प्राचिन पलान्चोक नगर अर्थात् पाँचखाल क्षेत्रको पुरातात्विक महत्व

प्राचिन पलान्चोक नगर अर्थात् पाँचखाल क्षेत्रको पुरातात्विक महत्व


✍ श्रीकृष्ण धिमाल
ऐतिहासिक पृष्ठभूमि :

मध्यनेपालको काभ्रेपलाञ्चोक जिल्लामा पर्ने पलाञ्चोक क्षेत्र विभिन्न ऐतिहासिक स्रोतका आधारमा प्राचीन महत्व बोकेको क्षेत्रको रुपमा चिनिन्छ । हालसम्म प्राप्त स्रोतहरूलाई विश्लेषण गर्दा यो क्षेत्रमा लिच्छविकालीन बस्ती थियो भन्न सकिने आधारहरू रहेको छ । इतिहास अध्ययनका साहित्यिक स्रोत र पुरातात्विक स्रोत एवं विदेशी यात्रीहरूको यात्रा वृत्तान्तलाई समेत आधार मान्दा यो क्षेत्रमा प्राचीनकालदेखि नै बस्ती विकासक्रम चलिरहेको पत्ता लगाउन सकिन्छ । पलाञ्चोक मन्दिरमा रहेको विजयस्वामिनीको शक संवत् ४२५ अर्थात वि.सं. ५६० को अभिलेख, खोपासीमा रहेको शिवदेव प्रथम र साँगा बनेपामा रहेकोअंशुवर्माको अभिलेख, नालामा रहेको शिवदेवको अभिलेख र भकुण्डेबेसीमा रहेको शिवदेव द्वितीयको अभिलेख पलाञ्चोक क्षेत्रको ऐतिहासिकता दर्शाउने पुरातात्विक प्रमाणहरू हुन् ।

शिवदेव द्वितीयकै पालामा पलाञ्चोकको दक्षिणी क्षेत्रमा एउटा अभिलेख भेटिएको छ । संवत् १३१ उल्लेख भएको सो अभिलेख एउटा शिवलिङ्गको पादपीठमा पाइएको हो । सो अभिलेखमा नारायण मन्दिरको लागि गुठी राखिएको जग्गामा लिलिङ जस्ता शब्दहरू उल्लेख भएको छ । यस्ता, शब्दहरू किराँती भाषाबाट आएको हुनाले त्यो ठाउँमा पहिले किराँतबस्ती रहेको र किराँतकालमा प्रचलनमा रहेको ठाउँको नामलाई नै मान्यता दिएको हुनसक्ने अनुमान गर्न सकिन्छं ।

पुरातत्व विभागले गरेको उत्खनन्को क्रममा पलाञ्चोक क्षेत्रभित्रै पर्ने पाँचखाल नगरपालिका ७ माल्टारमा लम्बाइ टुटेको र चौडाइ २२ सेन्टिमिटरको लिच्छविकालीन स्वरुपका इँटाहरू प्राप्त भएको पुरातत्व विभागका वरिष्ठ पुरातत्वविद् उद्धव आचार्य र पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकद्वारा तयार पारिएको पाँचखाल उत्खनन्को प्रतिवेदनमा उल्लेख छ । यी प्रमाणहरूको आधारमा पलाञ्चोक क्षेत्र र पाँचखालमा लिच्छविकालीन बस्ती रहेको कुरा बुझिन्छ ।

लिच्छविकालका सामान्य घटनाक्रमको बारेमा मात्रै उल्लेख मिल्ने पलाञ्चोक क्षेत्रबारे पूर्वमध्यकाल र उत्तरमध्यकालसम्म आइपुग्दा भने धेरै प्रसंगहरू पाउन सकिन्छ । पूर्वमध्यकालीन समयको पलाञ्चोक नगरका बारेमा गोपाल वंशावलीमा समेत उल्लेख गरिएको छ ।

धनवज्रबज्राचार्यद्वारा प्रकाशित गोपालराज वंशावलीको संक्षिप्त विवेचनामा अभयमल्लको शासनकालमा सबैभन्दा बढी गडबडीको केन्द्रको रुपमा पलाञ्चोकलाई चिनाइएको छ। नेपालसंवत् ३५० देखि ३७५ सम्मको समयावधिमा यस क्षेत्रमा यावत लडाइँको श्रृङ्खला चल्यो । वंशावलीको पत्र ३३ मा नेपाल संवत् ३६४ (वि.सं. १३०१) मा पलाञ्चोकको लडाइँमा अभय महाथ काटिएको प्रसंग छ ।

