उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज !

उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज !


गृह मन्त्रालयको समेत जिम्मेवारी लिनुभएका उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अचानक छाती दुखेपछि उहाँ ६ दिनअघि (मंसिर १९ गते) गङ्गालाल अस्पताल भर्ना हुनुभएको थियो ।

उहाँको मुटुमा समस्या रहेको पाइएपछि तत्काल अप्रेसन गरि स्टेण्ट राखिएको थियो । चौविस घण्टा सीसीयुमा राखिएपछि श्रेष्ठको स्वास्थ्यमा सुधार आएको निष्कर्षमा चिकित्सकहरू पुगेका थिए । त्यसपछि सामान्य कक्षमा उपचाररत श्रेष्ठलाई आज डिस्चार्ज गरिएको छ र , चिकित्सकहरूले उहाँलाई कम्तिमा एक साता आराम गर्न सल्लाह दिएका छन् ।

उपप्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज हुनुभएपछि उपचारमा संलग्न हुनुभएका डा. मास्केसहितको चिकित्सक टोली, नर्स र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशकलगायत अस्पताल परिवारप्रति गृहमन्त्रालयले आभार प्रकट गरेको छ ।

ज्ञातब्य छ, गत महिना चीन भ्रमणमा रहेका बेला अचानक मुटुमा समस्या आएपछि उहाँको बेइजिङ्गस्थित अस्पतालमा उपचार भएको थियो । त्यसबेला दुई रक्तनली नै ब्लक भएको पाइएपनि एउटामा मात्र स्टेण्ट राखिएको थियो र, अर्कोलाई औषधिकै प्रभावले पनि खोल्नसक्ने आशा चिकित्सकहरूले गरेका थिए । औषधिले उचित असर नगरेमा केही समयपछि दोस्रो स्टेण्ट राखिने भनिएको थियो । र, अर्को महिनातिर सामान्य अवस्थामै स्टेण्ट राख्ने योजना बन्दै थियो । तर गतसाता अचानक छातीमा पीडा भएपछि डा. अरुण मास्केको सल्लाहमा डा. सुरज बज्राचार्य र सुसन कर्माचार्यले उहाँलाई गङ्गालाल अस्पताल पुर्‍याउनुभएको थियो।