जातिय दुर्भावबाट बचौँ, अशिक्षा/गरिबी हटाऔँ

जातिय दुर्भावबाट बचौँ, अशिक्षा/गरिबी हटाऔँ


नेपालको इतिहासमा विभिन्न जातजाति, धर्म-धर्मावलम्बी, भाषाभाषी र संस्कृति भए तापनि आपसी सद्भाव र राष्ट्रियताको सवालमा गोलवद्ध भएको इतिहास छ । विश्व मानचित्रमा एकतामा विविधता भनेर चिनिएको मुलुकमा आज जातजातिका मुद्दा उठाएर डलरखेती गर्नेहरू सक्रिय हुनु दुःखको सन्दर्भ हो ।
✍ बंशीकुमार शर्मा

नेपालको इतिहासमा धेरै पटक राजनीतिक परिवर्तनहरू भएका छन् । राजनीतिक परिवर्तनसँगसँगै मुलुकको राजनीतिक व्यवस्था पनि परिवर्तन हुँदै आएको छ । विगतका राजनीतिक परिवर्तनले आमनागरिकको जीवनसँग गाँसिएको पीडा र समस्याको वास्तविक कुरालाई सम्बोधन गर्न नसक्नुको कारणले नै सामाजिक, आर्थिक र जातिय समस्याहरू बढ्दै गएको देखिन्छ । यस्तो समस्या देखिनुको कारण परिवर्तन किन र कसका लागि भन्ने सवाल खडा हुनु स्वाभाविक छ ।

यदि समस्या समाधानको लागि परिवर्तन हो भने राज्यले त्यसतर्फ गम्भीरतापूर्वक सोच्न सक्नुपर्दछ । नत्रभने राजनीतिक परिवर्तनको औचित्य के ? समस्या ज्यूँकात्यूँ नै हुन्छन् भने किन चाहियो राजनीतिक परिवर्तन ? त्यसैले प्रत्येक पटक परिवर्तनपश्चात् राज्यको जिम्मेवारी लिएका पार्टी वा व्यक्तिले त्यसको जिम्मेवारी लिन जरूरी देखिन्छ । किनकि राजनीतिक परिवर्तन भएपश्चात सधै राज्यको जिम्मेवारी लिएका पार्टीहरूले केवल भाषणमा खोक्रो आश्वासन मात्र दिए भने नागरिकको जीवनशैलीसँग खेलवाड गरे, परिणामस्वरूप राजनीतिक परिवर्तनको अनुभूति आमजनताले गर्न पाएनन् । त्यसैले अझै पनि राज्यले नागरिकका समस्याहरूलाई विश्लेषण गरी समस्या समाधानको उपाय नखोज्ने हो भने अर्को भीषण आन्दोलन हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

नेपालको पछिल्लो जनआन्दोलन-२ पछि प्रत्येक नागरिकको राजनीतिक चेतनाको स्तर बढिसकेको अवस्था छ । समय र परिस्थितिअनुसार चेतना वृद्धि हुनु आफैमा राम्रो हो, तर राज्य सञ्चालन गर्ने व्यक्तिहरूले निश्चित राजनीतिक सीमा/घेराभित्र कैद गरी जनतालाई गुमराहमा पारेका छन् । त्यो सीमा घेरा तोड्न जनताहरूलाई समय लाग्ने छैन । त्यसैले मुलुकमा आएको परिवर्तनपश्चात् जिम्मेवारी लिएका पार्टीहरूले प्रत्येक जनजाति, महिला, आदिवासी, अपाङ्ग, मधेसी, मुस्लिम, सीमान्तकृत जातिहरूको हकहित र अधिकार सुनिश्चित गर्नको लागि ठोस आधार तयार गर्न सक्नुपर्दछ । अन्यथा मुलुकमा अनिष्टकारी घटना हुनसक्छ ।