त्यस्तै, १४औं शताब्दीको मध्यतिर आइपुग्दा कुलीन मदनसिंह रामको उदय हुन्छ । यिनै शासकले पलाञ्चोकमा मदनेश्वर महादेव, त्रिपुरासुन्दरी र ताराको प्रतिमा स्थापना गरेको उल्लेख पाइन्छ । मदनसिंहले नै पलाञ्चोक भगवतीको दक्षिण पाखोमा पोखरी समेत बनाएका थिए । पछि त्यहीँ जलशयन नारायणको स्थापना गरेको अभिलेखीय प्रमाण पाइन्छ ।

तिनै मदनसिंह रामको पालामा नै चीनसँग सम्झौता गरिएको कुरा उल्लेख पाइन्छ । वि.सं. १४४७ आश्विन कृष्ण औंसीका दिन भोट चीनसँग सो सम्झौता भएको थियो । यसले मदनसिंहको पालामा पलाञ्चोक क्षेत्रलाई एउटा स्वतन्त्र राज्यको रुपमा चिनाउने प्रयास भएको र त्यतिबेला काठमाडौ राज्यले समेत पलाञ्चोक क्षेत्रको राज्यलाई दबाउन नसकेको प्रष्ट हुन्छ । किनभने केवल सामन्तको हैसियतमा अर्काे देशसँग सम्झौता गर्ने प्रचलन नेपाली इतिहासमा अभ्यासमा आएको पाइँदैन । सो सम्झौताको समयमा काठमाडौका राजा जयस्थिति मल्ल भने पर्यवेक्षकको रुपमा उपस्थित थिए ।

मदनसिंहरामवर्द्धनपछि उनका छोरा शक्तिसिंहराम राजा भए । चिनियाँ ताङ वृत्तान्तले शक्तिसिंहरामले वि.सं. १४८४ सम्म नेपाल उपत्यकाको राजनीतिमा आफ्नो भूमिका खेलेको उल्लेख गरेको छ । यक्षमल्लको उदयसँगै उनीहरूको शक्ति क्षीण हुँदै गएको ‘पनौतीको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि’शीर्षकमा साफल्य अमात्यले प्राचीन नेपालमा लेख प्रकाशित गरेका छन् ।

शक्तिसिंहरामवद्र्धनलाई चीनका वादशाहले ‘वाङ शक्तिसिंहराम’ भन्ने उपाधिको साथमा सुनका मुद्रा र लुङ परमान पनि पठाएका थिए । अर्थात् चिनियाँ सम्राटले त्यतिबेला शक्तिसिंहरामलाई राजाको उपाधि दिएको थियो ।

त्यतिबेला शक्तिसिंहरामको राज्य हालको काभ्रेपलाञ्चोक क्षेत्रदेखि चिन तिव्तको हालको सिगात्सेसम्म फैलिएको थियो । तर यक्षमल्लको उदयसँगै शक्तिसिंहरामको परिवार बिस्तारै कमजोर बन्न पुग्यो ।

कुनै समयमा स्वतन्त्र राज्य त कुनै समयमा नेपाल राज्यको अधिनमा रहेको यो क्षेत्रमा पाइएका विभिन्न अभिलेखहरू, त्यस क्षेत्रको बारेमा उल्लेख भएका वंशावलीहरू एवं विभिन्न राजाले पठाएको पत्रको आधारमा हामीहरूले यो क्षेत्रको गौरवशाली इतिहासलाई उतार्न सक्दछौं ।

मध्यकालमा पलाञ्चोक क्षेत्रको पुरातात्विक प्रमाण :

मध्यकालीन समयसम्म आइपुग्दा पलाञ्चोक क्षेत्रमा बस्तीको विकास र राज्यको शक्तिसमेत क्रमिक रूपमा वृद्धि हुँदै गएको पाइन्छ । यही कालमा आइपुग्दासम्म पलाञ्चोक क्षेत्रका शासकहरूले काठमाडौंमा आएर अभिलेख राख्ने र काठमाडौंको राजनीतिमा समेत मुख्य भूमिका खेल्न थालेको विभिन्न अभिलेखीय प्रमाणमा उल्लेख छ ।

