लुम्बिनी शिक्षा निकेतनका १० वर्षीय बालकले क्रिकेटमा गरे कमाल

लुम्बिनी शिक्षा निकेतनका १० वर्षीय बालकले क्रिकेटमा गरे कमाल


  • मोहम्मद हबिब, भैरहवा

भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा गत शनिबार स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि खेल भइरहेको थियो । रुपन्देहीको विद्यालय स्तरीय क्रिकेट खेलमा मणिग्रामको श्री शान्ति नमुना र लुम्बिनीको लुम्बिनी शिक्षा निकेतन प्रतिस्पर्धामा थिए तर अधिकांश दर्शकको आँखा भने एक मात्रै खेलाडीप्रति रहेको थियो । रहनुको कारण ती खेलाडी अरुभन्दा फरक हुनुमा थियो ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-११ मोगलहाका १० वर्षीय अफसर खानको प्रस्तुति ठूला ठूला खेलाडी भन्दा कम थिएन उचाइले सानै भए पनि उनको क्रिकेट प्रदर्शनले सबैलाई रोमाञ्चक बनाइरहेको थियो । २ नंं. जर्सी भिरेर मैदानमा रहेका उनको क्रियाकलापले सबैको ध्यान तानेको थियो ।

प्रायः कक्षा ८ देखि १० सम्मका खेलाडीहरु मैदानमा हुँदा २ कक्षामा पढ्ने अफसरले भने टिमको सबै खेलमा सहभागी भए । चारवटा खेल खेलेको लुम्बिनीले ती साना खेलाडीलाई सबै खेलमा अवसर दियो, अफसरका लागि पनि ड्युज बलमा क्रिकेट खेल्नु पहिलो अनुभव रहयो । टेनिस बलले क्रिकेट खेल्दै आएका उनले पहिलो पटक डयुज बलले खेल्ने मौका पाएका थिए ।

राइट आर्म स्पीनर रहेका उनी सानै उमेरदेखि बलिङमा रुचि राख्दै आएका बालक हुन् । पढाइसँगै खेलमा रुचि राखेका उनको लक्ष्य पनि देशको लागि क्रिकेटर भएर देखाउनु रहेको छ । बुवा गुफरान अहमद वैदेशिक रोजगारीको शिलशिलामा रहेपनि घरपरिवारबाट उनले खेलमा पूरा साथसमर्थन पाइरहेका छन् । तीन भाइमध्ये उनी माइलो हुन् । दाइ आरिफ खानले पनि क्रिकेट खेल्दै आएका छन् ।

यो टुर्नामेन्टमा उनले चार खेल खेलेकोमा पहिलो खेलमा ३ ओभर मा २२ रन दिए, दोस्रो खेलमा ४ ओभरमा १८ रन दिएर २ विकेट लिए, तेस्रो सेमिफाइनल खेलमा २ ओभरमा १२ रन दिएर १ विकेट लिएका थिए भने फाइनल खेलमा उनले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । पढाईमा मध्यम रहेका उनी क्रिकेट खेलमा भने उत्कृष्ट रहेका छन् । सानै उमेरमा यति राम्रो प्रदर्शन गर्नुमा लुम्बिनी शिक्षा निकेतनको भुमिका पनि महत्वपूर्ण छ । विद्यालयमै क्रिकेट एकेडमी स्थापना गरी उनी प्रशिक्षण पनि लिदै आएका छन् ।

लुम्बिनी शिक्षा निकेतन क्रिकेट एकेडमीका प्रशिक्षक सागर न्यौपानेले विद्यालयमा दैनिक साझ ३ बजे पश्चात क्रिकेटको अभ्यास गराउँदै आएको बताए । उनका अनुसार रुचि भएका सानादेखि ठूला कक्षाका विद्यार्थीहरुले पनि यहाँ अभ्यास गर्दै आएका छन् । यहाँबाट प्रशिक्षण पाएकाहरुले राष्ट्रिय तथा प्रदेश स्तरको क्रिकेटमा पनि योगदान दिँदै आएका छन् । हालैमात्र अण्डर-१६ खेलमा यहाँकै उत्पादन समावेश भएको छ, एकेडमीमार्फत यहाँको टिम क्षेत्रिय र भारतमा पनि प्रतिस्पर्धा गर्दै थुप्रै प्रतियोगितामा उपाधि चुमेको छ ।

लुम्बिनी शिक्षा निकेतनले शिक्षामा मात्रै नभइ खेलकुद र अन्य क्षेत्रमा पनि विद्यार्थीहरुलाई प्रशिक्षण गराउँदै आएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए । सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक शिक्षामा ध्यान दिँदै आएको उनको भनाइ छ ।