मुलुकलाई समृद्धशाली बनाउनको लागि आमूल परिवर्तनको आवश्यकता पर्दछ । त्यस्तो आमूल परिवर्तन नामले होइन व्यवहारले हुन्छ । राजनीतिक परिवर्तनपश्चात् व्यवस्था/प्रणाली परिवर्तन गरेर केही हुँदैन । वास्तविक तत्व परिवर्तन गरेर मात्र मुलुक समृद्धशाली बन्न सक्छ । नत्र भने प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नामका मात्र हुन सक्छन् । व्यवस्था जे-जति नामले परिवर्तन गरे पनि राज्य सञ्चालन गर्ने तरिका पुरानै भएको छ । त्यसमा कुनै परिवर्तन हुन सकेको छैन । नेपाली जनताको चाहना व्यवस्था परिवर्तन सँगसँगै सबै कुराको परिवर्तन थियो । कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउको लागि मात्र नेपाली जनताले आन्दोलन गरेका होइनन्, वास्तविक नेपालको स्वरूपलाई बदल्नको लागि आन्दोलनमा सहभागी भएका हुन् । तर विडम्बना ! मुलुकको नेतृत्व गर्ने व्यक्तिहरूले सबै कुरा बिर्सेर पुरानै तरिकाले राज्य सञ्चालन गर्न पुगे । परिणामस्वरूप पुरानो ठाउँमा नयाँ कर्मचारी भर्ना भए । व्यवस्था परिवर्तन भयो, नयाँ-नयाँ नेताहरू पैदा भए, बहुदलीय प्रजातन्त्र संवैधानिक राजतन्त्रात्मक मुलुक सङ्घीय गणतन्त्रमा परिणत भयो, तर मुलुकमा देखिएका समस्याहरू झन्-झन् थपिँदै गए भने नेपाली जनता दिन-प्रतिदिन असुरक्षित हुँदै गइरहेका छन् र राष्ट्र पनि असफल राज्यतिर बढिरहेको छ ।

यस्तो कहालीलाग्दो परिस्थितिले गुज्रिएको मुलुकका नेतृत्व तहमा रहेका व्यक्तिहरूले सदियौँदेखि मिलेर आएको समाज व्यवस्थालाई सस्तो लोकप्रियताको लागि जातीय तथा धार्मिक विभाजन गराइ एकआपसमा लडाएर स्वार्थपूर्तिको चेष्टा गरेका छन् । त्यसतर्फ सबै जातजाति चनाखो हुनुपर्ने अवस्था आएको छ । किनकि नेपालको इतिहासमा विभिन्न जातजाति, धर्म-धर्मावलम्बी, भाषाभाषी र संस्कृति भए तापनि आपसी सद्भाव र राष्ट्रियताको सवालमा गोलवद्ध भएको इतिहास साक्षी छ । त्यसैलाई कायम गर्नु नै बुद्धिमानी हुनेछ । विश्व मानचित्रमा एकतामा विविधता भनेर चिनिएको मुलुकमा आज जातजातिका मुद्दा उठाएर डलरखेती गर्नेहरू सक्रिय हुनु दुःखको सन्दर्भ हो ।

मिलेर बसेको समाजलाई पश्चिमा धर्म/संस्कृति लाद्नको लागि जातिय स्वतन्त्रताको नारा दिइ विभाजन गर्न खोजिँदै छ । बैद्धिक आर्य सभ्यताको ठाउँमा पश्चिमा सभ्यता स्थापना गर्न खोज्नेलाई के थाहा- धर्म र संस्कृतिको शक्ति कति हुन्छ भनेर ?

कुनै जातिको स्तर वृद्धि गर्नको लागि जातजातिले कुनै रोकावट गर्दैन । गरिबी/अशिक्षाको दुस्मन जातीयता होइन । गरिबी, अशिक्षाको बहानामा जातीयतामा विभाजन गर्न खोज्नेचाहिँ दुस्मन हो । मानव कल्याण सबैको दायित्व हो । मानव सबै बराबर नै हुन् । केवल परम्परादेखि चल्दै आएकोले आ-आफ्नो तरिकाले धर्म, संस्कृति मनाउँदै आएका मात्र हुन् । सबैलाई आ-आफ्नो धर्म, संस्कृति मनाउने अधिकार छ । सबैले आ-आफ्नो धर्म मनाएका छन् । कहीँकतैबाट रोकावट आएको छैन र आउनु पनि हुँदैन । नेपालको भूगोलमा वैदिक आर्य र किरात/मंगोलियन जाति बस्दै आएका हुन् र, अहिले पनि बस्दै आएका छन् । धेरै वर्षदेखि सँगसँगै बस्दै आएकाले दुवै जातिको धर्म सँस्कृति, रहनसहनको मिश्रणले नयाँ संस्कृति उब्जिएको हो । विविध संस्कृति नै हाम्रो पहिचान हो ।

