नेकपा (एमाले) को संकल्प यात्रामा सहभागी हुँदै गृहजिल्ला फर्कने क्रममा संघीय सांसद भगवती चौधरी सवार गाडीमा आक्रमण भएको छ । नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी नेतृ चौधरी सवार स्कर्पियो गाडीमा आक्रमण भएको हो ।
उदयपुरको घुर्मीमा नेकपा एमालेले मंगलबार गरेको ‘संकल्प यात्रा’ कार्यक्रमपश्चात् पारिवारिक शोकका कारण अकस्मात् सुनसरी फर्कने क्रममा सांसद चौधरी सवार गाडीमाथि उदयपुरको चौदन्डीगढीमा राति करिब ९ बजेर २३ मिनेट जाँदा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन् ।
आक्रमणमा चौधरी चढेको स्कर्पियोको ड्राइभर साइटतर्फको लुकिङ ग्लास र सिसा फुटेको छ । घटना घट्नेबित्तिकै स्थानीय तथा प्रहरीलाई सहयोग मागेपछि जनपद प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरी चौधरीलाई गृहजिल्ला पठाएको थियो । चौधरीमाथि कसले किन आक्रमण गरेको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत उदयपुरको घुर्मीको कार्यक्रमसँगै खोटाङ, भोजपुर संखुवासभा हुँदै तेह्रथुमसम्मको अभियानमा सहभागी हुन गएकी चौधरीलाई सोही दिन पारिवारिक शोक परेको थियो । नेतृ चौधरीका जेठाजू (मुकेश चौधरी) को हृदयघातका कारण निधन भएको बताइएको छ ।
प्रतिक्रिया