उत्कृष्ट प्रहरी सम्मानित

उत्कृष्ट प्रहरी सम्मानित


इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ तथा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चद्वारा सम्मानित भएका छन् ।

उक्त मञ्चद्वारा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई हस्तान्तरण गरे भने प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई समेत सम्मान गरेका छन् ।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक बोहराले नेपाल प्रहरीले इन्टरपोलमा प्राप्त गरेको यस ऐतिहासिक उपलब्धीले पूर्व प्रहरीहरूको समेत गौरव बढेको बताए । यस्ता अभिनव सोच र साहसिक कार्यहरुले अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहन मिल्ने चर्चा गर्दै यसले नेपाल प्रहरीलाई महत्वपूर्ण कार्यहरू जिम्मेवारीका साथ बहन गर्न थप हौसला र प्रेरणा मिलोस् भन्ने कामना गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले धन्यवाद ज्ञापन गर्दै इन्टरपोलको शताब्दी वर्षको अवसरमा नेपाल प्रहरीले नेपालको प्रतिनिधित्व गरेर नेपाल र नेपालीको सम्मान बढाउन सफल भएको बताएका छन् । यस सिर्जनशील कार्यमा पूर्व प्रहरी कर्मचारीको समेत योगदान रहेको चर्चा गर्दै यस उपलब्धीले अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई नयाँ शिखरमा पु¥याएको र आगामी दिनमा अन्तर्राष्ट्रिय समन्वय थप प्रभावकारी रुपमा गर्न सहज हुने उनले उल्लेख गरे ।

सम्मानित हुने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठद्वारा नेपाललाई प्रतिनिधित्व गर्दै निर्माण गरिएको सूचनामूलक छोटो भिडियो इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको थियो ।

यसैगरी सम्मानित हुने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल भएका थिए ।