अन्तर्मनका रङ्गहरूमा भेटिएका जिन्दगीहरू

अन्तर्मनका रङ्गहरूमा भेटिएका जिन्दगीहरू


मनोपरामर्शकर्ता खिमा रिजालद्वारा लेखिएको पुस्तक ‘अन्तरमनका रङ्गहरू’ले मानिसको मनमा खेल्ने कुराको असरले जिन्दगीलाई कहाँसम्म पुऱ्याउनसक्छ भन्ने विभिन्न उदाहरणसहित स्पष्ट गरेको छ । शरीरलाई मष्तिष्कले निर्देश गर्ने हुँदा हाम्रो मष्तिक स्वस्थ हुनु आवश्यक हुन्छ । ‘मन’ जसको बारेमा यसै हो र यस्तै नै हुन्छ भनेर कसैले परिभाषित गर्न सकेको छैन । जता लग्यो त्यतै जाने, जे सोच्यो उस्तै जस्तो भइदिने, सहजै बहकिने, स्थिर बनाउन अनेक कोशिस गर्नुपर्ने, मनलाई बुझ्न र बुझाउन सजिलो छैन । ‘अन्तरमनका रङ्गहरू’ले यही असहज मनलाई जनमानसमा बुझाउने प्रयास गरेको छ ।

अक्षर क्रिएशनद्वारा प्रकाशित ‘अन्तर्मनका रङ्गहरू’मा मनोपरामर्श र आचारसंहिता, मानसिक स्वास्थ्य समस्या, लैंगिक हिंसामा मनोसामाजिक सहयोग, तनाव, आत्महत्या रोकथाम, चिन्ताजन्य विकार, मनोत्रास, त्रास, विशिष्ट त्रास, रुपान्तरित विकृति, छारे रोग, उदासीनता, प्रसूतिपश्चातको उदासि नता, रजनोवृत्ति, लागु पदार्थसम्बन्धी समस्या, इन्टरनेटको लत वा दुव्र्यसन, निर्वैक्तिकरण वा व्यक्तित्व पृथकीकरण विकार, बाध्यकारी यौन व्यवहारजन्य विकार, आघात र मनोविदलता वा सिफ्रोफेनिया गरी २० वटा शीर्षकमा सामाग्रीहरू रहेका छन् । कतिपय शीर्षकमा हामीले कहिल्यै नसुनेका या कमै सुनेका शब्दहरू भएपनि भित्र पढ्दै जाँदा यस्तो त मलाई पनि भएको थियो या भइरहेको छ या यस्तो पनि हुँदोरैछ जस्तो लाग्छ । मानसिक समस्या अहिले विश्वब्यापी रूपमै बढ्दै गएको छ ।

हामीकहाँ मानसिक समस्याका बारेमा खासै छलफल हुने गरेको छैन । मानिसभित्र गुज्रिएका विभिन्न अन्तरविरोधी, विरोधाभाष या निराशाजन्य कुराहरू सुन्ने, सुनाउने चलन नै छैन भने पनि हुन्छ । यस्ता विषयमा अध्ययनका लागि सामाग्रीहरू पनि त्यति पाइँदैन । पुस्तकमा केस स्टडीसहित राखेर सम्बन्धित विषयको प्रमाण दिइएको छ । मनोरोग पनि एकै खालका नहुँदा रहेछन् र यसका विविधताका बारेमा मानिसहरूले जान्न आवश्यक छ । हामीले झट्ट सुन्दा मानसिक रोग र मनो रोग यस्तै हो, एउटै हो जस्तो लागेपनि यसभित्रका विविधताका बारेमा जानकारी पाउनका लागि अन्तर्मनका रङ्गहरू उपयोगी छ ।

