथा, कविता, निबन्ध वा अन्य विधा गतिहीन हुने हुँदा स्वदेशको साहित्य भन्दा यो फरक बन्दछ । खासमा भन्दा डायास्पोरिक साहित्य बढी भावनाप्रधान हुनुमा उसको उपस्थितिको अवस्था जिम्मेवार हुन्छ । यसर्थ हामी नेपाली भाषा, संस्कृति र साहित्यका विद्यार्थीहरूले अनेसासको प्लेटफर्ममा जम्मा भएर आफ्ना भावनाहरू पोख्दा कृतिहरूको प्रधान पक्षमा विक्षिप्तता देखिनु सामान्य हो ।

मातृभाषाको जीवन्तताको प्रश्न लामो र युगान्तक हुन्छ । एकाध वर्ष वा दशकको प्रयासले मात्र भाषा मानिसको जनजिब्रोमा रहेर बाँच्न, फल्न र फुल्न सक्दैन । जसरी कुनै एक भाषा जन्मन समुदायको लामो अभ्यास, व्युत्पत्तिको लामो शृङ्खला र अपभ्रंश तथा रुपान्तरणको युगिन बाटो पार गर्नुपर्ने हुन्छ, त्यस्तै यसको निरन्तर जीवन्तताको लागि पनि त्यही बाटो हिँड्नु अनिवार्य छ । त्यसैले प्रवासमा भाषाको जीवन्तताका लागि निरन्तरको प्रयोग, जागरण र प्रेरणा अझै जरुरी देखिन्छ । नत्र प्रवासमा अल्पसङ्ख्यक भाषाहरू हराएर जाने खतरा रहन्छ ।

अन्तमा, अनेसास बेल्जियम मात्र नभएर संसारभरका शाखाहरूले बोष्टन घोषणालाई संगठनको मार्गनिर्देशक बनाउन आफूसक्दो योगदान गर्नुपर्ने बेला आइ नै सकेको छ । नेपाली भाषाको बिस्तार र पुस्ता हस्तान्तरणको मुद्धा देशमा भन्दा प्रदेशमा गम्भीर छ । साहित्यको सृजनात्मक अभ्यासमा रुचि, ज्ञान, वातावरण र समय अभावका कारण जटिलताहरू धेरै छन् । तर पनि प्रवासका स्रष्टाहरूले अहिलेसम्म हजारौँ बौद्धिक साहित्यिक कृतिहरू हाम्रो समुदायलाई प्रदान गरिसक्नुभएको छ । धार र रुचिहरू अनेक छन्, चेतनाका स्तरहरू फरक-फरक छन् तर प्रवासी साहित्यको नोष्टाल्जिया र देश छोड्नुको पीडाबोध उस्तै छ । यहीँनेर प्रवासी हातले लेखेको रचना र नेपालभित्र लेखिएको कृतिबीच अन्तर छ । त्यसको असर नेपालभित्र बसेर पढ्नेलाई भन्दा भोग्नेलाई बढी हुनु स्वाभाविक हो । त्यसैले सृजनाको शक्तिलाई आफ्नो महसूस गर्ने मनभित्र पुऱ्याउन नेपाली पठनपाठनलाई आफ्नो लगायत प्रत्येक प्रवासीको घरभित्र पुऱ्याउँ । यही नै यस लेखको प्रमुख सन्देश हुनेछ ।