नेपालमा खानाको उपयोगको अवस्था

नेपालमा खानाको उपयोगको अवस्था


हालका दिनमा एकातर्फ खाद्यान्न उत्पादन र उत्पादकत्व घट्दै गएको छ भने अर्कातर्फ कथित सभ्यताको विकास भनौँ या आधुनिकतासँगै विभिन्न परिकार खाने बहानामा खाद्यान्न खेर फाल्ने प्रवृत्ति बढ्दै गएको छ । यो ठूलो चुनौतीको विषय बनेको छ ।
✍ शर्मिला सुवेदी

हाल विश्वमा करोडौँ मानिस गरिवीको चपेटामा रहेका छन् । जसले भोकमरी र कुपोषणको अवस्था निम्त्याएको छ । जलवायु परिवर्तनको नकारात्मक असर दिन-प्रतिदिन बढ्दै गएको छ । प्राकृतिक र जैविक विविधताको क्षति, प्रदुषण र फोहरको सङ्कट हरदम बढ्दै छ । यसले मानव-जीवनलाई थप सङ्कटतिर धकेलेको छ ।

खाना मानव-जीवनको आधारभूत आवश्यकता हो । खानाविना स्वस्थ एवम् जीवन्त मानव-जीवनको परिकल्पना गर्न सकिँदैन । हाल विश्वमा नै खाद्यान्नअभाव चुनौतीको विषय बन्दै गएको छ । तसर्थ खाद्यान्न उत्पादन तथा उत्पादित खाद्यान्नको उपयुक्त तवरले उपयोग गर्नु आजको आवश्यकता हो । हालका दिनमा एकातर्फ खाद्यान्न उत्पादन र उत्पादकत्व घट्दै गएको छ भने अर्कातर्फ कथित सभ्यताको विकास भनौँ या आधुनिकतासँगै विभिन्न परिकार खाने बहानामा खाद्यान्न खेर जाने प्रवृत्ति बढ्दै गएको छ । वर्तमान अवस्थामा यो ठूलो चुनौतीको विषय बनेको छ । यसले खाद्यसुरक्षामाथि समेत प्रश्न उठाएको छ । तसर्थ, यसको समाधान गर्नु एक पर्यावरणीय, नैतिक र आर्थिक अनिवार्यता भएको छ ।

विश्व भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स)-२०२३ मा नेपाल ६९औँ स्थानमा छ । तथ्याङ्कका आधारमा नेपालमा हरेक वर्ष करिब २२ लाख टन (एक टन १० क्वीण्टल) खानेकुरा खेर जाने गरेको छ । जसमा एउटा घरधुरीले वार्षिक औसत ७९ किलो खानेकुरा खेर फाल्छन् ।

खाद्यान्न खेर जाने मुख्य कारण :

■ फसल काट्ने अवैज्ञानिक विधि । ढुवानी र भण्डारणका कारण पनि खाद्यान्न खेर जाने गरेको ।
■ उत्पादित खाद्य वस्तुहरूले उपयुक्त बजार नपाएर खेर जाने गरेको ।
■ बालीमा लाग्ने कीरा र रोग तथा अन्य जनावरले खेतबारीमा नै अन्न नष्ट गर्ने गरेको ।
■ उपयुक्त भण्डारण विधि प्रयोग नगरेका कारण खाद्यान्न बिग्रिएर नोक्सानी हुने गरेको ।
■ पारिवारिक आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण गर्दा खाद्यान्नको खान योग्य आयु सकिइ नोक्सानी हुने गरेको ।
■ खुद्रा पसलमा बिक्री नभएका खाद्य वस्तुहरू बिग्रिएर फ्याँक्नुपर्ने हुने गरेको ।
■ रेस्टुरेन्ट, क्याफ्टेरिया र घरपरिवारबाट आवश्यकता भन्दा बढी बनाइएका खानाहरू फ्याँकिने गरिएको ।
■ सन्तुष्टिका लागि विभिन्न परिकारका खाना बनाउने क्रममा खाद्यान्नको नोक्सानी हुने गरेको ।
■ आवश्यकता भन्दा बढी खाना प्लेटमा लिएर फ्याँक्ने गरिएको ।

खाद्यान्नको खेर वा नोक्सानी कसरी कम गर्ने ?

■ परिवारको नियमित भोजन तथा चाडपर्व वा कुनै विशेष कार्यक्रम सञ्चालन गर्दा उपस्थित व्यक्तिहरूको लागि खानाको सही अनुमान गरी तयार गर्ने ।
■ खाद्यान्नको उपयुक्त मिश्रण, प्रकार र परिमाण एकिन गरी खाना तयार गर्ने ।
■ खाद्यान्नको प्रकृतिअनुसारको उपयुक्त भण्डारण विधि प्रयोग गरी खाद्यान्न सुरक्षित राख्ने ।
■ खाद्य श्रृङ्खलाको हरेक तहमा वैज्ञानिक उपायहरूको उपयोग गर्ने । कृषि उत्पादनको भण्डारण, प्रशोधन, वितरण र खपतमा आधुनिक उपाय अपनाउनुको विकल्प छैन ।
■ खाद्यान्नको हरेक अंशको महत्व दर्शाउने शिक्षा र जनचेतना अभिवृद्धि गर्ने ।
■ बाल अवस्थादेखि नै खाद्यान्नको सही सदुपयोगको लागि उपयुक्त संस्कार दिने । खाद्यान्न उत्पादन गर्दा लागेको श्रम श्रोत साधनको महत्व बुझाउने ।

खाना खेर फल्दाका असर :

■ खाद्य आपूर्ति श्रृङ्खला अवरुद्ध हुँदा जनता भोकमरी तथा कुपोषणको शिकार हुन सक्ने ।
■ खाद्यान्नको अधिक आयातमा राज्य श्रोतकेन्द्रित हुनुपर्दा गरिवी बढ्ने ।
■ खाद्य सुरक्षाको चुनौती बढ्ने ।
■ खेर गएको खाद्यान्नबाट उत्पादन हुने मिथेन ग्याँसले वायुप्रदुषण बढाउने ।

‘फुड वेस्ट इन्डेक्स रिपोर्ट-२०२३’ अनुसार खाद्यान्न खेर फाल्ने केही देशहरुको आँकडा यस्तो छ । चीनले ९१ मिलियन टन, भारतले ६८ मिलियन टन, अमेरिकाले १९ मिलियन टन, जापानले ८ मिलियन टन, जर्मनीले ६ मिलियन टन, फ्रान्सले ५ मिलियन टन र नेपालले २ दशमलव २ मिलियन टन खाद्यान्न खेर फालिरहेका छन् ।

शुन्य खाना खेर फाल्ने नीति, दीगो कृषि प्रणाली र स्वस्थ खाने बानीसमेतका कारण फ्रान्स अत्यन्त कम खाना फ्याँक्ने देशको रूपमा चिनिन्छ । फ्रान्समा जन्मिएकी बी जोह्न्सन, जिरो वेष्टेज लाइफस्टाइल मोभमेन्टकी संस्थापक हुन् ।

(लेखक खाद्यविद् हुन् ।)