मानिसको जीवनमा कहिले आफ्नै कारणले मनमा तरङ्ग ल्याउने घटनाहरू हुन्छन् भने कहिले अरुका कारणले पनि विचलित बन्ने परिस्थिति सिर्जना हुनसक्छ । त्यस्तो बेलामा मनोपरामर्श महत्वपूर्ण हुन्छ तर हामीकहाँ अरुका लागि त भएन भएन १० वर्ष लामो माओवादी युद्धपछिको अवस्थालाई सम्हाल्नका लागिसमेत सम्बन्धित ब्यक्तिहरूका लागि मनोसामाजिक परामर्शको ब्यवस्था गरिएन । पुस्तकमा उल्लेख भएअनुसार, ‘मनोपरामर्शसेवाको प्रचलन दोश्रो विश्वयुद्धपश्चात भएको मानिन्छ । विश्वयुद्धमा लाखौँ मानिसहरूको मृत्यु भयो । सयौँ ब्यक्ति घाइते, अपाङ्ग भए । सयौँको मुटु टुक्रियो । भावनात्मक रुपले क्षतविक्षत बनेँ । खासगरी विश्वयुद्धले निम्त्याएको जनधन र मानवीय क्षतिपश्चात् मानिसहरूमा मानसिक समस्या देखियो । मनोचिकित्सकको उपचारले पनि भावनात्मक रूपमा लागेको चोटमा मल्हमपट्टी लाग्न सकेन । युद्ध तथा द्वन्द्वले क्षतविक्षत भएको मनमा मनोपरामर्शले मलमपट्टी लागेर उनीहरू सामान्य अवस्थामा फर्किएको पाइयो ।’ यो कुराले मानिसको तनावयुक्त जीवनमा मनोपरामर्शको महत्वलाई दर्शाउँछ । तर हामीकहाँ कोही मनोपरामर्शका लागि सम्बन्धित स्थान र ब्यक्तिसम्म पुग्यो भने शङ्काको दृष्टिले हेरिन्छ । मानसिक अवस्था बिग्रिएको नाजुक ब्यक्तिको रूपमा ब्यवहार गरिन्छ ।

पुस्तकमा उल्लेखित सबै शीर्षकमा लेखिएका केसस्टडी र दिइएका उदाहरणहरू जीवनोपयोगी छन् । इन्टरनेट कुलतबाट मानिसमा पर्दै गएको असरदेखि इन्टरनेट कुलतको उपचारविधिसम्म पुस्तकमा समेटिएको छ । जुन कुलतबाट अहिले सबै उमेर समूहका मानिसहरू प्रभावित हुँदै आएका छन् । पुस्तकमा उल्लेखित मनोविदलता अर्थात् सिजोफ्रेनिया शब्द त्यति सुनिएको या प्रयोगमा आएको शब्द होइन तर यसका लक्षण हेर्दा धेरै मानिसहरू प्रभावित छन् भन्न सकिन्छ ।

यसअघि अविचलित यात्रा, कालजयी योद्धाहरू र उज्यालोको खोजीमा सङ्घर्षका पाइला गरी तीन पुस्तककी लेखक खिमाको यो चौथो पुस्तक हो । मनोविज्ञान, समाज शास्त्र र कानूनकी समेत अध्ययन गरेकी खिमा पेसाले मनोविद् र अधिवक्ता हुन् । उनी स्वयं माओवादी युद्धकालकी एक योद्धा पनि हुन । अन्तर्मनका रङ्गहरूले मनोसामाजिक र मानसिक स्वास्थका विषयमा रहेको पाठ्य सामाग्रीको अभावलाई केही हदसम्म पूरा गरेको छ । विशेषगरी यसमा रहेका केस स्टडीहरूले सामाग्रीलाई सजीव बनाएको छ । यसमा भेटिएका जिन्दगीहरूलाई पढ्दै जाँदा कहीँकतै आफैलाई पनि भेट्न सकिन्छ । पुस्तकका बारेमा लेखक रिजालले लेखेकी छिन्, ‘मेरो पेशागत सम्पर्कमा आएका सेवाग्राही, मानसिक स्वास्थ्य समस्याबाट बाहिर निस्केर नयाँ सोचका साथ समाजमा स्थापित हुने र सहज जीवन ब्यतीत गर्ने केही सेवाग्राहीहरूको अनुभव र उपचारको विधिलाई केन्द्रमा राखेर यो किताब लेखेँ ।’ मानिसहरूमा भावनात्मक सङ्कट उत्पन्न भइरहेको वर्तमान परिवेशमा पुस्तक पाठ्यक्रममा, लाइब्रेरीहरूमा र घर-घरमा पढ्नुपर्ने खालको छ ।

  • बबिता बस्नेत