राजधानीमा सडक दुर्घटना भयावह, १६ महिनामा मारिए ४ सय ३० जना

राजधानीमा सडक दुर्घटना भयावह, १६ महिनामा मारिए ४ सय ३० जना


  • सुरेन्द्र सुवेदी, काठमाडौं

राजधानी उपत्यकामा सडक दुर्घटनाले भयावह रूप लिन थालेको छ । सवारीको चाप वृद्धिसँगै दुर्घटनामा मृत्यु हुने र घाइते अधिक भइरहेका छन् । गत आर्थिक वर्षदेखि चालु वर्षसमेत १६ महिनामा सडक दुर्घटनाका कारण ४ सय ३० जनाले ज्यान गुमाए भने २० हजार १ सय ३९ जना घाइते भए । घाइतेमध्ये ६ सय १५ जना अति गम्भीर थिए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका अनुसार सीमित सडक र सवारी साधनको संख्या अधिक भएकोले दुर्घटनामा वृद्धि भएको हो । यो अवधिमा २५ हजारबढी सवारी दुर्घटना भएका छन् । अति तीव्र गति, लेन अनुशासन पालना नगर्नु, मादक पदार्थ सेवन गरेर गाडी चलाउनु, पुराना गाडी राजधानीमा चल्न दिनु र अनुभवी चालक नहुनुजस्ता कारण सवारी दुर्घटना भइरहेको पाइन्छ ।

ट्राफिक प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र भट्टका अनुसार राजधानीमा सवारी दुर्घटना कम गर्न नयाँ गाडी दर्तामा रोक लगाउनु र सडकको लम्बाइ बढाउनु पर्छ । यहाँ दैनिक १४ लाख बढी सवारी साधन गुड्ने गरेको र त्यो संख्या अधिक रहेको एसएसपी भट्टले घटना र विचारलाई बताए ।

ट्राफिक प्रहरीले दुर्घटना कम गराउन र सवारी साधनको जाम कम गर्न चालकहरूलाई सचेतनासँगै कारवाहीमा पनि कडाइ गरिरहेको दाबी गरेको छ । यो अवधिमा तीव्र गतिमा सवारी चलाउने १० हजार बढी, लेन अनुशासन पालना नगर्ने ६० हजार र मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६७ हजार चालकलाई कारवाही गरेको ट्राफिकले जनाएको छ ।

गत आर्थिक वर्षमा नियमविपरीत सवारी साधन चलाउने चालकमाथि कारवाही गर्दा ६३ करोड ५४ लाख र चालु वर्षको ४ महिनामा ११ करोड ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । सवारी साधनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र दुर्घटना बढी हुने, बढी जाम हुने सडकका खण्डहरूलाई मूल्याङकन गरेर काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभागलाई थप आधुनिक पूर्वाधार निर्माण गर्न ट्राफिक प्रहरीले आग्रह गर्दै आएको दाबी गरेको छ ।

काठमाडौंको कोटेश्वर, थापाथली, नयाँबानेश्वर, चावहिल, पुरानोबानेश्वर, पुतलीसडक चोक, त्रिपुरेश्वरचोकजस्ता स्थानमा ‘अण्डर पास’ निर्माणदेखि आकाशे पुलसम्म निर्माण गर्नुपर्ने ट्राफिक प्रहरीहरू सुझाव दिन्छन् ।

सडकमा खटिएका ट्राफिक प्रहरीहरू नियमसंगत सवारी चलाउन साँघुरा सडक र सवारीको चापका कारण ‘भगवान भरोसा’को रूपमा ट्राफिक व्यवस्थापन गर्नु परिरहेको भन्दै राजधानीमा ट्राफिक प्रहरी भएर ड्युटी गर्नुभन्दा अन्यत्र सरुवा जानु उचित भएको बताउने गर्छन् ।

ट्राफिक प्रहरी कार्यालयमा दैनिकजसो दर्जनबढी ट्राफिकहरू सरुवा माग्न आउने गरेको प्रशासन शाखाका एक अधिकृतले बताए । ती अधिकृतका अनुसार राजधानीमा १ हजार ७ सय ३६ दरबन्दी छ । यहाँबाट सरुवा माग्नेको सख्या आधाभन्दा बढी छ । ‘सरुवा माग्न आउनुको मुख्य कारण यहाँको धुलो, धुवादेखि सवारीको चाप नै मुख्य कारण हो’- ती अधिकृतले बताए ।