मुलुकमा महिला प्रधानमन्त्री बनेको हेर्ने प्रचण्डको रहर !

मुलुकमा महिला प्रधानमन्त्री बनेको हेर्ने प्रचण्डको रहर !


प्रधानमन्त्री ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश महिला भइसकेकाले अब प्रम महिला होस् भन्ने आफूले चाहेको बताएका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को बुधबार शिलान्यास गर्दै प्रधानमन्त्रीले भने, ‘अब मेरो इच्छा महिला प्रधानमन्त्री होस् भन्ने छ ।’

नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले क्लिन इनर्जी-ग्रीन इनर्जीको सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिए । हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी-ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने प्रधानमन्त्रीको भनाइ थियो ।

‘प्रमको हैसियतले म पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको सुरुआतको सन्देश दिनेछु, यसबाट नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत हुनेछ, हाइड्रोजन उत्पादनका लागि प्रचुर सम्भावना भएकाले अब क्लिन इनर्जी–ग्रीन इनर्जीलाई क्यास गर्नुपर्छ’, प्रधानमन्त्रीले भने । उनले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा हालै ल्याइएको हाइड्रोजन गाडी आफू चढेर उद्घाटन गर्ने र हाइड्रोजनबाट चल्ने गाडीको प्रवर्द्धन गरी नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत गर्ने बताएका हुन् ।

सोही अवसरमा थप मन्तव्य राख्दै प्रधानमन्त्री प्रचण्डले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको नारा दिएर अघि बढिरहेको जिकिर गरे । उनले भने, ‘सरकार यो पटक अर्थतन्त्रमाथिको दबाब कम गर्न, अन्तर्राष्ट्रियस्तरमा नेपाल राष्ट्रको छवि र प्रतिष्ठा बढाउन, अन्तर्राष्ट्रिय सहयोग जुटाउन, देशभित्र सुशासन र सामाजिक न्याय कायम गर्नको निम्ति निरन्तर अगाडि बढिरहेको छ र बढ्छ ।’

photo: rss