मकवानपुरमा मोटरसाइकल दुर्घटना, एकै परिवारका तीनको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एकै परिवारका तीनको मृत्यु


मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलचालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएका थिए । उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी चारमहिने छोरीको भने घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीका अनुसार गम्भीर घाइते भएका भीमबहादुरको पनि थप उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनलाई हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज पठाइएको थियो ।

सुकौराबाट कान्ति लोकपथतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको थियो ।