नेपालको पहिचान नै विविधता हो । दुवै जातिले एकअर्काको धर्म/संस्कृतिप्रति आस्था राख्दै आए, दुवै जातिले सँगसँगै मनाउँदै आए । अहिलेसम्म सबै समाजमा मिल्दै आएका छन् र समाजमा मिलेर बसेका छन् र, एकअर्कालाई सम्मान गरेका छन् । यही नै नेपालीको मौलिकता हो । मौलिकताको जगेर्ना गर्दै नेपाली जागरूक हुनुपर्दछ । तर विडम्बना ! मिलेर बसेको समाजलाई पश्चिमा धर्म/संस्कृति लाद्नको लागि जातिय स्वतन्त्रताको नारा दिइ विभाजन गर्न खोजिँदै छ । बैद्धिक आर्य सभ्यताको ठाउँमा पश्चिमा सभ्यता स्थापना गर्न खोज्नेलाई के थाहा- धर्म र संस्कृतिको शक्ति कति हुन्छ भनेर ?

विकासोन्मुख मुलुक र अस्थिर राजनीतिको फाइदा उठाउन विभिन्न खालका शक्तिहरूले आफ्नो शक्ति प्रयोग गर्न खोजिरहेका छन् । त्यसैको प्रयोग नेपालमा पनि गर्न खोजेका छन् । तर नेपालमा बसोबास गर्ने जातिहरू धैरै वर्षदेखि मिलेर बस्दै आए । फुटाउनको लागि दुई चार जनालाई किनेर जातीय, क्षेत्रिय मुद्दा उठाएर मुलुकमा अस्थिरता फैलाउने दुस्प्रयास गरेकै हुन्, अझै गर्ने प्रयास गरेको देखिन्छ । यसतर्फ नेपाली जनता सचेत हुनै पर्दछ । बरू समाजमा रहेका विद्यमान कुरीतिहरूलाई हटाउँदै समाजसुधार गर्दै अगाडि बढ्नु पर्दछ । सुधार गर्ने बाहनामा जातजातिबीच बैमनस्यता, झगडा गराउनु जघन्य अपराध हो ।

कुनै पनि परिवर्तन एकैचोटि हुँदैन । यदि एकैचोटी परिवर्तन गर्ने प्रयास गरियो भने त्यसको प्रतिफल राम्रो हुँदैन । परिवर्तन भएछ भने पनि त्यो दीर्घ हुँदैन । परिवर्तनको मुख्य आधारशीला शिक्षा नै हो । जब मानिस शिक्षित हुन्छ, अरू सबै कुरा गौण हुन्छन् । हिन्दू धर्मशास्त्रमा पनि उल्लेख गरिएको छ- गुणी मानिस सबै ठाउँमा पुज्य हुन्छ । तसर्थ, मानिसलाई गुणी बनाउनु पर्दछ । गुणी बनाउने तत्व शिक्षा नै हो । शिक्षित समाज भएमा राष्ट्र बलियो हुन्छ ।

यसर्थ, हामी सबै समाजलाई जात-जातीयतामा विभाजन गर्नुभन्दा शिक्षामा जोड दिँदै समाजमा जकडिएर रहेको विसङ्गति, अशिक्षा, गरिबी हटाउन अग्रसर होऔँ । समाजलाई जातजातीमा विभाजन गरी फाइदा लिने कुचेष्टा गर्ने प्रवृत्तिलाई निरुत्साहित र निषेध नै गरौँ । समतामुलक समाजको निर्माण गर्दै मुलुकमा देखिएका चुनौती पन्छाएर समाधानको लागि गोलबद्ध हुनु नै बुद्धिमानी हुनेछ । यसैमा नै राष्ट्रले गौरव गर्नेछ ।