पञ्चेश्वरमा १० शैय्याको अस्पताल निर्माण आरम्भ

पञ्चेश्वरमा १० शैय्याको अस्पताल निर्माण आरम्भ


सुदुपश्चिम प्रदेशको बैतडीस्थित पञ्चेश्वर गाउँपालिकामा पालिकास्तरीय १० शैय्याको अस्पताल निर्माण कार्य शुरु भएको छ । अस्पताल कुन ठाउँमा निर्माण गर्ने भन्ने विवादले लामो समयदेखि रोकिएको अस्पताल निर्माण कार्य गत शनिबारदेखि शुरु भएको हो ।

शनिबार एक कार्यक्रमका बीच पञ्चेश्वर गाउँपालिका-४ स्थित आमचोरमा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले १० शैय्याको आधारभूत अस्पतालको शिलान्यास गरेका हुन् । अस्पताल निर्माणका लागि मल्टिटेक न्यू श्री केदार जेभीले १३ करोड ८२ लाख ५५ हजार ८५६ रुपैयाँमा ठेक्का पाएको छ ।

यो भन्दा पहिला गाउँपालिकाको वडा नं ३ कुलाउमा अस्पताल निर्माण गर्ने भन्दै मन्त्रालयले बजेट छुट्याएको थियो । गाउँपालिका केन्द्रबाहिर आधारभूत अस्पताल निर्माण हुने कुरामा स्थानीयहरूले विरोध जनाएपछि अस्पताल निर्माणको काम रोकिएको थियो । आमचोरमा अस्पताल निर्माण गर्ने सहमति भएपछि अस्पताल निर्माणको काम अघिबढेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । आधारभूत अस्पताल निर्माणका लागि संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहने तथा आगामी दुई वर्षभित्रै अस्पताल निर्माण गरिसक्ने लक्ष्य रहेको बताइएको छ ।

जिल्लाको दुर्गम पालिकाको केन्द्रमा अस्पताल निर्माण कार्य शुरु भएपछि स्थानीयबासी खुसी भएका छन् । अस्पताल निर्माणपछि सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । मेयर चन्दले भनेका छन्, ‘लामो समयदेखिको विवाद समाधान गरेर हामीले अस्पताल निर्माण कार्य अघि बढाएका छौँ । यो अस्पातल निर्माण भएपछि यहाँका नागरिकलाई धेरै सहज हुनेछ ।’

अहिले पनि सीमा क्षेत्रका नागरिक नजिक अस्पताल नहुँदा उपचारका लागि भारत जानुपर्ने बाध्यतामा छन् । आधारभूत अस्पताल निर्माण भएमा यहाँका नागरिकलाई सहज हुने विश्वास स्थानीयले गरेका छन् ।