युद्धबिराम सकिएलगत्तै इजरायलले गऱ्यो गाजामा आक्रमण, अहिलेसम्म करिव दुई दर्जनको मृत्यु

युद्धबिराम सकिएलगत्तै इजरायलले गऱ्यो गाजामा आक्रमण, अहिलेसम्म करिव दुई दर्जनको मृत्यु


इजरायल र हमासबीच विगत केही दिनदेखि जारी युद्धविरामको म्याद सकिएपछि इजरायलले गाजा पट्टीमा फेरि आक्रमण सुरु गरेको छ ।

हमाससँग युद्धविराम जारी राख्ने सहमति नभए पछि इजरायलले यो आक्रमण गरेको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हमासले युद्धविरामको उल्लङ्घन गरेको छ र इजरायली क्षेत्रतर्फ गोलीबारी गरेको छ, त्यसपछि मात्र हामीले आफ्नो कारबाही सुरु गर्‍यौं।’

यो घोषणा सेनाले गाजाबाट प्रहार गरिएको रकेटलाई रोकेको बताएको केही समयपछि आएको थियो, जुन युद्धविरामको पहिलो दिन केही मिनेटमै मिसाइलहरू प्रहार गरिएको थियो।

गाजाभित्र इजरायली युद्धक विमानहरूले धेरै आक्रमणहरू गरेका र गाजा शहरमा ब्यापक गोलाबारी भएको एएफपीले जनाएको छ ।

युद्धविराम समाप्तिपछिको इजरायली हमलामा परी गाजामा अहिलेसम्म करिव दुई दर्जन मानिस मारिएका छन् । गाजापटी, दक्षिण रफाह, खान युनिस र माघाजी क्षेत्रमा उनीहरू मारिएका हुन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली हवाई आक्रमणमा गाजा पट्टीमा कम्तिमा ९ जनाको मृत्यु भएको बताएका छन् । यस्तै दक्षिण रफाहको एउटा घरमा भएको आक्रमणमा कम्तीमा ६ जना र खान युनिसमा एकजनाको मृत्यु भएको बताइएको छ ।

युद्धभूमिमा खटिएका एक पत्रकार हिन्द खौदरीले खान युनिसले मध्य गाजाको माघाजी क्षेत्रमा कम्तीमा ७ जनाको मृत्यु भएको जनाएका छन् ।

इजरायलले खान युनिस क्षेत्रका बासिन्दाहरूलाई यस क्षेत्रमा अपेक्षित आक्रमण हुनुअघि नै छोड्न आग्रह गरिरहेको छ। खान युनिसका मानिसहरूलाई रफाहमा खाली गर्न आग्रह गर्दै सेनाले पर्चाहरू खसालिरहेका छन् । र, उनीहरूले रफाहलाई पनि निशाना बनाएका छन् ।

स्मरण रहोस्, हमास र इजरायल बीच जारी युद्धविरामको क्रममा मानिसहरूको निरन्तर आदानप्रदान भएको थियो। युद्धविरामको अन्तिम मिनेटमा हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ। गाजा पट्टीमा रिहा भएका ६ जना इजरायली बन्धक बिहीबार राति इजरायल फर्किएका छन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले युद्धविरामको विस्तार समाप्त हुनुभन्दा केही घण्टा अघि ६ जना बन्धकहरू फर्किएको बताएको छ।