काठमाडौंको इटमबहालस्थित मदनसिंहरामवद्र्धनको राज्यकालमा वि.सं. १४३९ मा एउटा अभिलेख स्थापना गरिएको छ । त्यस्तै, पशुपतिको पश्चिम र दक्षिण मूर्तिको पूर्वपट्टिको उत्तर दिशामा पनि जयसिंहरामवद्र्धनले वि स१४०६ मा मुसलमानको आक्रमणमा धोस्त भएको पशुपतिनाथ मन्दिरलाई वि स १४१७मा निर्माण गरेको अभिलेख राखेका छन् । ईटमबहालको १४३९ को मदनसिहराम वर्तनको अभिलेखमा पलाञ्चोक क्षेत्र र पलाञ्चोक भगवतीको उल्लेख गरिएको छ । त्यसमा भनिएको छ ‘‘षट् शास्त्र जान्ने श्रीपलाञ्चोकको डाँडोको किल्लाभित्र श्रीत्रिपुरेश्वरी सिद्धपीठ र त्यहीँ श्रीमदनेश्वर स्थापना गरेका, ठूलोे पोखरीमा मण्डपसहित जलशयन नारायण स्थापना गरेका, सिम्बुको डाँडो महाविहारमा श्रीस्वयम्भूचैत्य जीर्णाेद्धार गरेका ठूला योगी सहजनारायण श्रीमदनरामवर्द्धन हुनुहुन्छ ।’

विस १४०६ मसिर २० मा मुसलमानको आक्रमण गरेर काठमाडौ ध्वस्त पारेर पशुपतिनाथ मन्दिरको मुख्य मुर्ति समेत दुई टुक्रा पारेको र विस १४१७ मा जयशिहरामवर्द्धनले पशुपतिनाथको मुख्यमुर्ति स्थापना गरी मन्दिर निर्माण गरेको पशुपतिनाथ भित्रको शीलालेखमा ऊल्लेख गरिएको छ चाख लाग्दो कुरा के छ भने पलाञ्चोक शहरमा नेपालको राजधानि भनाएका राजा जयसिहराम वरदनले काठमाडौको पशुपतिनाथ मन्दिरको वर्तमानमा भएको मुर्ति स्थापना गरि मन्दिर समेत बनाएको प्रमाण जिवन्त छदा छदै हाम्रो इतिहासलाई बिगतमा किन विद्यालयस्तरमा पढ्न दिइएन अनेक प्रश्नहरू जन्मिएका छन् ।

यस अभिलेखले मदनरामवद्र्धनको समयदेखि नै काठमाडौं उपत्यकामा पलाञ्चोक क्षेत्रका शासकको प्रभाव धेरै रहेको बुझ्न सकिन्छ । मदनसिंहरामवर्द्धनले आफैंले राखेको अभिलेखमा पनि पलाञ्चोक प्रदेशलाई पलखचो-राजदुर्ग भनेर उल्लेख गरेको कुरा पूर्णिमा पत्रिकाको ७ पूर्णाङ्कको ३४ पृष्ठमा उल्लेख गरिएको छ । पलखचो भन्ने शब्दलाई गोपालवंशावलीमा पनि विभिन्न स्थानमा उल्लेख गरिएको छ ।

यसबाहेक बनेपाको बछुटोलको नेसं ५३७ को अभिलेख, बनेपाकै एउटा सूर्यमूर्तिको पादपीठमा नेसं ५१४ मा राखिएको अभिलेखको आधारमा पनि त्यो समयमा ‘जयसिंहरामको पालामा मदनरामले पालन गरेको वर्णिकपुर(बनेपा)मा सूर्यदेवताको मूर्ति स्थापना गरेको’ भन्ने उल्लेख छ । सो अभिलेखमा उनीहरूले श्रीश्री को उपाधि लिएका छन् । यसले पनि सो समयमा उनीहरूको सोझै शासन रहेको अनुमान गर्न सकिन्छ । यस्तै, विभिन्न मध्यकालीन समयको अभिलेखको आधारमा पलाञ्चोक क्षेत्र सो समयमा बलियो राज्यको रूपमा स्थापित भएको मान्न सकिन्छ । (क्रमशः)